close

सहारा, बाइजु हुँदै ड्रिम११ पनि पतन, भारतीय क्रिकेट जर्सी स्पोन्सरका लागि 'पनौती' भएको चर्चा

टेकपाना टेकपाना

भदौ ९, २०८२ १८:१६

सहारा, बाइजु हुँदै ड्रिम११ पनि पतन, भारतीय क्रिकेट जर्सी स्पोन्सरका लागि 'पनौती' भएको चर्चा

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र अनलाइन फेन्टासी गेम प्लेटफर्म ड्रिम ११ (Dream11) बीचको ३५८ करोड भारतीय रुपैयाँ बराबरको जर्सी प्रायोजन सम्झौता समाप्त भएको छ । अनलाइन जुवाको प्रवर्द्धन र नियमन सम्बन्धी विधेयक पारित भएसँगै भारतको अनलाइन गेमिङ बजारलाई धक्का लागेपछि सम्झौता टुट्न पुगेको हो । 

विधेयकले पैसामा आधारित अनलाइन गेमहरूलाई अवैध बनाएपछि बीसीसीआई र ड्रिम ११ दुवैका लागि सम्झौता जारी राख्न असम्भव बनेको थियो । संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट स्वीकृत यो ऐनले कौशल वा मौकामा आधारित भए पनि पैसामा आधारित अनलाइन खेलहरूलाई गैरकानुनी ठहराउँछ । यसको उल्लङ्घन गर्नेलाई तीन वर्षसम्म कैद र १ करोड रुपैयाँसम्म जरिबाना हुनसक्ने व्यवस्था ऐनमा छ ।

नयाँ ऐनले अनलाइन बाजी राखेर खेेल खेल्न प्रस्ताव गर्ने, सञ्चालन गर्ने वा सहजीकरण गर्ने कार्यमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै सबै प्रकारका मिडियामा पैसा राखेर खेलाइने खेलहरूको विज्ञापन र प्रचारमा पनि रोक लागेको छ । पैसामा आधारित अनलाइन खेलहरूसँग जोडिएका वित्तीय कारोबार तथा भुक्तानी प्रक्रियामा बैँक र भुक्तानी प्रणालीहरूलाई रोक लगाइएको छ ।

भारत सरकारले मनोवैज्ञानिक सङ्कट, वित्तीय हानि, मनी लाउन्डरिङ र आतङ्कवादको वित्त पोषण जस्ता हानिकारक परिणामसँग यस्ता गेमहरू सहयोगी बनेका कारण त्यसलाई नियन्त्रण गर्न यो कानुन ल्याउनु परेको बताएको छ ।

नयाँ कानुन लागु भएपछि ड्रिम ११ ले आफ्ना सबै सशुल्क प्रतियोगिताहरू बन्द गरेको छ र नियमहरूको पालना गर्न निःशुल्क सामाजिक गेमिङ मोडलमा परिवर्तन हुने घोषणा गरेको छ । बीसीसीआईका सचिव देवजित साइकियाले ड्रिम११ सँगको साझेदारी समाप्त भएको पुष्टि गर्दै बोर्ड भविष्यमा यस्ता कुनै पनि संस्थासँग संलग्न नहुने बताएका छन् ।

यो सम्झौता समाप्त गर्ने पहल आपसी समझदारीमा भएको बुझिएको छ । एसिया कप आउँदो ९ सेप्टेम्बर, २०२५ देखि सुरु हुँदैछ । प्रतियोगिता नजिकिँदै गर्दा भारतीय टोलीको जर्सी भने प्रायोजक विहीन भएको छ । बीसीसीआईले छोटो अवधिको लागि कुनै प्रायोजनको वैकल्पिक व्यवस्था गरेको छैन । अब बीसीसीआईका लागि मुख्य प्रायोजकको दाबेदारका रूपमा टाटा, रिलायन्स (जियो), अडानी वा फिनटेक स्टार्टअपहरूलाई हेरिएको छ ।

ड्रिम ११ बाहेक एमपीएल, माई ११ सर्कल र पोकरबाजी जस्ता अन्य प्लेटफर्महरूलाई पनि नयाँ कानुनले असर पारेको छ । नयाँ कानुनी प्रतिबन्धले भारतको अनलाइन गेमिङ उद्योगले वार्षिक २० हजार करोड भारुको बजार गुमाउने आँकलन गरिएको छ ।

भारतीय क्रिकेटको जर्सी प्रायोजकबाट ड्रिम ११ को बहिर्गमनसँगै 'जर्सी जङ्क'को चर्चा पनि बढेको छ । सहारा, बाइजुज र ड्रिम ११ तीनै कम्पनीहरूको भारतीय टोलीसँगको प्रायोजन आर्थिक वा नियामकीय समस्याका कारण अप्रत्याशित रूपमा समाप्त भएको छ । सहारा र बाइजु आफ्नै आन्तरिक समस्याहरूका कारण पतन भए पनि ड्रिम ११ को प्रायोजनको अन्त्य भने सरकारी कानुनको कारण भएको हो ।

(भारतीय सञ्चार माध्यमहरूको सहयोगमा)

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १८:४०