शेरबहादुर देउवाको फेसबुक पोस्टमा बालेनको कमेन्ट, ‘भीपीएनबाट चलाउन त साह्रै गाह्रो हुने रहेछ’
भदौ २२, २०८२ ११:१२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भीपीएनबाट फेसबुक चलाउन साह्रै गाह्रो हुने रहेछ भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पोस्टमा कमेन्ट गरेका छन् । सरकारले फेसबुकसहित २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको अवस्थामा देउवाको आधिकारिक फेसबुक पेजमा शनिबार गरिएको एउटा पोस्टमा बालेनले व्यङ्ग्यात्मक कमेन्ट गरेका हुन् ।
देउवाको फेसबुक पेजबाट गरिएको पोस्टमा बालेनले उक्त पोस्ट नेपाली हो कि विदेशी कुन भीपीएन प्रयोग गरेर हालिएको भन्दै प्रश्न पनि गरेका छन् । “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी । साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त!,” बालेनले कमेन्ट लेखेका छन् ।
देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेको भन्दै फेसबुकमा पोस्ट हालेका थिए । बालेनले आइतबार बिहान सोही पोस्टमा कमेन्ट गरेका हुन् ।
सरकारले सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएसँगै इन्टरनेट प्रयोगकर्ताले भीपीएन प्रयोग गर्दै प्रतिबन्धित प्लेटफर्म चलाइरहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ ११:१२
