close

हामी जेन-जीको साथमा छौँ

टेकपाना टेकपाना

भदौ २३, २०८२ ०:१०

बेथिति र भ्रष्टाचार विरुद्ध उभिएको जेन जी पुस्ताको स्वस्फूर्त आन्दोलनमाथि सरकारबाट आज भएको दमन घोर भर्त्सनायोग्य र निन्दनीय छ । सरकार र दलका नेताहरूलाई सुध्रने चेतावनीसहितका प्लेकार्ड बोकेर प्रदर्शनमा होमिएका विद्यार्थीमाथि जसरी अन्धाधुन्ध गोली दागिएको छ, यसले सरकार कति बर्बर र हिंस्रक छ भन्ने स्पष्ट पारेको छ ।

यो जेन जीको मात्र आवाज होइन, हरेक सार्वजनिक सेवामा अपहेलित प्रत्येक नागरिकको आवाजलाई यो पुस्ताले मुखरित गरिदिएको मात्र हो । आम्दानीको वैध स्रोत नभएका नेता र उनीहरूका सन्तानको वैभवशाली जीवनप्रति प्रत्येक करदाता नेपालीले उठाउने यो स्वभाविक आवाज हो । आफ्नो विचारलाई सोसल मिडियामार्फत व्यक्त गरिरहेको जेन जी पुस्ताले बोल्नै नपाउने गरी सरकारले जुन प्रतिबन्ध लगाएको छ, यो त्यो लगाम विरुद्धको आवाज हो ।

देश विकास र सुधारको एजेन्डा बोकेका आन्दोलनकारीमाथि सरकारले जुन बर्बर कृत्य गरेको छ, यसको सम्पूर्ण जिम्मेवारी सरकार र त्यसका सहयात्री सबैले लिनैपर्छ । पूर्व सूचनासहित सडकमा शान्त प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सरकारले गरेको दमनको हामी चर्को भर्त्सना गर्दछौँ ।

देशलाई सुन्दर बनाउने अठोटसहित प्रदर्शनमा उपस्थित भएर ज्यानको बलिदानी दिएका मृतक सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १२:५५