जेन-जी आन्दोलनका क्रममा बनाइएको ह्यारिको चर्चित भ्लगमा अरूले क्लेम गरेपछि युट्युबबाट गायब
भदौ ३०, २०८२ ११:२६
काठमाडौँ । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा आगजनी र आन्दोलनको दृश्य खिचेर चर्चामा आएका ब्रिटिश ट्राभल भ्लगर ह्यारि ज्याक्सनको भिडिओ युट्युबबाट गायब भएको छ । ‘द साइट अफ नेपाल द मिडिया वन्ट शो यु’ शीर्षकको उक्त भिडिओलाई अन्य प्रयोगकर्ताले आफ्नो भन्दै कपीराइट क्लेम गरेपछि युट्युबले हटाएको हो ।
ह्यारीले आइतबार आफ्नो युट्युब च्यानल 'वि हेट द कोल्ड' मा सरकार ढलेपछिको जिन्दगी अर्थात् लाइफ आफ्टर द गभर्मेन्ट कोल्याप्स (द आफ्टरम्याथ) शीर्षकमा भ्लग राख्दै पुरानो भिडिओ हटाइएको जानकारी दिएका हुन् । भिडिओ हट्नुलाई उनले इतिहास लुकाउने प्रयास भएको बताएका छन् ।
उनले लेखेका छन्, "भिडिओमा कुनै सङ्गीत राखिएको थिएन र सबै ओरिजिनल कन्टेन्ट थिए । फेसबुकमा भिडिओ अहिले पनि छ । फेसबुक पेज 'वि हेट द कोल्ड' मा भिडिओ हेरेर संसारभर पुर्याउन मद्दत गर्न सक्नुहुन्छ । म भिडिओलाई फिर्ता ल्याउन प्रयासरत छु । दुई दिन वा त्यो भन्दा बढी समय लाग्न सक्छ । यो स्पष्ट रूपमा इतिहास लुकाउने प्रयास र पूर्णतः गलत आरोप हो ! म यसलाई फेरि अनलाइन ल्याउन कडा मेहेनत गर्दैछु ।"
ह्यारीले सामान्यतया मोटरसाइकलमा यात्रा गरेका भ्लगहरू बनाउँछन् । उनी जेन-जी आन्दोलनका कारण भारतबाट नेपाल हुँदै दुबई जाने क्रममा काठमाडौँमा फसेका थिए । उनले सो समयमा उनले संसद् भवनमा २४ भदौमा भएको आन्दोलनको २३ मिनेट ९ सेकेन्ड लामो भिडिओ बनाएर युट्युबमा राखेका थिए । भिडिओमा बानेश्वरमा गत मङ्गलबार भएको आन्दोलनका साथै युवाहरूले मनाइरहेको खुसीलाई एउटा विदेशी पर्यटकको नजरबाट देख्न सकिन्छ ।
उक्त भिडिओ पत्रकारहरूले खिच्ने भन्दा धेरै राम्रो भएको र जेनजी आन्दोलनको एउटा दस्ताबेज भएको भन्दै दर्शकहरूले ह्यारिको तारिफ गरेका थिए । भिडिओले पाँच दिनमा दुई करोडभन्दा धेरै भ्युज पाइसकेको थियो भने अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुलिरहेको थियो । तर हाल उक्त भिडिओ गायब भएपछि दर्शकहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
अपडेटः अहिले उक्त भिडिओ युट्युबमा फिर्ता आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १४:४
