close

भारतमा कम्तीमा १ गिगावाट क्षमताको विशाल डेटा सेन्टर खोल्दै ओपनएआई

टेकपाना टेकपाना

भदौ १६, २०८२ १८:१६

भारतमा कम्तीमा १ गिगावाट क्षमताको विशाल डेटा सेन्टर खोल्दै ओपनएआई

काठमाडौँ । च्याटजिपिटीको माउ कम्पनी ओपनएआईले भारतमा कम्तीमा १ गिगावाट क्षमताको डेटा सेन्टर बनाउने भएको छ । जसका लागि ओपनएआई अहिले स्थानीय साझेदार खोजीमा लागेको छ । 

माइक्रोसफ्टको समेत लगानी रहेको ओपनएआई भारतमा औपचारिक रुपमा दर्ता भइसकेको छ । कम्पनी दर्तापछि ओपनएआई अहिले स्थानीय टिम निर्माणमा जुटेको छ । 

कम्पनीले गत महिना नै प्रयोगकर्ताका हिसाबले दोस्रो ठुलो बजार भारतमा सन् २०२५ भित्रै कार्यालय खोल्ने घोषणा गरेको थियो । कार्यालय राजधानी नयाँ दिल्लीमा राख्ने ओपनएआईको योजना छ । 

समग्र एसियाली बजारलाई लक्षित गर्दै ओपनएआईले ठुलो डेटा सेन्टर स्थापना गर्न खोज्दैछ । ओपनएआईको स्टारगेट-ब्राण्डेड एआई पूर्वाधार रणनीतिअन्तर्गत भारतमा ठुलो डेटा सेन्टर निर्माण गर्न खोजिएको छ ।  

समाचार संस्था ब्लुमबर्गकाअनुसार आगामी सेप्टेम्बरमा कम्पनीका सीईओ साम अल्टम्यानले गर्ने भारत भ्रमणको क्रममा डेटा सेन्टरबारे घोषणा गर्न सक्ने जनाएको छ । 

गएको जनवरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टारगेट घोषणा गरेका थिए ।  एआई पूर्वाधार निर्माण गर्न निजी क्षेत्रबाट पाँच खर्ब अमेरिकी डलरसम्मको लगानी गराउने योजना ट्रम्पको छ । जसमा सफ्ट बैँक, ओपनएआई, ओर्‍याकल लगायतले लगानी गर्दैछन् ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ २०:२५