close

बालेनले सुरु गरेको ‘#kpoliisterrorist’ र ‘#ArrestKpOli’ ह्यासट्याग सामाजिक सञ्जालको ट्रेन्डिङमा

टेकपाना टेकपाना

भदौ २४, २०८२ ९:४१

बालेनले सुरु गरेको ‘#kpoliisterrorist’ र ‘#ArrestKpOli’ ह्यासट्याग सामाजिक सञ्जालको ट्रेन्डिङमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी स्टाटस लेखेपछि सामाजिक सञ्जालमा उनीविरुद्धका ह्याशट्याग ट्रेन्डिङमा परेका छन् । सोमबार मध्यरातमा बालेनले प्रयोग गरेका ‘#kpoliisterrorist’ ह्याशट्याग अहिले एक्स, फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका प्लेटफर्ममा व्यापक बनेको हो । 

यससँगै प्रधानमन्त्री ओलीलाई पक्राउको माग गर्दै फैलाइएको ‘#ArrestKpOli’ ह्याशट्यागले पनि चर्चा पाइरहेको छ । यी ह्याशट्याग प्रयोग गर्दै हजारौँ प्रयोगकर्ताले ओलीको आलोचना र पक्राउको माग गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले ओलीको रक्ताम्य हातले नमस्ते गरेको पोस्टर र त्यसमुनि ‘म हत्यारा हो’ लेखिएको ब्यानर शेयर गरिरहेका छन् । यसका साथै, सोमबारदेखि सुरु भएको जेन जी आन्दोलनका क्रममा विद्यार्थीहरू माथि भएको हिंसाका विवत्स तस्बिरहरू पनि पोस्ट भइरहेका छन् । आन्दोलनमा ज्यान गुमाएका युवा-विद्यार्थीका परिवारले भोगेको पीडा दर्शाउने तस्बिरहरू राख्दै ओलीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिएको छ ।

एक्समा ‘#GenZProtest’, ‘#EnoughIsEnough’, ‘#JusticeForStudents’ लगायतका ह्याशट्याग पनि ट्रेन्डिङमा छन् । जसले यो अभियान युवा पुस्तामा केन्द्रित रहेको सङ्केत गर्छ। टिकटक प्रयोगकर्ताहरूले पनि ‘#kpoliisterrorist’ र ‘#ArrestKpOli’ ह्याशट्याग प्रयोग गरी भिडिओ सामग्रीमार्फत आफ्नो आवाज उठाइरहेका छन् ।

सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, अस्थिर राजनीतिक व्यवस्थाको विरोध गर्दै जेन-जीले सोमबार राजधानीमा प्रदर्शन थालेका थिए । यो अभियान सोमबार नै पोखरा, बुटवल, नारायणघाट, सुर्खेत, विराटनगर, इटहरी, सुनसरी, दमक लगायतका सहरमा विस्तार भएको थियो । आज मङ्गलबार देशव्यापी बनिसकेको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ ९:४१