close

पूर्वराष्ट्रपति विद्यादेवी राजनीतिमा आएर एमाले अध्यक्ष हुनसक्ने ओलीको बोली डिपफेक नभई सक्कली

टेकपाना टेकपाना

भदौ १०, २०८२ १०:५५

पूर्वराष्ट्रपति विद्यादेवी राजनीतिमा आएर एमाले अध्यक्ष हुनसक्ने ओलीको बोली डिपफेक नभई सक्कली

काठमाडौँ । सोमबार देखि सामाजिक सञ्जालका माध्यमहरूमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ताको एक क्लिप भाइरल बनिरहेको छ । धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीले बोली फेर्ने गरेको भन्दै आलोचना गरिरहेका छन् भने कतिपयले डिपफेक हुन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

तर टेकपानाले गरेको चेकजाँचमा भिडिओ क्लिप डिपफेक नभई सक्कली नै रहेको पाइएको छ । करिब २ वर्षअघि अर्थात् २३ सेप्टेम्बर २०२३ मा प्राइम टाइम टेलिभिजनको युट्युब च्यानलमा अपलोड भएको भिडिओ अन्तर्वार्ताको १ घण्टा २० मिनेट ५५ सेकेन्डमा भाइरल भइरहेको उक्त क्लिप भेटिएको हो । 

पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किन लाग्दा प्रधानमन्त्री ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने तर्क गर्दै आइरहेका छन् । अहिलेको उकनो अडानभन्दा ठिक विपरीत लाग्ने भिडिओ क्लिप सामाजिक सञ्जालमा आएपछि कतिपय प्रयोगकर्ताले डिपफेक हो कि वास्तविक हो भन्ने दुविधा पालेको देखिन्छ ।   

भाइरल अन्तर्वार्ताको क्लिपमा पत्रकार ऋषि धमलाले सोधेका छन्, “त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटम लाइन होइन ?” 

जवाफमा ओलीले भनेका छन्, "कसरी बटम लाइन हुन्छ, उहाँको खुसीको कुरा हो नि । राजनीति कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन । " पूर्व राष्ट्रपतिलाई काँग्रेस कुनै अर्को वा एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाइने भन्दै ओलीले राष्ट्रपति हुनु अघि र भएपछि राजनीतिमा आउन सक्ने कुरा खुलेर बताएका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १०:५५