नयाँ प्रविधि नियमन गर्ने कानुन नबनेको भन्दै अरेन्ज नेक्स्ट बन्द गर्न राष्ट्र बैँकको निर्देशन
भदौ ८, २०८२ १८:२५
काठमाडौँ । नयाँ प्राविधिक अवधारणा सहित एफवन सफ्टले विकास गरेको ‘अरेन्ज नेक्स्ट’को सेवा बन्द गर्न नेपाल राष्ट्र बैँकले लक्ष्मी सनराइज बैँकलाई पत्राचार गरेको छ । परम्परागत बैङ्किङ अभ्यासलाई प्रविधिको प्रयोगमार्फत झन्झटमुक्त र सरल बनाउन भन्दै लक्ष्मी सनराइज बैङ्कले सञ्चालनमा ल्याएको सो सेवा बन्द गर्न केन्द्रीय बैँकले एक साता अघि नै निर्देशन दिएको बुझिएको हो ।
लक्ष्मी सनराइज बैँकका अनुसार अरेन्ज नेक्स्टमार्फत बैँक नै नपुगी खाता खोल्नेदेखि अन्य विभिन्न सेवा मोबाइलबाटै लिन सकिन्छ । यो शतप्रतिशत डिजटल र मोबाइलबाटै सबै बैँकिङ सुविधा पाइने नियो बैङ्किङको रूपमा चिनिन्छ । डिजिटल बैँकको नयाँ सोलुसनको रूपमा अरेन्ज नेक्स्टलाई अर्थ्याइएको छ । मोबाइल एपबाटै सहज ढङ्गले बैङ्किङ सेवा दिलाउने उद्देश्यसहित अरेन्ज नेक्स्ट विकास गरिएको उल्लेख छ ।
फिनटेक कम्पनी एफवन सफ्ट समूहको फोन नेक्स्टले तीन वर्ष लगाएर विकास गरेको अरेन्ज नेक्स्ट जनवरी २०२४ देखि लक्ष्मी सनराइज बैँकले सञ्चालन गरिरहेको छ । बैङ्किङ कारोबारलाई मोबाइलबाट सुरु गराएर मोबाइलमै टुङ्ग्याउने सोचसहित अरेन्ज नेक्स्ट प्रडक्ट एफवन सफ्ट समूहले निर्माण गरेको हो । यसमा बैँक खाता खोल्न, केवाईसी भर्न वा मोबाइल बैङ्किङ सुरु गर्न, कुनै पनि कामका लागि बैँकसम्म धाउनु पर्दैन । सबै काम डिजिटल माध्यमबाटै गर्न सकिन्छ ।
यो प्रडक्ट सुरु गर्न लक्ष्मी बैँकले अहिले भइरहेको बैङ्किङ प्रणालीबाट सम्भव नभएपछि एफवन सफ्ट ग्रुपलाई फरक सेटअपसहित छुट्टै प्याकेज निर्माणको प्रस्ताव गरेको थियो । सोहीअनुसार एफवन सफ्टले लक्ष्मी बैँकलाई फरक प्रणाली डिजाइन गरेर दिएको थियो । तर, राष्ट्र बैँकले भने अरेन्ज नेक्स्टजस्ता नयाँ बैङ्किङ प्लेटफर्महरूको ‘रेगुलेटरी फ्रेमवर्क’ नबनेको भन्दै दुई महिना भित्र विद्यमान बैङ्किङ प्रणालीमा ग्राहकलाई सारेर सेवा स्थगित गर्न निर्देशन दिएको हो ।
एफवन सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा नियामकीय प्रावधान बनेका छैनन् भन्दैमा प्रविधिको छनोटलाई रोक्न खोज्नु उचित नहुने बताउँछन् । “प्रविधिको प्रयोग गरेर नयाँ पुस्तालाई बैङ्किङतर्फ आकर्षित गर्नलाई तीन वर्ष लगाएर यो प्रडक्ट निर्माण गरेका थियौँ । हामीले डेढ वर्षअघि लक्ष्मी बैँकमार्फत यो सेवा थाल्दा राष्ट्र बैँकलाई जानकारी गराएका थियौँ । तर, सेवा सञ्चालनमा आएको डेढ वर्ष पछि साउन २९ गते अरेन्ज नेक्स्टलाई स्थगित गर्न राष्ट्र बैँकबाट निर्देशन आएको छ । दुई महिनामा बैँकको विद्यमान प्रणालीमा अरेन्ज नेक्स्टका प्रयोगकर्ता सार्नु भन्ने निर्देशन छ,” शर्माले भने ।
शर्माका अनुसार अहिलेको बैँकिङ प्रणाली नयाँ पुस्ता सुहाउँदो छैन र उनीहरूको टेस्ट र बैङ्किङलाई रमाइलो बनाउने उद्देश्यले अरेन्ज नेक्स्ट निर्माण गरिएको हो । “नयाँ पुस्ताले अहिलेको परम्परागत बैङ्किङ प्रणालीलाई रमाइलो मान्छ त ? खाता खोल्न र अरू जरुरी काम गर्न बैँक नै धाउनुपर्छ । अनेक फर्म भर्नुपर्छ । त्यसैले हामीले नयाँ प्रविधिको प्रयोग गरेर अरेन्ज नेक्स्टमा बिल स्प्लिट, बचतको अवस्था, बचतको लक्ष्य लगायतका विषय समेटेका छौँ । मोबाइल बैङ्किङ भनेको एपमा रोकिनु भएन भन्ने हो,” शर्माले भने ।
लक्ष्मी बैँकले नयाँ प्रडक्ट भएकाले सानै सेटअपबाट अरेन्ज नेक्स्ट सुरु गरेको थियो । प्रस्ट नियमन नहुँदा एकैचोटि ठुलो सेटअप तयार गरेर ठुलै लगानी नगर्ने गरी लक्ष्मी बैँकले यस्तो अवधारणा अपनाएको थियो ।
हाल केवाईसी अपडेट गरेका ३०-३५ हजार ग्राहक अरेन्ज नेक्स्टमा आबद्ध छन् । एप डाउनलोड गरेर कुनै न कुनै रूपमा सेवा उपभोग गर्नेको संख्या ६० हजारभन्दा बढी रहेको शर्माले जानकारी दिए । यसरी सञ्चालनमा रहेका खातामा १५ करोड रुपैयाँभन्दा बढी रकम रहेको बताइएको छ ।
अरेन्ज नेक्स्टमा विभिन्न सात वटा फिचर छन् । जसमा लक्ष्यमा आधारिक बचत (Goal-Based Deposit), सेभ एज यू पे, खर्च ट्य्राकर, फिक्स्ड डिपोजिट, च्याटबट सपोर्ट, पर्सनलाइज्ड नोटिफिकेसन र स्मार्ट बजेट रहेका छन् । प्रयोगकर्ताले बचतबाट आफ्ना आवश्यकता पूर्ति गर्न यो फिचर प्रयोग गर्न सक्छन् ।
"मैले सधैँ सेकेन्ड ह्यान्ड फोन किन्ने गर्थेँ । नयाँ किन्नुपर्दा एकदमै महँगो पर्छ । तर, सेकेन्ड ह्यान्ड फोनमा छिटोछिटो समस्या देखियो । त्यसपछि नौ महिनाअघि मैले Goal-Based Deposit सुरु गरेँ । महिनाको १० हजार त्यसमा जम्मा गरेपछि केही समय अघि मैले आफ्नै पेसाबाट फोन किनेँ," अरेन्ज नेक्स्टका प्रयोगकर्ता सागर कोइरालाले भने । तर अब यो कोइराला जस्ता प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।
राष्ट्र बैँकले भने नियमन बाहिरको विषय भएकाले तत्काललाई अरेन्ज नेक्स्टको सेवा लिइरहेका ग्राहकहरूलाई बैँकको पूर्णकालीन सेवामा समाहित गर्न निर्देशन दिएको छ । “हामीले बैँकलाई अरेन्ज नेक्स्ट सेवा उपयोग गरिरहेका ग्राहकलाई पूर्णकालीन बैङ्किङमा ल्याउन समय दिएका छौँ । उक्त सेवालाई बन्द गर्न पत्राचार गरिसकेका छौँ । नियमन गर्न कानुनी अवधारणा नबनिसकेकाले अहिलेलाई यस्ता सेवा प्रदान गर्न मिल्दैन,” राष्ट्र बैँकका एक अधिकारीले भने ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नियो बैँक स्थापना गर्ने महत्त्वाकाङ्क्षी घोषणा गरेका थिए । जसका लागि लाइसेन्स जारी गर्ने भनिएको छ । नियो बैँकलाई शतप्रतिशत डिजिटल प्लेटफर्ममा आधारिक बैँक मानिन्छ । अहिले बैँक तथा वित्तीय संस्थाहरूले शाखामार्फत बैङ्किङ सेवा विस्तार गरेजस्तो नियो बैँक हुँदैन । नियो बैँकमा बैँक खाता खोल्ने, फन्ड ट्रान्सफर गर्ने, ऋण लिने र लगानीका अन्य विकल्प दिइएको हुन्छ । बैँक नै नपुगी यी सेवा एप वा वेबसाइटबाटै लिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १८:३८
