फ्याक्टचेकः केपी ओली सरकार ढल्ने रअ एजेन्ट बिष्टको भविष्यवाणी हालको नभई ९ महिना पुरानो
भदौ २७, २०८२ १३:४९
काठमाडौँ । पछिल्ला केही दिनदेखि भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्की बिष्टले केपी शर्मा ओलीको सत्ता ढल्ने भविष्यवाणी गरेको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा उनले ‘अबको २०-२५ दिन वा एक महिनाभित्र नेपालको सरकार ढल्छ’ भनेका छन् ।
यो भिडिओलाई अगस्ट २०२५ को अन्तर्वार्ता भएको र उनको भविष्यवाणी मिलेको दाबीसहित फैलाइएको छ । तर, टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँचबाट उक्त अन्तर्वार्ता नौ महिना पुरानो रहेको खुलेको छ । यद्यपि, उनले नेपालको सत्ता ढल्ने भविष्यवाणी गरेको कुरा भने साँचो हो ।
८ र ९ सेप्टेम्बरमा भएको ‘जेन जी’ प्रदर्शनका क्रममा नेपालमा ठुलो जनधनको क्षति भयो । प्रदर्शनको पहिलो दिन प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १९ जना प्रदर्शनकारीको मृत्यु भयो । त्यसपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिए ।
त्यसको भोलिपल्ट अर्थात् ९ सेप्टेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनरत युवालाई वार्तामा आउन आग्रह गरे । तर, युवाहरू वार्तामा नआई पुनः आन्दोलनमा होमिए । सोही दिन राजनीतिज्ञका निजी भवन, राजनीतिक दलका पार्टी कार्यालय, संसद् भवन, सिंहदरबार, सरकारी कार्यालय (विशेषगरी प्रहरी कार्यालय) तथा विभिन्न विभागहरू ध्वस्त पारिए । यसैबिच प्रधानमन्त्री ओलीले पनि राजीनामा दिए ।
दाबी
जेन-जी आन्दोलन सुरु भएको दुई दिनमै केपी शर्मा ओलीको सरकार ढल्यो । यही सन्दर्भमा एउटा भिडिओ भाइरल बनेको छ । एक भारतीय इन्स्टाग्राम प्रयोगकर्ताले ५३ सेकेन्डको भिडिओ अपलोड गर्दै क्याप्सनमा लेखेका छन्, “हाम्रा छिमेकी देशहरू-श्रीलङ्का, बंगलादेश र अहिले नेपालमा देखिएको अस्थिरतापछि एउटा कुरा स्पष्ट छ: निर्णायक नेतृत्वका कारण भारत बलियो भएर उभिएको छ । भगवानलाई धन्यवाद, हामीले मोदीको नेतृत्वमा रहेको एउटा बलियो सरकारलाई भोट दियौँ, जसले हामीलाई निराश पार्नेछैन ।’
उक्त भिडिओमा आफूलाई भारतीय ‘रअ’ को पूर्व एजेन्ट दाबी गर्ने लक्की बिष्टको भनाइ छ । उनी भन्छन्, “हेर्नुहोस्, आज म यो कुरा भनिरहेको छु, सायद आज १२ तारिख हो, कति हो सर ? आज १२ तारिख हो है ? म तपाईँलाई भन्दैछु, तपाईँलाई एउटा झट्का लाग्नेछ । अबको केही दिनमा तपाईँले एउटा समाचार सुन्नुहुनेछ- नेपालको सरकार ढल्न लागेको छ ।”
उनी अगाडि भन्छन्, “त्यतिबेला सायद म यहाँबाट गइसकेको हुनेछु । तर तपाईँलाई मेरो यो कुराले चकित पार्नेछ र याद आउनेछ कि लक्की बिष्टले के भनेर गएको थियो । यो कुरा नोट गर्नुहोस्, अब छिट्टै, १०-१५ दिनभित्रै खबर आउँदैछ कि दुई महिनाअघि मात्र बनेको नेपालको सरकार फेरि ढल्दैछ ।”
“यसको पछाडि को छ सर ?,” लक्की बिष्ट प्रश्न तेर्साउँछन् ।
पत्रकार जवाफ दिन्छन्, “एजेन्सी ?”
लक्की भन्छन्, “मैले तपाईँलाई के भनेको थिएँ ?”
त्यसपछि पत्रकार भन्छन्, “र यो ठुलो अचम्मको कुरा हो कि नेपालमा जति सर्वसाधारण छैनन्, त्योभन्दा बढी एजेन्सीका मानिसहरू छन् । उनीहरू २०-२० लाख रुपैयाँको मोटरसाइकलमा घुमिरहेका छन् ।”
लक्की भन्छन्, “म १२ तारिखमा यो कुरा भन्दैछु । यो कुरा अहिलेसम्म संसारको कुनै पनि पत्रिकामा आएको छैन । तपाईँ संसारको कुनै पनि पत्रिका पल्टाएर हेर्नुहोस् । तर म आज यहाँ तपाईँलाई भन्दैछु कि अबको १५, २०, २५ दिन वा एक महिनाभित्र नेपालको सरकार ढल्दैछ ।”
यही ५३ सेकेन्डको भिडिओ अहिले नेपाल र भारतमा भाइरल भइरहेको हो । (ओरिजिनल पोस्ट र आर्काइभ पोस्ट हेर्नुहोस्)
अनुसन्धान
यो भिडिओ भाइरल भएपछि टेकपाना फ्याक्टचेकले यसको तथ्य-जाँच सुरु गर्यो । सो क्रममा भिडिओमा ‘नवभारत टाइम्स’ (NBT) को लोगो देखियो । युट्युबमा ‘लक्की बिष्ट’ नाम खोजी गर्दा सोही भिडिओको एउटा छोटो क्लिप ‘नवभारत टाइम्स’ नामक च्यानलमा बिहीबार अपलोड भएको भेटियो । उक्त क्लिपको शीर्षक थियो, “Lucky Bisht on Nepal: NBT से लकी बिष्ट के Viral Interview का पूरा सच जानिए ।”
भिडिओमा मिति १३ डिसेम्बर २०२४ लेखिएको छ र यसको लम्बाई दुई मिनेट १९ सेकेन्डको छ । भिडिओमा “नवभारत टाइम्स का वीडियो भयंकर वायरल” भन्ने टेक्स्ट पनि राखिएको छ ।
हामीले यसको आधिकारिक स्रोत खोज्दा ‘नवभारत टाइम्स’ को युट्युब च्यानलमा नौ महिना पुरानो एउटा अन्तर्वार्ता भेट्टायौँ, जसको शीर्षक थियो, “Lucky Bisht Interview: Pakistan, China से ज्यादा Nepal है खतरा | Nepal protests | PM Oli Resigns”।
१३ डिसेम्बर २०२४ मा अपलोड भएको एक घण्टा ७ मिनेट ११ सेकेन्ड लामो उक्त अन्तर्वार्ताको ५५ औँ मिनेटदेखि लक्की बिष्टले दक्षिण एसियाका देशहरूको राजनीतिक अस्थिरताबारे चर्चा गरेको सुन्न सकिन्छ ।
भिडिओको ५८ मिनेट ३० सेकेन्डमा पत्रकारले उनलाई भारतका लागि सबैभन्दा चुनौतीपूर्ण छिमेकी राष्ट्र कुन हो भनेर प्रश्न गर्छन् । जवाफमा बिष्टले चीन र पाकिस्तान खतरा भएको बताउँछन् । त्यसपछि भिडिओमा ट्रान्जिसन देखिन्छ र लगत्तै उनले नेपाल सरकार बढीमा एक महिनामा ढल्ने दाबी गर्छन् ।
‘नवभारत टाइम्स’का अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएपछिको नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर उक्त टेलिभिजनले आफ्नो पुरानो अन्तर्वार्ताको क्लिप पुनः सामाजिक सञ्जालमा राखेको थियो । तर, यही क्लिपका आधारमा भारतका अन्य सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले बिष्टले हालसालै ओली सरकार ढल्ने भविष्यवाणी गरेको भन्दै गलत दाबी गरे, जसले गर्दा भ्रम फैलियो । यही भ्रमलाई चिर्न नवभारत टाइम्सले अर्को भिडिओमार्फत स्पष्टीकरण दिएको छ । हेर्नुहोस् भिडिओ ।
भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व एजेन्ट भनिएका लक्की बिष्टको नाम नेपालका विभिन्न ठुला प्रकरणसँग जोडिने गरेको छ । सोही पुरानो अन्तर्वार्तामा उनले राखेको धारणालाई नौ महिनापछि हालको राजनीतिक परिस्थितिसँग जोडेर भ्रामक रूपमा भाइरल बनाइएको देखिन्छ ।
दाबी
भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व एजेन्ट लक्की बिष्टले हालसालै (अगस्ट २०२५ मा) केपी शर्मा ओलीको सरकार ढल्ने भविष्यवाणी गरेका थिए र उनको त्यो भविष्यवाणी सत्य साबित भयो ।
दाबीकर्ता
‘यसपाल जुडो इन्डिया’ नामका भारतीय इन्स्टाग्राम प्रयोगकर्ता, भारतका अन्य केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।
तथ्य
लक्की बिष्टले नेपालको सरकार ढल्ने भविष्यवाणी गरेको कुरा साँचो हो, तर त्यो भर्खरै गरिएको भविष्यवाणी होइन । भाइरल भएको भिडिओ अन्तर्वार्ताको अंश हालको नभई नौ महिना पुरानो हो, जुन ‘नवभारत टाइम्स’ को युट्युब च्यानलमा अपलोड गरिएको थियो । ‘नवभारत टाइम्स'ले नै आफ्नो पुरानो अन्तर्वार्ताको एउटा अंशलाई हालैको राजनीतिक घटनाक्रमसँग जोडेर पुनः प्रकाशन गरेको थियो, जसलाई अन्य प्रयोगकर्ताले नयाँ भविष्यवाणी भन्दै फैलाएका हुन् ।
निष्कर्ष
यो दाबी भ्रामक छ । लक्की बिष्टको नौ महिना पुरानो अन्तर्वार्ताको भिडिओलाई हालैको राजनीतिक घटनाक्रमसँग जोडेर उनले हालै भविष्यवाणी गरेको र त्यो मिलेको भनेर गलत रूपमा प्रचार गरिएको हो । पुरानो भनाइलाई नयाँ सन्दर्भमा प्रस्तुत गरी भ्रम फैलाइएको छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य-जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य-जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १३:४९
