अन्तरिम नेतृत्वका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गर्ने सम्भावना उच्च
भदौ २५, २०८२ १६:५७
काठमाडौँ । देशव्यापी रूपमा ‘जेन-जी’ पुस्ताले सोमबार र मङ्गलबार गरेको आन्दोलनपश्चात् केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । सरकारको पतनसँगै देशमा राजनीतिक तथा नेतृत्वको गम्भीर सङ्कट उत्पन्न भएको छ । यही नेतृत्व विहीनताको अवस्थालाई सम्बोधन गर्न र भावी बाटो तय गर्न युवाहरूले डिजिटल प्लेटफर्म डिस्कर्डमा सक्रिय भएर छलफल थालेका छन् ।
बुधबार दिउसो १२ बजेदेखि ‘Youth Against Corruption’ नामक डिस्कर्ड च्यानलमा युवाहरूबिच सघन छलफल जारी छ । छलफलमा युवा अभियन्ता सागर ढकालले देशलाई निकास दिन पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि अगाडि सार्नुपर्ने प्रस्ताव राखेका छन् । छलफलमा आफ्नो धारणा राख्दै अभियन्ता ढकालले भने, “अहिले देशमा एउटा ठूलो राजनीतिक शून्यता (भ्याकुम) छ । यो अवस्थामा ‘जेन-जी’ आन्दोलनलाई एकताबद्ध गर्न र वैधानिक प्रतिनिधित्व दिन एक जना फोकल व्यक्तिको आवश्यकता छ ।”
उनले आन्दोलनकारी युवालाई एजेन्डा बनाउन र छलफललाई निरन्तरता दिन आग्रह गर्दै आफू समन्वय र सल्लाह-सुझावका लागि सधैँ उपलब्ध रहने बताए । ढकालले छोटो अवधिका लागि विशेषगरी चुनाव गराउने प्रयोजनका लागि, कार्की उपयुक्त पात्र हुन सक्ने तर्क गरे ।
“उहाँ जस्तो निष्पक्ष र सम्मानित व्यक्तिलाई दुई महिना जतिको अन्तरिम अवधिका लागि नेतृत्वमा ल्याउन सकियो भने सबैलाई जोड्न सहज हुन्छ,” उनले भने । यस प्रस्तावलाई देशभरबाट अनुमोदन गराउन एक राष्ट्रिय पिटिसन (अनुरोधपत्र) सुरु गर्नुपर्ने ढकालको सुझाव छ । उनका अनुसार डिस्कर्ड च्यानलमा गरिएको एक सर्वेक्षणमा ९२ प्रतिशत सहभागीले कार्कीको नामप्रति समर्थन जनाएका थिए । “सबै जनताले देशको लागि एक पटक निकास दिनुहोस् भनेर अनुरोध गरेपछि सायद उहाँले नाइँ भन्नुहुन्न होला,” ढकालले विश्वास व्यक्त गरे ।
एक जना निश्चित र सबैलाई स्वीकार्य ‘फोकल पर्सन’ हुँदा आन्दोलनका एजेन्डाहरूलाई स्थापित गर्न, विभिन्न समूहबिच समन्वय गर्न र राज्यका अन्य निकायहरूसँग संवाद गर्नसमेत सहज हुने उनको विश्लेषण छ । ढकालले युवा पुस्ताको यो क्रान्ति खेर जान दिन नहुने भन्दै अबको ३० वर्षभित्र देशमा कायापलट गर्ने जिम्मेवारी जेन-वाई र जेन-जी पुस्ताको काँधमा आएको बताए । छलफलमा सहभागी युवाहरूले ढकालको प्रस्तावमाथि थप विमर्श गरिरहेका छन् र आगामी कदमबारे योजना बनाउँदैछन् ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १६:५७
