कल, मेसेज, ईमेलसँगै इसेवाको रिमार्कबाट पनि हैरानी, घरसम्मै पिछा थालेपछि इन्स्टामा एक्सपोज
भदौ ७, २०८२ १५:२
काठमाडौँ । “महिनौंदेखि म चुपचाप सहिरहेकी थिएँ । तर अब उसको हर्कतले सबै सीमा नाघिसक्यो । मलाई बोल्न बाध्य बनाइयो; म सबैबाट सहयोगको याचना गर्दछु ।”
यी कहालीलाग्दा शब्द स्मृति पौडेलका हुन् । राजधानीको अस्कल क्याम्पसमा अध्ययनरत उनको जीवन पछिल्लो एक वर्षदेखि डर, त्रास र अनिश्चितताको भुमरीमा फसेको छ ।
उनको शान्त जिन्दगीमा भूकम्प ल्याइदिने पात्र हुन् - ‘सुमित भट्टराई’ । स्मृतिले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो पीडाको पोको खोल्दा सिंगो समाज नै झस्किएको छ । कसरी एक युवकले दुःख दिन राजनीतिक शक्तिको आडमा एउटी युवतीको जीवनलाई कैदखानाजस्तो बनाइदिन सक्छ भन्ने विषयले अहिले गम्भीर बहस निम्त्याएको छ ।
अनि सुरु भयो हैरानीको त्यो सिलसिला...
स्मृतिका अनुसार गत वर्षदेखि नै सुमित भट्टराईसँग कुनै सम्बन्ध नरहे पनि उनले पिछा गर्न र अनावश्यक हस्तक्षेप गर्न छाडेका छैनन् । हैरानीको यो सिलसिला अनेक रूपमा देखियो । स्मृतिका अनुसार सुमितले उनको नाममा नक्कली इन्स्टाग्राम अकाउन्ट बनाएर चरित्रहत्या गर्ने प्रयास गरे ।
“मेरो नामबाट इन्स्टाग्राम अकाउन्ट बनाएर मेरा साथीहरूसँग कुरा गर्यो उसले,” टेकपानासँगको कुराकानीमा स्मृति भन्छिन्, “मैले साइबर ब्युरोमा पनि उजुरी दिएँ । तर, यो अकाउन्ट सुमितले खोलेको भन्ने प्रमाणित गर्ने प्रविधि छैन भन्दै बन्द गर्नुभयो ।”
स्मृतिका अनुसार सुमितले इसेवाको रिमार्क्स र जिमेलमा पठाएका असान्दर्भिक मेसेज पनि उनले ब्युरोलाई देखाएकी थिइन् । “हामीले ईसेवासँग जोडिएको विषयलाई अनलाइन ठगीका रूपमा हेर्छौं । अरू सामाजिक सञ्जालमा हामीले गर्नेजति गरेका छौं ।”
विद्युतीय कारोबार ऐन, २०६३ को धारा ४७ मा ‘महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य किसिमका अर्मर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । हामीले स्मृतिको निवेदनबारे बुझ्न साइबर ब्युरोलाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर सफल भएन ।
यसपछि उनलाई अनेकौं अपरिचित नम्बरबाट फोन गरेर निरन्तर दुःख दिन थालियो । आफूलाई आउने अनेकन् अपरिचित नम्बरको सूची उनले इन्स्टामा सार्वजनिक गरेकी छिन् ।
उनलाई सुमितले त्यसरी नै ईमेल पठाउन थाले । सब्जेक्टमा ‘बुडी’ शब्द राख्दै सयौं ईमेल पठाइएका छन् । उनले यी सबैलाई बेवास्ता गरेपछि सुमितले इसेवामार्फत १-१ रुपैयाँ पठाउँदै अपमानजनक मेसेज लेखेर मानसिक तनाव दिने अनौठो र निकृष्ट हर्कत सुरु गरे ।
“तिमीलाई माया गर्छु । हरेक कुरा सम्झाउँछु । तिमीलाई बाहेक कसैलाई हेर्दैन । मेरी ज्य…,” सुमितले स्मृतिलाई इसेवाको रिमार्क्समा लेखेर पठाएका शब्द हुन् यी ।
कलेज, बाटोघाटोदेखि घरसम्मै पिछा
सुमितको हर्कत डिजिटल संसारमा मात्र सीमित रहेन । स्मृतिका अनुसार उनी कलेज जाँदा चढ्ने टेम्पो वा माइक्रोबसलाई सुमितले बाइकबाट पछ्याउँथे । कहिलेकाहीँ त उनी चढेको गाडीमै चढेर उनलाई छुने प्रयाससमेत गर्थे । स्मृतिले इन्स्टामा सार्वजनिक गरेको एक भिडिओमा सुमितले दुःख दिएको प्रष्ट देखिन्छ ।
“मलाई स्टल्क गर्दै तँ किन यहाँसम्म आइरहेको,” स्मृतिले सार्वजनिक गरेको भिडिओमा उनले भनेको सुनिन्छ । जवाफमा सुमित सोध्छन्, “चित्त नबुझेको कुरा के भन त ?”
“म पुलिसकोमा जान्छु है । तँ कलेजदेखि यहाँसम्म आइसकिस्,” उनी अगाडि ड्राइभरसँग गुहार माग्छिन्, “दाइ, यसलाई यहाँबाट निकाल्नुस् त ।”
“मलाई हात नलगा”
“के को प्रमिस ?”
“यस्तो घटिया मेरो मान्छे हुन्छ ?”
“मलाई चाहिंदैन भन्या तेरो केही पनि ।”
“मलाई न छो भन्या..”
यी स्मृतिले सुमितलाई बेवास्ता गर्दै भनेका शब्द हुन् जो उनले सार्वजनिक गरेको भिडिओमा प्रष्ट सुनिन्छन् ।
स्मृतिका अनुसार सुमितले उनी हिँड्ने गल्लीमा कुरेर बस्ने र घरवरिपरि समेत निगरानी गरेर डर र असुरक्षाको माहोल सिर्जना गरिदिए । घरको मूल ढोकासम्मै आएर दुःख दिएको उनको आरोप छ ।
स्मृतिको पीडा कलेज र घरमा मात्र सीमित रहेन । उनले लेखेकी छिन्, “ऊ मेरो परीक्षा केन्द्रमा समेत आइपुग्छ र मलाई हेरेर बस्छ ताकि म डराऊँ र मेरो परीक्षा बिग्रियोस् ।” यति मात्र नभई कलेजमा शिक्षक वा कोही नभएको बेला कक्षाकोठामै पसेर डर देखाउने गरेको पनि उनले उल्लेख गरेकी छिन् ।
स्मृतिको एक साथीले उनको पक्षमा बोल्ने हिम्मत गर्दा सुमितले गुण्डा लगाएर ती साथीलाई धम्की दिएको उनको आरोप छ । स्मृतिले पोस्टमा लेखेकी छिन्, “उसले मेरो साथीलाई ‘कोही बिचमा आयो भने काट्दिन्छु, बाँच्दैन’ भन्दै गुण्डा लगाएर धम्की दियो ।”
यो असह्य पीडापछि स्मृतिले प्रहरी वृत कालिमाटीमा उजुरी दिएकी थिइन् । “टेकुमा सल्लाह लिन गएका थियौं । कालिमाटी प्रहरीमा निवेदन दिएका हौं,” उनले भनिन् । उनले सार्वजनिक गरेको कल लिस्टमा टेकु प्रहरी, बल्खु प्रहरी, कालिमाटी प्रहरी हवल्दार, टेकु प्रहरी इन्सपेक्टर आदिका नम्बर देखिन्छन् ।
तर, उनको अनुभवमा प्रहरी प्रशासनले यसलाई गम्भीर रूपमा लिएन । “प्रहरीले केवल एउटा अर्थहीन सम्झौतामा हस्ताक्षर गराएर छाडिदियो, जबकि उसले मलाई पिछा गर्न र हैरान पार्न कहिल्यै छाडेन,” उनले लेखेकी छिन् ।
स्मृतिका अनुसार सुमितले नेपाल विद्यार्थी संघ (नेविसंघ) सँगको आफ्नो राजनीतिक पहुँचको आडमा आफूलाई कसैले छुन नसक्ने धाक लगाउने गरेका छन् । यही राजनीतिक संरक्षणका कारण उनी कानुनलाई हातमा लिएर उन्मुक्ति पाइरहेको स्मृतिको बुझाइ छ । हामी (टेकपाना)ले समितलाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर, उनको फोन उठेन ।
‘मलाई शान्तिसँग बाँच्न र पढ्न दिनुहोस्’
आफ्नो लामो पोस्टको अन्त्यमा स्मृतिले आफ्नो साधारण माग राखेकी छिन् । “यो केवल दुर्व्यवहार मात्र होइन । यो स्टकिङ हो । यो एक खतरनाक मान्छेको पागलपन हो,” उनी लेख्छिन्, “यदि म, मेरो परिवार वा मेरा साथीलाई केही भयो भने त्यसको सम्पूर्ण जिम्मेवार उही हुनेछ ।”
उनले आफूलाई सुमितसँग कुनै सरोकार नभएको र केवल शान्तिसँग आफ्नो जीवन जिउन र सुरक्षित वातावरणमा पढ्न चाहेको बताएकी छिन् । “म चाहन्नँ कि ऊ मेरो घर वरिपरि घुमोस्, मेरो नजिक आओस् वा मेरा साथीहरूलाई मेरोबारे सोधपुछ गरेर दुःख देओस् ।” यसअघि दुःख नदेओस् भन्ने मान्यता राखेकी स्मृतिले अहिले भने सुमितले परिवारलाई नै ल्याएर माफी माग्नुपर्ने माग राखेकी छिन् । “यो नियमितको हैरानीले मलाई साह्रै गाह्रो बनाएको छ,” उनले भनिन्, “एउटा उसले मेरो र मेरो परिवारको अघि माफी माग्नुपर्छ । अर्को कहिल्यै कुनै पनि माध्यमबाट सम्पर्क नगर्ने सम्झौता गर्नुपर्छ ।”
स्मृतिको यो चित्कारसहितको पोस्ट बाहिरिएपछि उनको पक्षमा सामाजिक सञ्जाल इन्स्टाग्राम र रेडिटमा प्रयोगकर्ताले आवाज उठाउन थालेका छन् । महिला सुरक्षा र न्याय प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनीहरूले कानुन र प्रहरी प्रशासनले युवतीलाई सुरक्षा दिन नसकेको आलोचना गरेका छन् । केहीले सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
(स्मृतिको ओरिजिनल पोस्ट र पोस्टको आर्काइभ भर्सन )
पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १४:११
