काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउन माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको हो ।
कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासङ्घले आश्चर्य समेत प्रकट गरेको छ । महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, "महासङ्घ सामाजिक सञ्जाल नियमको पक्षमा छ । तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन ।"
महासङ्घले नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको हो ।
पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ ९:५४
