close

फ्याक्टचेकः अदालतबाट सफाइ पाएको भन्दै आशिका तामाङले सामाजिक सञ्जालबाट फैलाइन् भ्रम

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १२, २०८२ १९:३७

फ्याक्टचेकः अदालतबाट सफाइ पाएको भन्दै आशिका तामाङले सामाजिक सञ्जालबाट फैलाइन् भ्रम

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता भन्ने आशिका तामाङले बिहीबार फेसबुकमा पोस्ट राख्दै आफूले अदालतबाट सफाइ पाएको दाबी गरिन् । त्यसैलाई आधार मान्दै केही फेसबुक पेजले तामाङले सफाइ पाएको भन्दै पोस्ट राखेका छन् । तर, टेकपाना फ्याक्ट चेकका क्रममा तामाङको दाबी भ्रामक रहेको देखिएको छ । 

भक्तपुर जिल्ला अदालतले तामाङलाई सफाइ दिएको छैन । उनलाई पाँच दिनको कैद सजाय र ५०० रुपैयाँ जरिवाना तोकेको छ । 

दाबी

२८ अगस्ट २०२५ दिउँसो ३ बजे ‘Ashika Tamang’ नामको भेरिफाइड फेसबुक पेजमा एउटा पोस्ट आयो । पोस्टमा आशिकाले भक्तपुर जिल्ला अदालत अगाडि खिचेको फोटो राखेकी छिन् । फोटोको क्याप्सनमा लेखिएको छ, “भक्तपुर जिल्ला अदालत ले प्रतिवादी आशिका तामाङ लाई भक्तपुर जिल्ला को सागा मा अबस्थित झोलुङ्गे पुल तरेको 20 रुपैयाँको बिरोध गरेको केशमा आज मलाई न्यायाधीश ले सफाइ दिनु भए को छ ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १७ हजार बढी रियाक्सन, ९१९ कमेन्ट र ३६ ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले तामाङको दाबीलाई आधार बनाएर पोस्ट राख्ने स्रोत खोज्यो । त्यस क्रममा ताजा खबर नामको पेजले तामाङले सफाइ पाएको पोस्ट राख्यो । क्याप्सन, “भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता आशिका तामाङलाई सफाइ दिएको छ। साँगास्थित झोलुङ्गे पुलमा २० रुपैयाँ लिने नियमको विरोध गर्दै रसिद बुक च्या'तेको आरोपमा उनलाई आ'पराधिक उप'द्रव मु'द्दा चलाइएको थियो। तामङलाई २०८१ माघ १८ गते धरौटीमा छोड्ने आदेश दिइएको थियो ।” हेर्नुहोस् ओरिजिन पोस्ट,स्क्रिनशट । फ्याक्टचेक गरिरहँदा ताजा खबरले पोस्ट सुटुक्क डिलिट गरेको पाइएको छ ।

‘न्युज नेपाल मिडिया’ नामको फेसबुक पेजले तामाङको फोटो सहित सफाइ पाएको सूचना राखेको भेटियो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “आसिका तामाङ्ले पाइन सफाइ । भक्तपुर जिल्ला अदालत ले प्रतिवादी आशिका तामाङ लाई भक्तपुर जिल्ला को सागा मा अबस्थित झोलुङ्गे पुल तरेको 20 रुपैयाँको विरोध गरेको केशमा न्यायाधीश ले सफाइ दिएका छन ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘गुप्तचरखबर डटकम’ नामक अनलाइन सञ्चार माध्यमले पनि आशिकाले सफाइ पाएको दाबीसहितको समाचार राखेको पाइयो । हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रनशट । 

सुत्र न्युजले पनि तामाङले सफाइ पाएको दाबी सहितको पोस्ट राखेको छ । हेर्नुहोस् फेसबुकको ओरिजिनल पोस्ट, समाचारको ओरिजिनल लिङ्क, समाचारको आर्काइभ पोस्ट र स्क्रिनशट । 

त्यसैगरी इशामाया गुरुङले पनि तामाङले सफाइ पाएको पोस्ट राख्दै बधाई दिएकी छिन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

तामाङले फेसबुकमा राखेको पोस्टलाई आधार बनाएर अन्य फेसबुक प्रयोगकर्ताले पनि त्यही दाबी राखेका छन् । यस विषयमा बुझ्न टेकपाना फ्याक्टचेक डेस्कले भक्तपुर जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीलाई सम्पर्क गर्‍यौं । “आशिका तामाङको मुद्दामा आज फैसला भएको छ,” भण्डारीले टेकपानालाई भनिन्, “उहाँ (आशिका तामाङ)लाई पाँच दिनको सजाय र पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ ।”

हामीले भक्तपुर जिल्ला अलालतको दैनिक पेसी सूची पनि हेर्‍यौं । त्यसमा न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले ‘अभियोग दाबी पुग्ने’ भन्दै अन्तिम फैसला सुनाएको उल्लेख गरेको पाइयो । यी विभिन्न तथ्यलाई आधार मान्दा तामाङले आफूलाई न्यायाधीशले सफाइ दिएको भन्दै भ्रामक सूचना फैलाएको पुष्टि भयो ।

दाबी

आशिका तामाङले भक्तपुर जिल्ला अदालतबाट सागाको झोलुङ्गे पुलमा २० रुपैयाँ शुल्कको विरोध गरेको मुद्दामा सफाइ पाइन् ।

दाबीकर्ता

'Ashika Tamang' नामको भेरिफाइड फेसबुक पेज, ताजा खबर, न्युज नेपाल मिडिया, गुप्तचारखबर डटकम (अनलाइन सञ्चार माध्यम), सुत्र न्युज (अनलाइन सञ्चार माध्यम), इशामाया गुरुङ लगायत फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य 

भक्तपुर जिल्ला अदालतको फैसला भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई सफाइ दिएको छैन । अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई ५ दिनको कैद सजाय र ५०० रुपैयाँ जरिवाना तोकेको छ । भक्तपुर जिल्ला अदालतको दैनिक पेसी सूचीमा पनि ‘अभियोग दाबी पुग्ने’ भन्दै अन्तिम फैसला सुनाएको उल्लेख छ । यी विभिन्न तथ्यलाई आधार मान्दा तामाङले सफाइ पाएको भन्ने दाबी भ्रामक पुष्टि हुन्छ ।

निष्कर्ष 

आशिका तामाङले आफूले भक्तपुर जिल्ला अदालतबाट सफाइ पाएको भन्दै सामाजिक सञ्जालमा फैलाएको जानकारी भ्रामक हो । अदालतले उनलाई सफाइ नदिई ५ दिन कैद र ५०० रुपैयाँ जरिवानाको सजाय तोकेको छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य-जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य-जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १९:५०