अबको १० वर्षमा आफ्नै अन्तरिक्ष स्टेसन बनाउने भारतको लक्ष्य, २०४० सम्म चन्द्रमामा मानव पठाउने
भदौ ८, २०८२ १०:८
तस्वीरः प्रेस इन्फर्मेसन ब्युरो
काठमाडौँ । भारतले सन् २०३५ सम्ममा आफ्नै अन्तरिक्ष स्टेसन (स्पेस स्टेसन) निर्माण गर्ने घोषणा गरेको छ । शनिबार राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले भविष्यको अन्तरिक्ष कार्यक्रमको विस्तृत खाका प्रस्तुत गरेका हुन् ।
यस अन्तर्गत अबको १० वर्षमा आफ्नै अन्तरिक्ष स्टेसन निर्माण गरी सञ्चालनमा ल्याउने र सन् २०४० सम्ममा चन्द्रमामा मानव पठाएर त्यहाँबाट नमुना सङ्कलन गरी फिर्ता ल्याउने भारतको लक्ष्य रहेको छ । इसरोका अध्यक्ष भी नारायणनका अनुसार प्रधानमन्त्री मोदीको निर्देशनमा चन्द्रयान-४ र शुक्र ग्रहका लागि अर्बिटर मिसनको तयारी अघि बढाइएको छ । उनले भने, “सन् २०२८ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’को पहिलो मोड्युल प्रक्षेपण गरिनेछ र यो २०३५ सम्ममा पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।”
यसका साथै नयाँ पुस्ताको प्रक्षेपण यान ‘नेक्स्ट जेनेरेसन लन्चर’ निर्माणको कामले समेत स्वीकृति पाएको उनले जानकारी दिए । यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अन्तरिक्ष अन्वेषणमा विश्वव्यापी रूपमा नयाँ पहिचान बनाएको बताए । “अन्तरिक्ष एक गन्तव्य मात्र होइन, हाम्रो रकेटले पेलोड (उपकरण) भन्दा धेरै बढी बोक्छ,” प्रधानमन्त्री मोदीले भने, “यसले १.४ अर्ब भारतीयको सपना बोकेको हुन्छ । सन् १९६३ मा एउटा सानो रकेट प्रक्षेपण गर्नेदेखि लिएर चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बन्नसम्मको हाम्रो यात्रा उल्लेखनीय रहेको छ । अन्तरिक्ष भनेको अन्वेषण साथै सशक्तीकरण पनि हो ।”
उनले अन्तरिक्ष यात्री शुभान्सु शुक्लाको सफलताको उदाहरण दिँदै भारतले आफ्नै ‘एस्ट्रोनट पुल’ (अन्तरिक्ष यात्रीहरूको समूह) तयार गर्ने र युवालाई यस क्षेत्रमा लाग्न आह्वान गरे ।
कार्यक्रममा प्रधानमन्त्री मोदीले सेमी-क्रायोजेनिक इन्जिन र इलेक्ट्रिक प्रोपल्सन जस्ता प्रविधिमा भारतले हासिल गरेको प्रगतिबारे पनि उल्लेख गरेका थिए । भावी पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न ‘इन्डियन स्पेस ह्याकाथन’ र ‘रोबोटिक्स च्यालेन्ज’ जस्ता कार्यक्रमको महत्त्वमाथि उनले जोड दिए ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १०:८
