आपराधिक गतिविधि देखिए टोल फ्री नम्बर १११४ मा फोन गर्न सशस्त्र प्रहरी बलको अनुरोध
भदौ २७, २०८२ १५:२८
एआईबाट बनाइएको तस्बिर
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि भएको देखेमा वा शंका लागेमा तत्काल सूचना दिन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै बलले त्यस्ता गतिविधि देखिएमा आफ्नो टोल फ्री नम्बर १११४ मा फोन गरेर सहयोग गर्न आग्रह गरेको हो ।
हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाँदा केही व्यक्ति वा समूहले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन र भ्रामक प्रचारप्रसार गरिरहेको बलको भनाइ छ । यस्तो परिस्थितिको अनुचित फाइदा उठाउँदै सीमा अपराध, लुटपाट, आगजनी जस्ता आपराधिक कार्यमा संलग्न हुन सक्ने भएकाले त्यस्ता व्यक्ति वा गतिविधिबारे तुरुन्त जानकारी गराउन बलले अनुरोध गरेको छ ।
सशस्त्र प्रहरी बलले राज्यले सुम्पेको मुख्य जिम्मेवारी सीमा सुरक्षामा केन्द्रित रहेको र अन्तर्राष्ट्रिय सीमामा खटिएका सुरक्षाकर्मीहरू अन्य निकायसँगको समन्वयमा सीमा अपराध, घुसपैठ तथा अतिक्रमण नियन्त्रण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १५:२९
