आईटी प्रोजेक्टमा ६४ हजारसम्म तलब घटाएर २ लाखलाई आकर्षक भन्दै प्रम ओलीले गरे उल्टो प्रचार
भदौ १६, २०८२ १३:३८
जेमिनाई एआईको सहायताले तयार पारिएको तस्बिर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) पढेको जनशक्तिका लागि सरकारले मासिक दुई लाख रुपैयाँसम्म आकर्षक तलबको व्यवस्था गरेको भन्दै प्रचार गरेपनि त्यो दररेट दुई वर्ष अघिको भन्दा निकै कम रहेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० भदौमा सार्वजनिक गरेको सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स्, २०८२ मा तय गरेको मासिक दररेट २०८०/८१ को भन्दा कम रहेको देखिएको हो ।
मासिक पारिश्रमिक भनिए पनि यो सरकारले सार्वजनिक खरिदका लागि आवश्यक पर्ने लागत अनुमान तयार पार्दा अपनाउनु पर्ने दररेट सम्बन्धी मापदण्ड हो । प्रधानमन्त्री ओलीले आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए ।
“यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ । यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ । आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद कदम हो,” ओलीको फेसबुक पोस्टमा लेखिएका छ ।
आईटीमा काम गर्ने जनशक्तिलाई आकर्षक तलब सरकारले दिने भन्दै ओलीसँगै उनको पार्टी नेकपा (एमाले) का कार्यकर्ताहरूले व्यापक प्रचार गरेका छन् । एमालेका केन्द्रीय सदस्य ऐन महर, स्वयम् एमालेको आधिकारिक फेसबुक पेज, एमाले पूर्वसांसद शान्ता चौधरीलगायतका नेता कार्यकर्ताहरूले उक्त पोस्ट शेयर गरेका छन् । तर, सरकारले आईटीसम्बन्धी विभिन्न पदहरूमा काम गर्ने जनशक्तिबाट लिइने परामर्श सेवाको लागत अनुमान तयार गर्दा उनीहरूलाई दिइने मासिक पारिश्रमिक (दररेट) दुई वर्ष अघिको तुलनामा ४१.५३% सम्म घटाएको भेटिएको छ ।
प्रधानमन्त्री ओलीले दुई लाखको आकर्षक तलब सरकारले दिने र त्यसले सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने दाबी गरेपनि उनकै पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्हालिरहेको सञ्चार मन्त्रालय मातहतको सूचना प्रविधि विभागले दुई वर्ष अघि टिम लिडर/प्रोजेक्ट म्यानेजरको दररेट २ लाख ४५ हजार रुपैयाँ तोकेको थियो । जबकि चालु आर्थिक वर्ष विभागले नभई मन्त्रालयले नै तयार गरेको रेट लिस्टमा टिम लिडर/प्रोजेक्ट म्यानेजरको मासिक दररेट दुई लाख रुपैयाँ मात्रै निर्धारण गरिएको छ ।
त्यसैगरी, दुई वर्षअघि सिस्टम आर्किटेक्ट/एनलिस्टका लागि एक लाख ७३ हजार रुपैयाँ तोकिएकोमा अहिले घटाएर एक लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । सिनियर आईओएस/एन्ड्रोइड डेभलपरका लागि दुई वर्ष अघि एक लाख ५५ हजार रुपैयाँ रेट निर्धारण गरिएकामा अहिले घटाएर एक लाख ४० हजार कायम गरिएको छ ।
त्यस्तै अवस्था सिनियर सफ्टवेयर/वेब डेभलपरमा पनि देखिन्छ । दुई वर्ष अघि एक लाख ४९ हजार रुपैयाँ रहेको रेट चालु वर्षमा घटाएर एक लाख ४० हजार रुपैयाँमा झारिएको छ ।
त्यस्तै सिनियर डेटाबेस डिजाइनरको दर दुई वर्षअघि एक लाख ५६ हजार रुपैयाँ कायम गरिएकामा अहिले मासिक एक लाख ४० हजार रुपैयाँमा सीमित गरिएको छ ।
क्वालिटी अस्योरेन्स एनालिस्टको पारिश्रमिक एक लाख १० हजारबाट घटाएर ९० हजार रुपैयाँ, इन्फरमेसन सेक्युरिटी अफिसर/एक्सपर्टको एक लाख ५० हजारबाट घटाएर एक लाख पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सिस्टम/नेटवर्क एड्मिनिस्ट्रेटरको मासिक पारिश्रमिक एक लाख १० हजारबाट घटाएर ९० हजार रुपैयाँमा झारिएको छ । आईटी अडिटरको तलब एक लाख ५३ हजारबाट घटाएर ९० हजार रुपैयाँ र इथिकल ह्याकरको एक लाख ४९ हजारबाट करिब ४० हजार घटाएर एक लाख १० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, क्लाउड र इन्फ्रास्ट्रक्चर एक्सपर्टको मासिक पारिश्रमिक एक लाख ५६ हजारबाट घटाएर एक लाख २५ हजार रुपैयाँ राखिएको छ ।
|
Expert Category |
Rate (NPR Per Month) for FY 2080/81 |
Rate (NPR Per Month) for FY 2082/83 |
changes (in NPR) |
changes (in %) |
|
Team Leader / Project Manager |
245195.22 |
200000 |
-45195.22 |
-18.43 |
|
System Architect / Analyst |
173111.33 |
160000 |
-13111.33 |
-7.57 |
|
Senior iOS/ Android Developer |
155500 |
140000 |
-15500 |
-9.97 |
|
Senior Software/ Web developer |
149104.58 |
140000 |
-9104.58 |
-6.11 |
|
Senior Database Designer |
156320.42 |
140000 |
-16320.42 |
-10.44 |
|
Quality Assurance Analyst |
107481.402 |
90000 |
-17481.402 |
-16.26 |
|
System / Network Administrator |
110775 |
90000 |
-20775 |
-18.75 |
|
Information Security Officer/Expert |
150035.6444 |
105000 |
-45035.6444 |
-30.06 |
|
IT Auditor |
153930.5556 |
90000 |
-63930.5556 |
-41.53 |
|
Ethical Hacker |
149888.8889 |
110000 |
-39888.8889 |
-26.61 |
|
Cloud & Infrastructure Expert |
156930.5556 |
125000 |
-31930.5556 |
-20.35 |
(स्रोतः सूचना प्रविधि विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय)
यति मात्र होइन, मुद्रास्फीतिलाई मध्यनजर गर्दै विभागले हरेक वर्ष परामर्श सेवा तर्फको दररेट परिमार्जन गर्ने गरेको थियो । सार्वजनिक नगरी आन्तरिक रूपमा सीमित राखिने यस्तो दररेट २०८१/८२ को आर्थिक वर्षका लागि अझै बढी रहेको विभागका एक अधिकारीले बताए । तर उक्त दररेट भने उनले तत्काल उपलब्ध गराउन नसकिने बताए ।
दुई वर्षअघि विभिन्न १८ प्रकारका आईटी जनशक्तिलाई वर्गीकरण गरेर उनीहरूको न्यूनतम शैक्षिक योग्यता, अनुभव र दररेट निर्धारण गरिएकामा अहिले १४ प्रकारमा सीमित गरिएको गरिएको छ । टिम लिडर/प्रोजेक्ट म्यानेजरको न्यूनतम अनुभवलाई १० वर्षबाट पाँच वर्षमा झारिएको छ । क्वालिटी अस्योरेन्स एनलिस्ट लगायतका केही पदहरूमा भने न्यूनतम अनुभव दुई वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको छ ।
यसैलाई आईटीमा काम गर्ने सरकारी कर्मचारीको तलब २ लाख रुपैयाँसम्म कायम गरिएको भन्दै केही सञ्चार माध्यमदेखि सामाजिक सञ्जाल पेजहरूले समेत भ्रम फैलाएका थिए ।
पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १३:३९

