close

जेन-जी आन्दोलनमा घुसपैठ भएको प्रचण्डको दाबी, बर्बर दमन र आगजनीको न्यायिक छानबिन गर्न माग

टेकपाना टेकपाना

भदौ २६, २०८२ १०:३१

जेन-जी आन्दोलनमा घुसपैठ भएको प्रचण्डको दाबी, बर्बर दमन र आगजनीको न्यायिक छानबिन गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भएको ‘जेन-जी’ पुस्ताको आन्दोलनमा अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको दाबी गर्दै तोडफोड, लुटपाट र आगजनी जस्ता घटनामा आन्दोलनकारी युवाहरूको संलग्नता नरहेको बताएका छन् । बिहीबार एक अपिल जारी गर्दै उनले आन्दोलनमा भएको ‘बर्बर दमन र नरसंहार’को निन्दा गर्दै सम्पूर्ण घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेका हुन् ।

आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आन्दोलनको दोस्रो दिन भएका हिंसात्मक घटनाहरू जेन-जी पुस्ताको आदर्शअनुरूप नभएको ठहर गरेका छन् । “व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबारलगायत दर्जनौँ सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जेन-जी आन्दोलनकारीबाट भएका होइनन्,” प्रचण्डको अपिलमा भनिएको छ, “हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्दछौँ ।”

अध्यक्ष प्रचण्डले जेन-जी पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री बन्न नपाउने र उच्चपदस्थको सम्पत्ति छानबिन जस्ता मुद्दा आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको दाबी गरेका छन् । “आज जेन-जी पुस्ताले समेत यिनै मूलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो,” उनले भने, “आन्दोलनको घोषणापछि हामीले त्यसको समर्थन गर्दै बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेका थियौँ ।”

उनले आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत घुसपैठ गर्ने तत्त्वहरूले नै सिंहदरबारजस्ता ऐतिहासिक धरोहरमा आगजनी गराएको र त्यसलाई इतिहासकै नकारात्मक घटनाको संज्ञा दिएका छन् । उनले प्रश्न गरे, “जेन-जी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला हाम्रो पार्टी कार्यालय र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो? यसबारे गम्भीर रूपमा सोच्नै पर्छ ।”

आफ्नो विगतको ‘जनयुद्ध’लाई स्मरण गर्दै प्रचण्डले तत्कालीन सत्ताले जनताका कुरा नसुन्दा त्यो प्रतिरोध आवश्यक भएको बताए । “जनताको बलिदानीपूर्ण सङ्घर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौँ र सिंहदरबारको अधिकार गाउँसम्म पुर्‍यायौँ,” उनले भनेका छन् ।

संविधान कार्यान्वयनमा आफूहरूबाट समेत कमजोरी भएको स्वीकार गर्दै उनले संविधान निर्माणकै क्रममा प्रत्यक्ष कार्यकारी प्रणाली र विभिन्न समुदायका थप अधिकारका पक्षमा आफूहरूले फरक मत राखेको स्मरण गराए । उनले भने, “हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी संविधान कार्यान्वयनमा काँग्रेस र एमाले परम्पराभन्दा माथि उठ्न नसक्दा जनतामा आक्रोश चुलियो, जुन आज जेन-जी पुस्ताले उठाएको छ ।”

प्रचण्डले आन्दोलनका एजेन्डाले उन्नत लोकतन्त्रको माग गरेको बताउँदै तोडफोड र विध्वंसमार्फत प्रतिगामी तत्त्वहरूले उपलब्धि उल्ट्याउने प्रयास गरेको आरोप लगाए । “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो,” उनले भने, “जेन-जी पुस्ताका मागहरू संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रैबाट पूरा हुन सक्छन् ।”

उनले धमिलो पानीमा माछा मार्ने प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन सम्पूर्ण शान्ति, संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई अपिल गरेका छन् । साथै उनले आफ्नो पार्टी पङ्क्तिलाई जनताको जिउधन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि तम्तयार रहन निर्देशन पनि दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १०:३१