आगजनी, तोडफोड र लुटपाट गर्नेलाई समात्न सामाजिक सञ्जाल र सीसीटीभी फुटेज मुख्य आधार
भदौ २९, २०८२ ९:१५
काठमाडौँ । २३ र २४ भदौमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जेनजी विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट, तोडफोड र अन्य अप्रिय घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरी लागिपरेको छ । यसका लागि प्रहरीले आम नागरिकसँग सबुत प्रमाण उपलब्ध गराउन अनुरोध गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनले एक्कासि हिंसात्मक मोड लिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भौतिक संरचनादेखि शीर्ष नेताका निवास र प्रदेश, जिल्ला र पालिकाका विभिन्न कार्यालयसम्म क्षति पुर्याइएको छ ।
आन्दोलनका क्रममा भएका अप्रिय घटना र यस सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए तपाईँले [email protected] मा पठाएर सहयोग गर्न सक्नुहुन्छ । सूचनामा जानकारी दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा कायम राखिने प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले सुरक्षा निकायका कार्यालयमा समेत आगलागी र तोडफोड गरी हतियार, सञ्चार साधन र अन्य भौतिक साधन लुटपाट गरेका थिए । प्रहरीले यसरी नियन्त्रणमा लिइएका वा फेला परेका सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायका कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १०० को वा टोलफ्री नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता गर्न सकिने पनि जनाएको छ । यसका साथै, प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोसाकको दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनासमेत उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
देशमा अन्तरिम सरकार बनेसँगै अहिले सामाजिक सञ्जालमा आन्दोलनका घटनासँग सम्बन्धित थुप्रै तस्बिर र भिडिओहरू भाइरल भइरहेका छन् । प्रहरीले यी भिडिओ तथा फोटोहरूका साथै सीसीटीभी फुटेजको आधारमा तोडफोड, लुटपाट र आगजनी जस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्ने तयारी गरेको छ ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा आयोजित राजावादी आन्दोलनका क्रममा भएका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सामाजिक सञ्जाल तथा स्मार्टफोनले महत्त्वपूर्ण भूमिका खेलेको थियो । यसपटक पनि सोही मोडल अपनाइने भएको छ ।
आन्दोलनको फाइदा उठाउँदै विभिन्न अवाञ्छित व्यक्ति र समूहले सरकारी तथा सार्वजनिक कार्यालयहरू र व्यक्तिका घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री फिर्ता गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले समेत सार्वजनिक सूचना जारी गरिरहेका छन् ।
कतिपय प्रशासन कार्यालयले तोडफोड, आगजनी गरी खाद्यान्न, जिन्सी, नगदलगायतका सामग्री चोरी तथा लुटपाट गरिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर, भिडिओ र सीसीटीभी फुटेजमार्फत ती घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको र पक्राउ परिरहेको जनाएका छन् । अर्कोतर्फ भाटभटेनी लगायत कतिपय व्यावसायिक प्रतिष्ठानले समेत लुटपाट गरिएका सामान फिर्ता गर्न आग्रह गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ ९:४१
