टेलिकम कम्पनीको टावरमा लाग्ने झन्डै आधा करोड मूल्यका सामग्री बरामद, ल्याइँदै थियो तस्करी गरी
भदौ १२, २०८२ १३:३८
काठमाडौँ । सशस्त्र प्रहरीले महोत्तरीको बर्दिवासबाट बिल बीजक नभएका करिब ४६ लाख ५० हजार रुपैयाँ बराबरका सञ्चार सामग्री बरामद गरेको छ । सोमबार सशस्त्रको टोलीले बर्दिवास-९ रातु खोलास्थित बगर इलाकाबाट उक्त सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरको ई-रिक्सामा लोड गरी राखिएका ती सामग्रीको आवश्यक कागजात तथा बिल बीजक समेत छैन । यी सञ्चार उपकरणमा एरिक्सन कम्पनीको ८८६३ बी ४० (8863 B40) मोडेलका आठ ओटा रेडियो सेट रहेका छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भङ्गाहा र सुरक्षा बेस पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उल्लिखित मूल्य बराबरका सञ्चार सामग्री बरामद गरेको हो । दूरसञ्चारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको लागि ल्याएको हो खुलेको छैन ।
बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १३:३८
