close

गायक शिव परियारले हटाए सामाजिक सञ्जाल बन्धको समर्थनमा राखेको पोस्ट, अब जेनजीलाई साथ

टेकपाना टेकपाना

भदौ २३, २०८२ ७:२२

गायक शिव परियारले हटाए सामाजिक सञ्जाल बन्धको समर्थनमा राखेको पोस्ट, अब जेनजीलाई साथ

काठमाडौँ । गायक शिव परियारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई समर्थन गर्दृ राखेको पोस्ट आफ्नो फेसबुक पेजबाट हटाएका छन् । उक्त पोस्ट हटाउँदै उनले सोमबार देशव्यापी रूपमा आयोजना गरिएको जेनजी पुस्ताको आन्दोलनमा सहमति समेत जनाएका छन् ।

बिहीबार सरकारले सूचिकरणमा नआएका सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेसँगै गायक परियारले सरकारको उक्त कदमलाई समर्थन गर्ने जनाएका थिए । उनले लेखेका थिए, “सामाजिक सञ्जालमा देखिएको अराजकता, उद्दण्डता, अनुशासनहीनता जस्ता संवेदनशील कुराहरूलाई सहज रूपमा कारबाहीको दायरामा ल्याउन तथा नियमन गर्नको लागि पनि सामाजिक सञ्जाल नेपालमा वैधानिक तवरमा दर्ता हुनु एकदम आवश्यक देखेको छु । नियमन हुनै पर्दछ, नेपालमा दर्ता आवश्यक छ । नेपाल सरकारको कदमलाई समर्थन गर्दछु ।”

तर हाल भने उनको फिडका उक्त पोस्ट गायब छ । सोमबार जेनजी पुस्ताले गर्न लागेको सरकार विरोधी आन्दोलनमा परियारले समर्थन जनाउँदै पोस्टहरू शेयर समेत गरेका छन् । आइतबार दिउँसो उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सार्वजनिक गर्दै लेखेका छन्, “यो नेपाली युवा जनमानसमा आएको चेतना हो । कुशासन, भ्रष्टाचार, दण्डहिनता लगायतका शासकका नकारात्मक विषयको विरोधमा 'Generation Z (Gen Z)’ पुस्तामा आएको चेतनाको प्रतिबिम्ब हो । हामी परिवर्तनका पक्षधरहरूले यस कुरालाई सकारात्मक रूपमा ग्रहण गर्नु पर्दछ ।” परियारले सञ्चारकर्मी टिकाराम यात्रीले जेनजीको आन्दोलनमा समर्थन गरेका पोस्टहरू समेत सार्वजनिक गरेका छन् । उक्त पोस्टको कमेन्टमा विभिन्न प्रयोगकर्ताले गायक परियारलाई पहिला सामाजिक सञ्जाल माथि प्रतिबन्ध गर्ने निर्णय गरेर सरकारको समर्थन गरेको र पछि जेनजीलाई समर्थन गरेर ‘दही चिउरे प्रवृत्ति’ देखाएको आरोप लगाएका छन् ।

उक्त कमेन्टको जवाफ दिँदै गायक परियारले 'मेटाले नेपालको संविधान मान्दिनँ' भनेको दाबी गरिएको समाचारहरू भेट्टिएका कारण उक्त पोस्ट गरेको बताएका छन् । तर पछि सरकारले जनतालाई भ्रममा राखेको महसुस गरेर पोस्ट डिलिट गरेको बताएका छन् ।

उनले भनेका छन् “मेटाले नेपाल देशको कानुन संविधान मान्दिन भन्यो, भन्ने समाचार देखेरै नेपालको कानुन मान्दिन भन्ने सामाजिक सञ्जालहरूलाई सूचिकरणको दायरामा ल्याउँन पर्छ । सूचिकरणको दायरामा ल्याउँन पटक पटक गरेको प्रयासमा अटेर गरेको अवस्थामा यो कदम सहि छ भनेको हुँ । के गर्ने यहाँ समाचार पनि मिस लिड भैरहेको अवस्था छ । तर पत्रकार टंक दाहालको रिपोर्टिङ हेरिसकेपछि म भित्रको भ्रमको पर्दा च्यातियो । यो सरकारले हामीलाई नितान्त गुमराहमा राखेको रहेछ भन्ने अनुभूति भयो र मैले मौन रूपमा गरेको समर्थन फिर्ता गर्दै सबै पोस्ट डिलिट गरेँ । हाम्रो आधार सञ्चार जगत नै हो , यसैको आधारमा हामीले खबर थाहा पाउने हो । म मात्र होइन धेरैलाई सहि भन्ने लागेको थियो । तर अहिले सबैको धारणा परिवर्तन भएको छ । परिवर्तन भएर सकारात्मक बन्न कसैले बाटो रोक्दैन ।”

 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ ९:३४