काठमाडौँ । नथिङ कम्पनीलाई हालै फोन ३ को रिटेल डेमो युनिटमा नक्कली क्यामेरा स्याम्पल प्रयोग गरेको आरोप लागेको छ । कम्पनीले व्यावसायिक फोटोग्राफरहरूबाट लिइएको लाइसेन्स प्राप्त तस्बिरलाई आफ्नो फोन ३ को क्यामेराले खिचेको भन्दै प्रस्तुत गरेको पाइएको हो ।
खुलासा न्युजिल्याण्डमा नथिङ फोन ३ को रिटेल डेमो युनिटबाट गरिएका स्क्रिन रेकर्डिङबाट सुरु भएको थियो । डेमो युनिटमा 'हेर्नुहोस्, हाम्रो कम्युनिटीले फोन ३ बाट खिचेका केही तस्विर' (Here’s what our community has captured with the Phone 3) भन्ने भनाइ र ह्याहट्याग विद नथिङ (#WithNothing) को साथमा पाँच वटा तस्बिरहरू देखाइएको थियो । जसले ती तस्बिरहरू स्मार्टफोनकै क्यामेरा हार्डवेयरले खिचेको भन्ने स्पष्ट रूपमा दाबी गरेको थियो ।
तर वास्तविकतामा ती तस्बिरहरू फोन ३ बाट लिइएका भने थिएनन् । एन्ड्रोइड अथोरिटीले ती तस्बिरहरू खिच्ने फोटोग्राफरहरूसँग कुरा गर्दा उनीहरूले फोन ३ प्रयोग नगरेको पुष्टि गरेको उल्लेख छ । रोमन फक्स नाम गरेका एक फोटोग्राफरले कारको हेडलाइटको तस्बिर खिचेका थिए, उनले आफूले त्यसका लागि फोन ३ को सट्टा फुजिफिल्म एक्सएच२एस प्रयोग गरेको बताएका छन् । उनले यो तस्बिर सन् २०२३ मा पेरिसमा खिचेका थिए, जुन फोन ३ बजारमा आउनुभन्दा धेरै अघिको हो । ती फोटोहरू यहाँ क्लिक गरेर फक्सको इन्स्टाग्राममा हेर्न सक्नु हुन्छ ।
फोटोग्राफरहरूले पुष्टि गरेअनुसार नथिङले स्टिल्स नामक स्टक फोटो बजारबाट उनीहरूबाट फोटो खरिद गरेको थियो । त्यसैले कम्पनीसँग ती फोटोको लाइसेन्स भए पनि ग्राहकहरूलाई गलत जानकारी दिएको पुष्टि भएको छ । नथिङले यी दाबीहरूलाई अस्वीकार नगरेको बताइएको छ । कम्पनीका प्रवक्ताले फोन ३ का डेमो युनिटहरूमा फोन ३ बाटै खिचिएका तस्बिरहरू मात्र समावेश गर्नेगरी अपडेट भइरहेको बताएका छन् ।
त्यसो त स्मार्टफोन निर्माताहरूले नक्कली क्यामेरा स्याम्पल वा बेन्चमार्क पर्फर्मेन्स दाबी गर्ने प्रयास गर्नु कुनै नौलो कुरा होइन । विगतमा नोकियाले लुमिया ९२० मा स्टेबिलाइजेसनका लागि सार्वजनिक गरेको भिडिओ र सामसङले चन्द्रमाको डिटेल इन्हान्स्डका लागि प्रस्तुत गरेका तस्बिर पनि नक्कली पाइएका थिए । आधुनिक स्मार्टफोनका क्यामेरा आफैँमा प्रभावशाली भए पनि कम्पनीहरूका यस्ता कार्य गरेर ग्राहकहरूको विश्वाससँग खेलबाड गरेको टिप्पणी हुने गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १०:३४
