जेनजी आन्दोलनको पूर्वसन्ध्यामा बालेनको प्रतिबन्धको विरोधी पोस्टः मलाई बोल्न दे सरकार
भदौ २२, २०८२ १९:२२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयको विरोधमा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राखेका छन् । आइतबार साँझ बलिदान फिल्मको आफ्नै रिमेक गीतको अंश राख्दै उनले "मलाई बोल्न दे सरकार" भनेर लेखेका छन् ।
यो समाचार तयार पार्दासम्म उक्त क्लिपमा एक लाख पाँच हजार बढी लाइक र आठ हजार ओटा कमेन्ट आएका छन् । त्यस्तै यो पोस्ट साढे सात हजार पटक शेयर भएको छ भने यसमा साढे छ लाख बढी भ्युज पुगेको छ ।
उनका गीतका शब्दहरूमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णय विरुद्धको असन्तुष्टि सुनिन्छ । उनको गीतको लिरिक्स यस्तो छ;
मलाई बोल्न दे सरकार
अपराध हैन, मन खोल्न दे सरकार
दरबारको म सराप होइन,
मन खराब छैन सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि आबाज उठाउँदैमा
बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँ गाउँबाट उठ युवा कलम थामी
सोह्रै आना सही कुरा सुन सोची साराले
भुमरीमा भौँतारि, भविष्य अभिभाराले
के हुन्छ एक नाराले, त्यो सपनाको सहाराले
के भन्न पो बाँकी छ, बुद्ध नै साक्षी छ
कोपिला मास्दा के फुल्छ, त्यो डालीमा
आँसु र रगत लुकेको छ,
हाँसोमा बारुदको गन्ध, सधैँको बन्द
कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्र छ मन त, धेरै छ नि भन्न
कुरा सुख दुःखको मुखै भो बन्द!!
त्यस अघिको अर्को पोस्टमा बालेनले जेनजी पुस्ताको स्वतःस्फूर्त र्यालीमा समर्थन जनाउँदै भनेका थिए, "म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस्, तपाईँहरूले कस्तो देश चाहनु हुन्छ ?"
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १९:२२
