अब स्पोटिफाईबाटै मेसेज गर्न मिल्ने, म्युजिक, पोडकास्ट र अडियोबुक शेयर गर्न झनै सहज
भदौ १३, २०८२ १०:१४
काठमाडौँ । स्पोटिफाईले आफ्ना प्रयोगकर्ताहरूका लागि मेसेजेज (Messages) नामक एक नयाँ डाइरेक्ट मेसेजिङ फिचर सुरु गरेको छ । प्रयोगकर्ताहरूलाई स्पोटिफाई एप नछोडीकनै साथी र परिवारसँग सङ्गीत, पडकास्ट र अडियोबुक शेयर गर्न दिनेछ ।
यो फिचर निःशुल्क र प्रिमियम दुवै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ । जुन १६ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताहरूका लागि मोबाइल डिभाइसहरूमा रोल आउट भइरहेको छ ।
यो मेसेजिङ फिचर २५ अगस्टदेखि केही निश्चित बजारहरूमा उपलब्ध गराउन थालिएको हो । आगामी हप्ताहरूमा थप क्षेत्रमा विस्तार गरिने स्पोर्टिफाईले जनाएको छ । प्रयोगकर्ताहरूले नाव प्लेइङ (Now Playing) मा कुनै गीत, पोडकास्ट वा अडियोबुक सुन्दै गर्दा शेयर आइकनमा ट्याप गरी साथीलाई पठाउन सक्नेछन् ।
मेसेजेजमा पहुँच गर्न प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुपर्नेछ । यो एक अर्कासँग गरिने कुराकानीको रूपमा काम गर्छ । जहाँ प्रयोगकर्ता टेक्स्ट र इमोजी प्रयोग गरेर प्रतिक्रिया दिन सक्नेछन् । स्पोटिफाईका अनुसार प्रयोगकर्ताहरूले साथी र परिवारसँग आफ्ना मनपर्ने सङ्गीत, पोडकास्ट र अडियोबुक लाखौँ पटक शेयर गरिरहेका हुन्छन् ।
यो नयाँ फिचरले यसरी गरिने सिफारिसहरूलाई एकै ठाउँमा ल्याएर एप भित्रै ट्य्राक गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । यसले कलाकार, लेखक र सर्जकका लागि पनि नयाँ श्रोताहरू फेला पार्न मद्दत गर्नेछ । स्पोटिफाईले यो फिचर इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप, स्न्यापच्याट, टिकटक जस्ता अन्य प्लेटफर्महरू मार्फत सामग्री शेयर गर्ने कार्यको पूरकको रूपमा आएको र ती प्लेटफर्महरूलाई प्रतिस्थापन नगर्ने स्पष्ट पारेको छ ।
प्रयोगकर्ताहरूले अपरिचित व्यक्तिहरूबाट आउने मेसेज रिक्वेस्ट अस्वीकार गर्न वा ब्लक गर्न सक्नेछन् । यदि कुनै सामग्री अनुचित लागेमा प्रयोगकर्ताहरूले सजिलै त्यसलाई रिपोर्ट गर्न सक्ने छन् । स्पोटिफाईले गैरकानुनी वा हानिकारक सामग्रीका लागि मेसेज स्क्यान समेत गर्नेछ र रिपोर्ट गरिएका सामग्रीहरूको समीक्षा गर्नेछ । प्रयोगकर्ताहरूले सेटिङमा गएर मेसेजिङ फिचरलाई पूर्ण रूपमा बन्द गर्न पनि सक्नेछन् । यो नयाँ सुविधा स्पोटिफाईको आफ्नो प्लेटफर्मलाई अझ सामाजिक र अन्तरक्रियात्मक बनाउने प्रयासको रूपमा आएको हो ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १०:१४
