सीमित कर्मचारीबाट भए पनि अत्यावश्यक भुक्तानी र बैँकिङ प्रणाली सञ्चालनमा ल्याइने
भदौ २६, २०८२ ११:१९
काठमाडौँ । सोमबारदेखि सुरु भएको जेन जी आन्दोलनका क्रममा अवरुद्ध बैँकिङ तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य पुनः सञ्चालनमा आउने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैँकले सम्पूर्ण बैँक, विकास बैँक ,वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो ।
केन्द्रीय बैँकले रक्षा मन्त्रालय, नेपाली सेनाको समन्वयमा सेवा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ । सूचना अनुसार नेपाली सेनाको निषेधाज्ञा र कर्फ्यु आदेश तथा खुकुलो पारिएको समयलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्ना संवेदनशील बैँकिङ तथा भुक्तानी प्रणाली सञ्चालनमा ल्याउनु पर्नेछ ।
सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा नियमित गर्न र अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । यसका साथै बैँक तथा वित्तीय संस्थाले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी सूचना आफ्नो वेबसाइट तथ सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ ।
पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ११:२७
