close

जब आफै ह्याकरको कब्जामा परे माइक्रोसफ्टको नक्कली प्राविधिक बनेर जाल विच्छ्याउने भारतीय स्क्यामर

टेकपाना टेकपाना

भदौ ९, २०८२ ७:४०

जब आफै ह्याकरको कब्जामा परे माइक्रोसफ्टको नक्कली प्राविधिक बनेर जाल विच्छ्याउने भारतीय स्क्यामर

काठमाडौँ । अँध्यारो कोठा, स्क्रिनको मधुरो उज्यालो अनि त्यो एक अपरिचित आवाज… फोनको अर्को छेउबाट कसैले आफूलाई ‘माइक विल्सन’ बताउँदै भनिरहेको छ, “तपाईंको कम्प्युटरमा विश्वभरका ह्याकरले आक्रमण गरेका छन् ।”

यो आवाज थियो, भारतको उत्तर प्रदेश रायबरेलीस्थित आफ्नो अपार्टमेन्टबाट निर्दोष मानिसलाई निशाना बनाइरहेका गौरव त्रिवेदीको । उनी माइक्रोसफ्टको नक्कली प्राविधिक कर्मचारी बनेर मानिसलाई आफ्नो जालमा पार्थे । 

तर उनलाई के थाहा, यस पटक उनले जसलाई शिकार बनाउन खोजिरहेका थिए, त्यो व्यक्ति स्वयं एक अनलाइन ठगीका घटना पर्दाफास गर्ने ह्याकर हो भन्ने । यो घटना सामान्य ठगीको कथा मात्र होइन, यो एक यस्तो कथा हो जहाँ शिकारी आफै शिकार बन्छ र प्रविधिको खेलमा आफैँ फस्न पुग्छ ।

यो घटना ‘नानोबाइटर’ नामक एक डिजिटल सतर्कताकर्मीबाट हुन्छ । उनी विगत तीन वर्षदेखि एक्स, युट्युब लगायतका माध्यमबाट यस्तै अनलाइन ठगको पर्दाफास गर्दै आएका ह्याकर हुन् । सबैभन्दा पहिले स्क्यामर गौरव त्रिवेदीले नानोबाइटरको कम्प्युटरमा नक्कली पप-अप पठाएर सम्पर्क गरे । 

पीडितलाई स्क्यामरले पठाउने पपअप नोटिफिकेसन

उनलाई लागेको थियो ‘अर्को एक सजिलो शिकार फेला पर्‍यो’ । उनको योजना सरल थियो: कम्प्युटरमा खतराको डर देखाउने, रिमोट एक्सेसका लागि एनीडेस्क (AnyDesk) जस्ता सफ्टवेयर इन्स्टल गराउने र त्यसपछि पीडितको सिस्टममा एक्सेस लिएर पैसा र व्यक्तिगत डेटा चोर्ने । 

प्रयोगकर्तालाई त्रासमा पार्ने स्क्रिन

फोनमा उनी यति मधुर लजवमा प्रस्तुत हुन्छन् कि जसले गर्दा उनी माइक्रोसफ्टको इन्जिनियर होइनन् भन्नेमा प्रयोगकर्तालाइ कुनै शङ्का नै हुँदैन । त्यसपछि उनी आफ्नो कुरा राख्छन्ः

अमेरिकी लबजमा प्रयोगकर्तालाई झुक्याउँदै स्क्यामर

मेरो नाम माइक विल्सन हो र म तपाईंको केसको लागि नियुक्त इन्जिनियर हुँ । मेरो एक्सटेन्सन नम्बर १००१ हो । र तपाईंको केस आईडी नम्बर WO१००२ हो । तपाईंले यो टिप्नु पर्दैन, काम सकिएपछि म यी सबै जानकारी तपाईंको मसिनमा सेभ गरिदिनेछु र तपाईंले आफ्नो ईमेलमा सबै कानुनी कागजात र सेवाको रसिद पाउनुहुनेछ, ठिक छ ? समस्या यहाँ छ, रायन (पीडित)। यी सबै आक्रमणकारी हुन्, यी सबै खराब मानिस हुन्, जो विश्वका विभिन्न देशबाट तपाईंको नेटवर्कमा जोडिएका छन् र यो भाइरसको समस्या होइन, तिनीहरू सबै तपाईं र म जस्तै मानव हुन् । सायद तपाईंले कुनै नक्कली विज्ञापनमा क्लिक गर्नुभयो होला । सायद तपाईंले कुनै नक्कली वेबसाइट भिजिट गर्नुभयो र जानी-नजानी उनीहरूलाई तपाईंको जानकारी चोर्न आफ्नो नेटवर्कमा आउन दिनुभयो । त्यसैले हामीले तपाईंलाई यस्ता सबै साइबर आक्रमणबाट जोगाउन ती सबै साइबर आक्रमणकारीलाई सकेसम्म चाँडो ब्लक गर्नुपर्छ, ठिक छ? अब म यहाँ धेरै समय खेर फाल्दिनँ । म तुरुन्तै अगाडि बढेर एउटा रिपोर्ट बनाउनेछु ताकि हामी सकेसम्म चाँडो काम सुरु गर्न सकौँ, हुन्छ ? र, अगाडि बढ्नु अघि, रायन, म तपाईंलाई एउटा कुरा भन्छु, यो एक साइबर आक्रमण हो । ह्याकरहरू जोडिएका छन्, त्यसैले शुल्क लाग्नेछ, ठिक छ ?”

तर गौरवको दुर्भाग्य । सर्वसाधारणलाई आपतमा पारेर झुक्याउँदै लाखौं ठग्ने स्क्यामरलाई पनि स्क्याम गरिदिने नानोबाइटर त्यहाँ थिए । उनले गौरवको चाल बुझिसकेका थिए । त्यसैले उनले जानाजानी गौरवलाई आफ्नो वास्तविक कम्प्युटरको सट्टा एउटा भर्चुअल मसिनमा एक्सेस दिए । यो गौरवका लागि बिछ्याइएको एक जाल थियो । 

एजेन्टले प्रयोग गर्ने कल सेन्टर सफ्टवेयर

गौरव उक्त भर्चुअल मसिनभित्र आफ्नो काम गरिरहेको बेला नानोबाइटरले त्यही पहुँचलाई हतियार बनाएर उल्टै गौरवको ल्यापटपमा आक्रमण गरे । खेल अब पूरै उल्टिसकेको थियो ।

एक पटक गौरवको सिस्टममा एक्सेस पाएपछि, नानोबाइटरले एक जासूसले जस्तै प्रमाण सङ्कलन गर्न थाले । सबैभन्दा पहिले उनले गौरवको ल्यापटपको वेबक्याम चालु गरिदिए र उनको अनुहारको स्पष्ट तस्बिर खिचे । 

अब ठगको अनुहार गुमनाम रहेन । त्यसपछि उनले कल गर्न प्रयोग भइरहेको सफ्टवेयरमा हेरे । त्यहाँ गौरवको वास्तविक नाम ‘गौरव त्रिवेदी’ प्रस्टै देखियो । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण प्रमाण थियो, गौरवको ल्यापटपमा सक्रिय रहेको वाईफाई कार्ड । 

स्क्यामरको घरको ठेगाना

त्यसैको मद्दतले नानोबाइटरले उनको वास्तविक ठेगाना, रायबरेलीस्थित अपार्टमेन्टको सटीक जीपीएस कोअर्डिनेट (२६.२१८२९४७, ८१.२४५५९९) पत्ता लगाए । 

स्क्यामर बसेको घर

अब नानोबाइटरसँग गौरवको अनुहार, नाम र ठेगाना सबै थियो । केही दिनसम्म उनले गौरवको वेबक्याममार्फत उनको जीवनको प्रत्यक्ष प्रसारण हेरे; उनी कसरी खान्छन्, सुत्छन् र बीचबीचमा उठेर कसरी निर्दोष मानिसलाई ठग्छन्, सबै गतिविधि वेबक्यामले कैद भइरहेको थियो । अरूको सर्वश्व लुटेर जीवनमा अशान्ति मच्चाउने गौरव एक पटक खाना खाँदै गर्दा आफ्नो घुर्की आमालाई यसरी सुनाइरहेका थिए:

“के म पुरानो जमानाको हुँ र ? मान्छे शान्तिसँग बस्नुपर्छ, सबै कुरामा कचकच गर्नुहुन्न ।”

अन्ततः नानोबाइटरले गौरवलाई उनकै खेलमा हराउने निर्णय गरे । उनले गौरवको आफ्नै वेबक्याममार्फत उनीसँग प्रत्यक्ष कुरा गरे र उनको ठगीको पर्दाफास गरिदिए । त्यो क्षण गौरवको अनुहारमा देखिएको डर र स्तब्धता उनको हारको प्रमाण थियो । आफ्नो अनुहार नदेखियोस् भन्दै गौरव क्यामेराबाट लुक्न खोज्थे, क्यामेरा अर्को छेउतिर पार्थे । तर, नानपबाइटरले यो सबै सङ्कलन गरिसकेका थिए ।

नानोबाइटरले यो सम्पूर्ण घटनाको विवरण, तस्बिर र ठेगानासहित रायबरेली प्रहरीलाई ट्याग गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । यसैलाई आधार मान्दै प्रहरीले घटनाको अनुसन्धान गर्न थालेको छ । तर, केहीले भने ‘नानोबाइटरले सबै प्रमाण दिइसकेका छन्; किन अनुसन्धान गर्नुपर्‍यो, नियन्त्रणमा लिएर कारबाही गरे भइहाल्यो’ भन्दै प्रहरीलाई कारबाही गर्न सुझाव दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ ८:९