close

सरकारको नजरमा दुनियाँका सामाजिक सञ्जाल, व्यवस्थापन गर्न नसक्दा आफ्नै nepal.gov.np साइट बेहाल

टेकपाना टेकपाना

भदौ १९, २०८२ १३:४८

सरकारको नजरमा दुनियाँका सामाजिक सञ्जाल, व्यवस्थापन गर्न नसक्दा आफ्नै nepal.gov.np साइट बेहाल

काठमाडौँ । विश्वभरका सामाजिक सञ्जाललाई बन्द गर्ने धम्कीसहित सूचीकरणमा आउन उर्दी जारी गरेको सरकारको आफ्नै मुख्य वेबसाइट भने बेहाल अवस्थामा रहेको पाइएको छ । नागरिक एप जस्तै सरकारका सम्पूर्ण अनलाइन सेवाहरू एकीकृत गर्ने उद्देश्यका साथ तयार पारिएको nepal.gov.np वेबसाइट व्यवस्थापनको अभावमा बन्द हुन पुगेको हो ।

अनलाइन सेवा अनबोर्ड गर्ने काम बाँकी रहे पनि नेपाल सरकारका सम्पूर्ण वेबसाइट तथा अनलाइन सेवाको जानकारी भने त्यसमा समावेश गरिएको थियो । “नागरिक एप जस्तै सबै सिस्टमलाई एकीकृत गर्न उक्त साइट खोलिएको थियो । प्रयोगकर्ताले अन्य साइटमा भौँतारिनु नपर्ने गरी त्यसको डिजाइन गरिएको थियो । हामी छँदा त्यसमा सरकारका सबै साइटहरू लिङ्क गरिएका थिए । सायद अहिले अपडेट गर्ने मान्छे नै छैन क्यारे,” तत्कालीन एक कर्मचारीले भने । 

एसियाली विकास बैँकको सहयोगमा तयार पारिएको नेपाल सरकारको आधिकारिक पोर्टल अपग्रेड गर्नुपर्ने बेला भइसकेको थियो । तर अपडेट त परको कुरा, अहिलेको व्यवस्थापन तथा मातहतका कर्मचारीलाई सो पोर्टल आफूहरूसँग रहेको विषयको जानकारीसम्म छैन । 

'नेपाल सरकारको आधिकारिक पोर्टल'को ट्याग दिइएको उक्त साइट अलपत्र भएकै डेढ वर्षभन्दा लामो समय भइसकेको छ । एक महिना अघिसम्म जेनतेन खुलिरहेको सो साइट अहिले आएर पूर्ण रूपमा बन्द भएको हो । सो साइट तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले व्यवस्थापन गर्दै आएको थियो । सरकारले उक्त निकाय नै खारेज गरेपछि नेपाल डट जीओभी डट एनपी पोर्टल समेत बेवारिसे बन्यो । 

२३ जनवरी २०२४ यता उक्त साइट अपडेट हुन छोडेको थियो । सरकारले तत्कालीन एनआईटीसी खारेज गरेपछि त्यसको ठाउँमा एकीकृत डेटा व्यवस्थापन केन्द्र (आईडीएमसी) खडा गरेको छ । सूचना प्रविधि विभाग अन्तर्गत राखिएको सो निकायलाई विगतको एनआईटीसीले हेर्दै आएका (जस्तैः  जीआईडीसी-सरकारको एकीकृत डेटा सेन्टर लगायतको व्यवस्थापन तथा सञ्चालन) जिम्मेवारी तोकिएको छ । 

यस अनुरूप ‘नेपाल सरकारको आधिकारिक पोर्टल’ को सञ्चालन तथा व्यवस्थापनको कार्य समेत आईडीएमसीकै काँधमा छ । तर उक्त संस्थाका कर्मचारीहरू भने सरकारको मुख्य आधिकारिक पोर्टलबारे बेखबर छन् । आईडीएमसीका कार्यालय प्रमुख मनिष भट्टराईले नेपाल डट जीओभी डट एनपीको साइट बारे आफूलाई जानकारी नभएको बताए ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १३:५३