नझुक्किनुहोस्ः बालेन प्रधानमन्त्री बनेका छैनन् र शपथ पनि ग्रहण गरेका छैनन्
भदौ २५, २०८२ ११:३३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएको दाबीसहितका केही पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोस्टसँगै बालेनले पद तथा गोपनीयताको शपथ लिइरहेको भिडिओ पनि संलग्न गरिएको छ ।
तर, टेकपानाले गरेको फ्याक्टचेकअनुसार उक्त भिडिओ हालको नभई तीन वर्ष पुरानो हो । यो भिडिओ उनले मेयर पदमा निर्वाचित भएपछि शपथ ग्रहण गर्दाको भएको पुष्टि भएको छ । हुँदै नभएको विषयमा पुरानो भिडिओ प्रयोग गरी मिथ्या सूचना फैलाइएको हो ।
दाबी
शंखक क्षेत्री नामका प्रयोगकर्ताले बुधबार बिहान १ः३३ बजे एक भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सनमा ‘प्रधानमन्त्री: बालेन शाह चुनेका छन् नयाँ पुस्ताले’ लेखिएको छ । ५५ सेकेन्डको भिडिओमा बालेनले पद तथा गोपनीयताको शपथ लिइरहेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा दुई लाख २० हजार भ्युज, ९३ कमेन्ट आएका छन् भने भिडिओ १७०० भन्दा बढी पटक शेयर भएको छ । यसमा रियाक्सन काउन्ट भने हाइड गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
बुधबार बिहान यस्तो भिडिओ भाइरल भइरहेको देखेपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान अगाडि बढायो । त्यस क्रममा ‘रोहतक दृश्य’ नामको फेसबुक पेजले सोही भिडिओ राखेको देखियो । त्यसमा भाइरल भइरहेको भिडिओकोको टेक्स्टलाई हटाएर ‘बालेन शाह शपथ ग्रहण’, ‘प्रधानमन्त्रीः-बालेन शाह चुनेका छन्, नयाँ पुस्ताले जय नेपाल’ लेखिएको छ । भिडिओमा भने बालेनले शपथ लिइरहेको देखिने सोही ५५ सेकेन्डको क्लिप राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा दुई हजार बढी रियाक्सन, ९५ कमेन्ट र ३३३ शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै दीपक लक्ष्मी नामक फेसबुक अकाउन्टबाट पनि त्यही भिडिओ पोस्ट भएको छ । उक्त भिडिओमा ६३०० बढी रियाक्सन, २२० कमेन्ट र ७५०० बढी शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट
त्यसैगरी पुष्कर बोहोरा नामक फेसबुक प्रयोगकर्ताले पनि यही भिडिओ राखेका छन् । उनको भिडिओमा ९२२ रियाक्सन, ४१ कमेन्ट आएकाछन् भने ५९३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
यी बाहेक बालेन प्रधानमन्त्रीमा नियुक्त भइ शपथ ग्रहण गरेको दाबी सहितका सयौं भिडिओ फेसबुकमा भाइरल भइरहेका छन् ।
यसको अनुसन्धानका क्रममा हामीले बालेन शाहले शपथ लिएको भिडिओ युट्युबमा खोज्यौं । त्यस क्रममा एपीवन एचडी टिभीको आधिकारिक च्यानलमा २० मे २०२२ मा काठमाडौंका नवनिर्वाचित मेयर बालेनले लिए शपथ, के गर्लान् पहिलो निर्णय ?’ शीर्षकको भिडिओ भेटियो । भिडिओको १ घण्टा ६ मिनेट ३७ सेकेन्डदेखि बालेनले शपथ लिएको देखिन्छ ।
भाइरल भएको भिडिओ र उक्त भिडिओको सबै दृश्य मेल खान्छ । भाइरल भिडिओको पृष्ठभूमिमा नेपाल सम्वत् ११४२ लेखिएको स्पष्ट देखिन्छ । यो भनेको तीन वर्ष अगाडि हो । आज नेपाल सम्वत् ११४५, ञलगा हो । तीन वर्ष अगाडि बालेनले शपथ लिएको देखिने सयौँ भिडिओ युट्युब, फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा छन् ।
त्यस्तै हामीले विभिन्न सञ्चार माध्यममा पनि बालेन शाहबारे समाचार खोज्यौँ । त्यस क्रममा बालेनले जेनजी पुस्तालाई संयमित हुन आग्रह गरेको विषयमा समाचार राखेको देखियो । बालेनकै आधिकारिक सामाजिक सञ्जालका अकाउन्टमा पनि कहीँ कतै प्रधानमन्त्री भएको विषय उल्लेख छैन । वर्तमान सङ्कटको घडीलाई नियन्त्रणमा लिन खोजिरहेको नेपाली सेनाले पनि यस्तो कुनै सूचना बाहिर ल्याएको छैन ।
सोमबारदेखि चर्किएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेतृत्व लिनुपर्ने र उनी नै प्रधानमन्त्री बन्नुपर्ने भन्ने आवाज उठिरहेको छ । यही सन्दर्भमा पुरानो क्लिप राखेर बालेन प्रधानमन्त्रीमा नियुक्त भइ शपथ पनि लिइसकेको भन्दै रिचको लोभमा मिथ्या सूचना फैलाएको पुष्टि हुन्छ ।
दाबी
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् र उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
दाबीकर्ता
शंखक क्षेत्री, 'रोहतक दृश्य' नामक फेसबुक पेज, दीपक लक्ष्मी, पुष्कर बोहोरा, लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ बालेनले प्रधानमन्त्रीको शपथ लिएको नभई तीन वर्ष पुरानो हो । यो भिडिओ उनले २० मे २०२२ मा काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि शपथ ग्रहण गर्दाको हो । भाइरल भिडिओको पृष्ठभूमिमा ‘नेपाल सम्वत् ११४२’ लेखिएको देखिन्छ, जुन तीन वर्ष अघिको मिति हो (हाल नेपाल सम्वत् ११४५ चलिरहेको छ) । बालेन शाह प्रधानमन्त्री नियुक्त भएको वा शपथ लिएको बारे कुनै पनि आधिकारिक सञ्चार माध्यम वा उनको आफ्नै सामाजिक सञ्जालमा कतै उल्लेख छैन । हाल चलिरहेको जेन-जी आन्दोलनको सन्दर्भमा बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यसैलाई आधार बनाएर पुरानो भिडिओ प्रयोग गरिएको हो ।
निष्कर्ष
बालेन शाह प्रधानमन्त्री नियुक्त भएको दाबी पूर्ण रूपमा मिथ्या हो । तीन वर्ष पुरानो भिडिओलाई हालको घटना भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो । हालको राजनीतिक परिस्थितिसँग जोडेर सामाजिक सञ्जालमा ‘रिच’ (reach) बढाउने लोभमा हुँदै नभएको विषयमा मिथ्या सूचना फैलाइएको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ ११:३६
