सांकेतिक तस्बिर
काठमाडौँ । जेन-जी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थिति र सुरक्षा संयन्त्रको व्यस्तताको फाइदा उठाउँदै अनलाइन ठगको गिरोह फेसबुकमार्फत नेपाली नागरिकलाई आर्थिक रूपमा ठगी गर्न सक्रिय भएको पाइएको छ । प्रहरी कार्यालयहरूमा भएको क्षति र अस्तव्यस्तताका कारण तत्काल उजुरी दर्ता, खाता रोक्का वा आरोपितलाई पक्रने अवस्था नभएको मौका छोपी ठगहरूले 'लक्की ड्र' वा चिठ्ठाको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरिरहेका छन् ।
पछिल्लो समय फेसबुक लाइभ भिडिओमार्फत 'लक्की ड्र' वा चिठ्ठा परेको भन्दै ठगी भइरहेको छ । सुरुमा प्रयोगकर्तालाई बेवास्ता गरे पनि बारम्बार त्यस्ता भिडिओ देखाएर लोभमा पारिन्छ । आकर्षक पुरस्कार जित्न सकिने भन्दै प्रयोगकर्तालाई कार्ड खरिदका लागि सानो रकम (सामान्यतया १० प्रतिशत शुल्क) तिर्न लगाइन्छ ।
एकपटक रकम पठाएपछि लाइभ भिडिओमा नक्कली स्क्र्याच कार्ड कोरिएको नाटक गरी प्रयोगकर्ताले लाखौंको पुरस्कार जितेको घोषणा गरिन्छ । तर, उक्त जितेको रकम पाउनका लागि पीडितलाई थप शुल्कको पासोमा पारिन्छ ।
रकम दाबी गर्न 'कर' वा 'प्रोसेसिङ शुल्क' बापत जितेको कुल रकमको केही प्रतिशत अग्रिम बुझाउन दबाब दिइन्छ । यदि पीडितले शुल्क तिर्न अस्वीकार गरेमा ठगहरूले पुरस्कार दाबीका लागि चीनजस्ता असम्भव अन्तर्राष्ट्रिय गन्तव्यमा रहेको कार्यालयमा आउन भन्दै पीडितलाई हतोत्साहित पार्छन् ।
यी ठगहरूले ठगिएको रकम संकलन गर्न गाउँका सोझा नागरिकलाई केही लोभ देखाई भाडामा लिएका बैंक खाता तथा मोबाइल बैंकिङ क्यूआर कोड प्रयोग गर्छन् । यसले गर्दा ठगको पहिचान गर्न र उनीहरूलाई कानुनी दायरामा ल्याउन जटिलता थपिएको छ ।
प्रहरी कार्यालयहरू नै अस्तव्यस्त भएको यस विषम परिस्थितिको फाइदा उठाएर संगठित अनलाइन गिरोहले नेपाली नागरिकलाई आर्थिक रूपमा ठगी गरिरहेको छ । प्रहरीले यस्ता घटनामा तत्काल कारबाही अगाडि बढाउन नसक्दा पीडितहरू थप समस्यामा परेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १७:५७
