close

नेपालमा उपलब्ध भयो गुगलको बहुप्रतिक्षित ‘एआई मोड’ फिचर, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

भदौ १०, २०८२ १२:८

नेपालमा उपलब्ध भयो गुगलको बहुप्रतिक्षित ‘एआई मोड’ फिचर, कसरी गर्ने प्रयोग ?

काठमाडौँ । गुगलले आफ्नो बहुप्रतिक्षित ‘एआई मोड’ सर्च फिचर नेपालमा पनि उपलब्ध गराएको छ । सोमबार रातिदेखि नेपाली प्रयोगकर्ताले गुगलको सर्च बारमा यो नयाँ सुविधा प्रयोग गर्न पाएका हुन् ।

यससँगै अब कुनै पनि विषयमा खोज्दा परम्परागत लिङ्कको सट्टा च्याटबटसँग कुराकानी गरेजस्तै गरी विस्तृत जानकारी पाउन सकिनेछ । गत मे महिनामा सार्वजनिक गरिएको यो फिचर सुरुमा अमेरिका, बेलायत र भारतमा मात्र सीमित थियो । गत सातादेखि विश्वका १८० देशमा विस्तार गर्ने क्रममा सोमबार रातिदेखि नेपाललगायत विभिन्न देशमा यो उपलब्ध भएको हो ।

यो फिचर एक्टिभेट भएपछि गुगल सर्च बारमा ‘एआई मोड’ को विकल्प देखिन्छ । 

त्यसमा ट्याप गरेपछि च्याटबट जस्तै इन्टरफेस खुल्छ । प्रयोगकर्ताले खोजेको विषयको विस्तृत जानकारी बायाँपट्टि र त्यसका स्रोत दायाँपट्टि देखाइन्छ ।

थप जानकारीका लागि प्रयोगकर्ताले ‘Ask Anything’ बक्समा प्रश्न सोध्न सक्छन् जहाँ एआईले तत्कालै जवाफ दिनेछ । यदि पुरानै तरिकाले सर्च गर्न चाहेमा माथि रहेको अल, न्युज, इमेजजस्ता विकल्प छनोट गर्न सकिन्छ । यद्यपि, हाल यो सुविधा अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ ।

कसरी गर्ने प्रयोग ?

यो फिचर आफ्नो डिभाइसमा उपलब्ध भए/नभएको थाहा पाउन र अन गर्न तल उल्लेख गरिएका प्रक्रिया अपनाउन सकिन्छ:

१) गुगल सर्चमा जानुहोस् र ‘AI Mode’ टाइप गरी सर्च गर्नुहोस् ।


२) त्यहाँ देखिएको ‘Turn On’ बटनमा क्लिक गर्नुहोस् ।
३) यदि यो सुविधा उपलब्ध भएको छ भने अर्को पटकदेखि तपाईंले गुगल सर्च बारमा ‘एआई मोड’ को विकल्प देख्नुहुनेछ ।

गुगलले यसलाई थप परिष्कृत बनाउन ‘एजेन्टिक’ सुविधा थप्ने तयारी गरिरहेको छ । यसले सुरुवाती चरणमा रेस्टुरेन्ट खोज्न सघाउनेछ । तर, यो सुविधा भने गुगलको एआई अल्ट्रा सब्स्क्राइबरका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १२:८