बुढा बा-आमालाई डोकोमा हालेर फाल्ने ठाउँ भन्दै रमाइलोका लागि बनाइएको भिडिओ भ्रामक बनेपछि भाइरल
भदौ १५, २०८२ २०:५
काठमाडौँ । पछिल्ला केही दिनयता टिकटक र फेसबुक लगायतका सामाजिक सञ्जालमा एक युवकले रमाइलोका लागि बनाएको भिडिओ भ्रामक देखिँदा भाइरल भएको छ । भिडिओमा सेतो टी-शर्ट लगाएका एक युवक ट्रेकिङको क्रममा बाटोमा पर्ने एउटा ठाउँबारे बोलिरहेका देखिन्छन् ।
“सर, यहाँनिर बाउआमा बुढो भएपछि डोकोबाट फ्याँक्ने चलन रहेछ । यो तपाईँलाई त थाहा छ, तपाईँ आइरहनु हुन्छ । के हो यो विषय ?” भिडिओ खिचिरहेका व्यक्ति प्रश्न गर्छन्।
त्यसपछि सेतो टी-शर्ट लगाउने व्यक्ति साँच्चिकै घटना बयान गरे जसरी जवाफ दिन्छन्, “यो फ्याँक्ने नै हो । फ्याँक्ने नै गरिरहेका छन् ।”
त्यही वाक्यलाई थप जोड दिँदै भिडिओ खिच्ने व्यक्ति भन्छन्, “ए, यो एरिया त छुट्याइएकै रहेछ हो ? फ्याँक्ने भनेर ?”
फेरि जवाफ दिँदै सेतो टी-सर्ट लगाउने युवक भन्छन्, “अस्ति भर्खर एक जनालाई फ्याँकिएको छ । नाम चाहिँ नभनिहालौँ होला, उहाँहरूको । एक हप्ता-दश दिन अगाडि फ्याँकिएको कुरा हो ।”
त्यसैमा क्यामेरा लिएर भिडिओ खिचिरहेका व्यक्ति बोल्छन्, “त्यहाँ लुगा पनि छ कि क्या हो ?”
त्यसपछि सेतो टी-सर्ट लगाउने युवक अगाडि भन्छन्, “त्यहाँ फ्याँक्ने नै गर्छन् । अस्ति भर्खरै फ्याँकेको रहेछ, एक जना आमालाई फ्याँकिएको छ । यस्तो चलन हटाउनुपर्छ भन्ने यो गाउँका बासिन्दाको धारणा हो । अब हेरौँ के हुन्छ ?”
त्यसपछि क्यामेरा बोक्ने व्यक्तिले ‘मान्छे फाल्ने’ भनिएको ठाउँतिर देखाउँछन् । त्यहाँ फालिएको लुगा देखाउँदै उनी भन्छन्, “ए, आम्मै ! हो त रहेछ । आबुई !” भिडिओमा उनी ‘यही माथिबाट फ्याँकिदिने रहेछ’ भन्दै मधुरो स्वरमा बोलिरहेको सुनिन्छ । यो समाचार सामग्री तयार पार्दासम्म भिडिओमा करिब सात लाख ९३ हजार भ्युज आइसकेको थियो ।
आफूलाई पोडकास्टर भनेर चिनाउन रुचाउने युट्युबर बिनु पोखरेलले यही भिडिओ शेयर गरेकी छिन् । यो समाचार तयार पार्दासम्म उक्त भिडिओ झन्डै २० हजार पटक हेरिएको छ । उनले लेखेकी छन्, “हैट ! यस्तो संस्कृति पनि छ, नेपालमा ? छि के, हामी मान्छे !”
उनी अगाडि लेख्छिन्, “त्यसैले भनेको के- कुनै सङ्कटका बेला (महामारी आउँदा वा भोकमरी लाग्दा) समाजलाई सहज होस् भनेर अपनाइएका कतिपय कृत्य होलान्, जुन आज पनि संस्कृतिका रूपमा छन्। यस्ता कुरा हटाऔँ त! कस्तो सुन्नै लाज लाग्ने के! यो गलत हो। यस्ता कुरा हटाइएन भने आजको समाजमा छु भनेर कसरी बस्नु हौ?”
उनले थपेकी छिन्, “यस्ता गलत संस्कृति यो शास्त्रमा, त्यो शास्त्रमा छ भन्दै आउन बेर छैन फेरि । छि !”
हामीले यस भिडिओको आधिकारिक स्रोत पत्ता लगाउन की-फ्रेम निकालेर रिभर्स इमेज सर्च गर्यौँ । त्यस क्रममा यो भिडिओ ‘ठुलोबुबा’ नामक टिकटक अकाउन्टबाट अपलोड भएको पाइयो ।
वास्तविक नाम सन्तोष बस्नेत भएका ती प्रयोगकर्ताले ‘ठुली आमालाई प्र्याङ्क गरेको’ भन्दै क्याप्सन राखेका छन् । तर, भिडिओमा सेतो टिसर्ट लगाउने व्यक्ति मात्र देखिन्छन् । अर्का व्यक्तिले क्यामेरा बोकेर भिडिओ खिचिरहेका छन् । भिडिओमा उनीहरू दुई जना मात्र देखिए पनि क्याप्सनमा भने ठुली आमालाई प्र्याङ्क गरेको भनिएको छ ।
यो १ मिनेट ११ सेकेन्डको भिडिओमा कतै पनि ‘ठुली आमा’ वा ‘ठुला बुबा’ देखिँदैनन् । भिडिओलाई थप डरलाग्दो बनाउन ‘हरर’ साउन्ड प्रयोग गरिएको छ । मोबाइलमा टिकटक हेर्दा तलपट्टि रहेको क्याप्सनमा प्रयोगकर्ताले खासै ख्याल गर्दैनन् । त्यसमाथि तीन लाइनमा अटाउने क्याप्सन राखिएको छ, जुन सजिलै प्रयोगकर्ताको आँखामा पर्दैन । त्यसबाहेक टिकटक जोकोहीले पनि हेर्न सक्छन् ।
उनले यसको स्पष्टीकरण कमेन्टमा दिन खोजेका छन् । “नेपालमा हैन यो चलन,” उनले लेखेका छन् । तर, यो भिडिओ रमाइलोका लागि बनाइएको हो भन्ने स्पष्ट पारेका छैनन् ।
उनले यस्तै अर्को भिडिओ पनि राखेका छन् । दोस्रो भिडिओमा भने ट्रेकिङ गएका अन्य व्यक्ति पनि देखिन्छन् । त्यस भिडिओमा पनि माथि उल्लिखित व्यक्ति नै बोल्छन्, “धेरै वर्षअगाडिको कुरा हो, छोराले चाहिँ बाउलाई फालेकै हो ।” यो भिडिओ पनि अपूर्ण नै छ । यसमा पनि रहस्यमयी भाव सिर्जना गर्ने अडियो प्रयोग गरिएको छ । क्याप्सनमा लेखिएको छ, “ठुली आमालाई जिस्काइदिएको हो गाइज, त्यस्तो केही चलन छैन ।”
अघिल्लो भिडिओमा ‘केही दिन अघि एक आमालाई फालिएको’ भनेका ती युवकले अर्को भिडिओमा हास्दै यो केही वर्ष अघि छोराले बुबालाई फालेकै हो भन्ने कुरामा जोड दिएका छन् ।
यस भिडिओमा पनि अधिकांशले क्याप्सनलाई ख्यालै गरेका छैनन् र भिडिओ हेरेरै आफ्नो जिज्ञासा राखेका छन् ।
त्यसपछि यसलाई स्पष्ट पार्दै सन्तोषले अर्को भिडिओ राखेका छन् जसमा त्यही साउन्ड प्रयोग भएको छ । उनले उक्त भिडिओमा स्पष्टीकरण दिने प्रयास गरेका छन् । तर त्यसमा पनि स्पष्ट रूपमा भिडिओलाई प्र्याङ्क बताएका छैनन् । स्पष्टीकरण दिन खोजेको भिडिओलाई उनले झनै शङ्कास्पद तरिकाले प्रस्तुत गरेका छन् ।
उनी ट्रेकिङ जाँदै गर्दा डोको र लुगा देखेको अनि छेउमै एक वृद्धा भएको प्रसङ्ग निकाल्छन्, तर त्यो वाक्य पूरा गर्दैनन् ।
यी तीन फरक भिडिओमा उनले एउटै साउन्ड प्रयोग गरेका छन् । उनको युट्युब च्यानलमा भने ट्रेकिङ गएको भनिएको ठाउँको भ्लग राखिएको छ । तर टिकटकमा भने अपूर्ण र भ्रामक शैलीमा भिडिओ राखिएको छ । क्याप्सनमा पनि अस्पष्ट तरिकाले भिडिओ रमाइलोका लागि बनाएको भन्न खोजिएको छ । तर, उही किसिमका फरक-फरक भिडिओ राखेर त्यही भ्रामक दाबीलाई थप प्रश्रय दिन खोजेको देखिन्छ । स्पष्टीकरण दिन खोजिएको भिडिओमा समेत विषयलाई बङ्ग्याएर झन् संशयपूर्ण बनाइएको छ ।
यसरी भ्रामक भिडिओ राखेकाले अधिकांश प्रयोगकर्ताले ‘यस्तो चलन कुन ठाउँमा रहेछ?’, ‘यस्तो कुप्रथा हटाउनुपर्छ’, “प्रहरीलाई खबर गर्नुपर्छ”, “यो कुन ठाउँको रहेछ” भन्दै आवाज उठाइरहेका छन् । सन्तोषले युट्युबमा राखेको भ्लगबाट उनी सपरिवार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा पर्ने दुधकुण्ड हेर्न गएको बुझिन्छ ।
त्यही बेला उनीहरूले भीरमा लुगा र डोको देखे अनि मनगढन्ते कहानी बनाएर प्र्याङ्कको नाममा टिकटकमा राखे । अपूर्ण भिडिओ र अस्पष्ट क्याप्सनका कारण उक्त भिडिओलाई सत्य ठानेर अन्य प्रयोगकर्ताले सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । जसले गर्दा साँच्चिकै ठानेर यो भ्रामक सूचनाका भाइरल बनिरहेको छ ।
टेकपानासँगको कुराकानीमा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङले त्यस्तो प्रथाबारे कहिल्यै नसुनेको बताइन् । “कता कथामा सानैमा सुनेको जस्तो लाग्छ,” उपप्रमुख तामाङले भनिन्, “दुधकुण्ड आउने बाटोमा पर्ने कुनै पनि ठाउँमा त्यस्तो प्रथा भएको मलाई थाहा छैन । कहिल्यै नसुनेको कुरा हो, यो ।”
उनले भिडिओ हेरेपछि उक्त भिडिओ रमाइलोका लागि बनाइएको हुनसक्ने बताइन् । “रमाइलोका लागि बनाए पनि हुँदै नभएको कुरा राख्नु हुँदैनथ्यो,” उनले अगाडि भनिन्, “दुधकण्ड पवित्र धार्मिक स्थल हो । यो घुम्न आउने सिजन पनि हो । तर, यस्तो हुँदै नभएको कुरा गर्दा त त्यसले आन्तरिक तथा वाह्य पर्यटनमा नकारात्मक असर पार्छ ।”
भिडिओको क्याप्सनमा स्पष्ट पार्न खोजिए पनि टिकटक हेर्ने वृद्धवृद्धाले त्यस्ता प्रथालाई वास्तविक ठान्न सक्ने र त्यसकारण सन्तानले घुमाउन लैजान खोज्दा अस्वीकार गर्न सक्ने अवस्था समेत आउनसक्ने आशङ्का उनले व्यक्त गरिन् ।
पछिल्लो अध्यावधिक: भदौ १५, २०८२ २०:६
