'हाई कम्प्युट इन्फ्रास्ट्रक्चर' भ्रष्टाचार मुद्दामा एनआईटीसीका तत्कालीन कार्यकारी निर्देशक पौडेलसँग एक लाख धरौटी माग
भदौ ८, २०८२ १६:५८
काठमाडौँ । 'हाई कम्प्युट इन्फ्रास्ट्रक्चर' खरिदमा भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रूपैयाँ धरौटी माग गरेको छ । आइतबार विशेष अदालतका न्यायाधीनहरू टेक नारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहसपछि पौडेललाई एक लाख रूपैयाँ धरौटी माग गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले पौडेलसँग एक लाख रूपैयाँ धरौटी माग गरिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै असार २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पौडेलसहित केन्द्रका तत्कालीन कर्मचारीहरू निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि.का अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
केन्द्रले आर्थिक वर्ष ०७६/७७ मा ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । गुरुयोजना बिना नै करिब ३१ करोड रुपैयाँ लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरिएकोमा वर्ल्ड डिस्ट्रिब्युसन नेपालले ३० करोड ६५ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
सम्झौतामा २.४ गिगाहर्ज क्षमताको प्रोसेसर माग गरिए पनि आपूर्तिकर्ता कम्पनीले २.१ गिगाहर्ज क्षमताको मात्र प्रोसेसर जडान भएको उपकरण आपूर्ति गरेको आरोप अख्तियारको छ ।
कम क्षमताको प्रोसेसरका कारण प्रणालीको कार्यक्षमतामा १४.२८ प्रतिशतले ह्रास आएको र यसले प्रतिसेकेन्ड करिब ३० करोड कम डेटा प्रशोधन गर्ने आरोप लगाइएको छ । बयान सकिएपछि थुनछेक बहस थाल्ने अदालतको तयारी छ ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १७:३८
