पठाओको ‘दशैँ महोत्सव’: ३ जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडरलाई दर्ता नि:शुल्क
भदौ १७, २०८२ १३:१४
काठमाडौँ । पठाओ नेपालले ‘दशैँ महोत्सव-२०८२’ सुरु गरेको छ । महोत्सव १७ भदौदेखि ६ असोजसम्म सञ्चालन हुनेछ ।
कम्पनीले पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गर्ने जनाएको छ । दशैँ महोत्सव अहिलेलाई काठमाडौँ उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई अन्य सहरहरूमा पनि विस्तार गर्ने तयारी पठाओको छ ।
महोत्सव अवधिभर पठाओले चालकहरूलाई दैनिक कमिसन १ प्रतिशतसम्म मात्र लाग्ने र बाँकी छुट हुने जनाएको छ । जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूलाई क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत सबैभन्दा धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टीभीएस रेडियन एफआई मोटरसाइकल जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसका लागि सहभागीले २१ दिनभित्र कम्तीमा १७० राइड तथा डेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने सर्त पठाओले तोकेको छ ।
यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीलाई नि:शुल्क दर्ता हुने सुविधा पनि उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १३:३८
