close

टेकपाना फ्याक्टचेक: महेश बस्नेतले भनेजस्तो तोडफोड भएको छैन बालेन शाहको घर, के हो वास्तविकता?

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

असोज २, २०८२ १२:४५

टेकपाना फ्याक्टचेक: महेश बस्नेतले भनेजस्तो तोडफोड भएको छैन बालेन शाहको घर, के हो वास्तविकता?

 

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत लगायतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को महोत्तरीस्थित पुर्ख्यौली घर तोडफोड भएको भन्दै फेसबुकममा एक भिडिओ क्लिप राखेका छन् । तर, टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँचका क्रममा उक्त घर मेयर साहको नभएको पुष्टि भएको छ । 

सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडिओमा तोडफोड भइरहेको घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको खुलेको छ । जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शन हिंस्रक बन्दा २४ भदौमा उक्त घरमाथि पनि तोडफोड गरिएको थियो । 

 

दाबी

१८ सेप्टेम्बर २०२५ को बिहान ६:०९ बजे एमाले नेता महेश बस्नेतले ‘महोत्तरीमा बालेन शाहको घरमा तोडफोड भएछ्। राजनीतिक स्वार्थका नाममा हिंसा आगजनी र तोडफोडलाई वैधानिकताको खतरनाक निरन्तरता हो। बालेनजी र उहाँहरु जस्तै साथीहरुले उस्काएर सुरु भएको यो प्रवृत्ति बढ्दै गयो भने देश दीर्घकालीन द्वन्द्वतिर धकेलिने खतरा छ। Genz आन्दोलनमा क्षति भएका हजारौं पीडितहरूले बदलाको भावना बोके भने त्यसले हाम्रो समाजलाई झन् विभाजित बनाउनेछ। त्यसैले बदलाभन्दा कानूनी कारबाही र न्यायको बाटो अपनाउनै पर्छ। Genz को हजुरआमा प्रधानमन्त्री सुशिला कार्कीज्यूसँग म माग गर्दछु।’ भन्दै गरेको पोस्ट भाइरल भयो । 

यो सामग्री तयार पार्दासम्म त्यो पोस्टमा ५४ सय रियाक्सन, २१ सय कमेन्ट र चार लाख ६८ हजार भ्युज आइसकेको थियो ।

हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:

 

अनुसन्धान

टेकपाना तथ्य-जाँच डेस्कले यो दाबीको विषयमा अनुसन्धान गर्दा भिडिओमा आक्रोशित भीडले ढुङ्गमुडा गरिरहेको घर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नभएको पुष्टि भएको छ । एमाले नेता महेश बस्नेतको आधिकारिक फेसबुक पेजमा उक्त भिडिओसहितको पोस्ट भेटिएपछि फेसबुक, टिकटकसहितका सामाजिक सञ्जालहरूमा हामीले मिल्दाजुल्दा अनेकौँ ‘किवर्ड’ राखेर खोज्यौँ । 

त्यसपछि मिलिजुली खबर नामक फेसबुक पेजबाट १८ सेप्टेम्बर २०२५ को बिहान ७:३२ बजे ‘बालेन शाहको घर, महोत्तरी’ भन्दै भिडिओ हालिएको छ । भिडिओ भित्रै बालेन शाहको घरमा तोडफोड लेखिएको छ । 

यो सामग्री तयार पार्दासम्म त्यो पोस्टमा १२ हजारभन्दा बढी भ्युज आइसकेको थियो ।   

हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:

 

त्यसैगरी, अर्का फेसबुक प्रयोगकर्ता सुजीत कुमार रजकले 'महोत्तरीको एकडारामा रहेको बालेन साहको घरमा एमाले तथा कङ्ग्रेसको कार्यकर्ताद्वारा तोडफोड । मधेसी कहिले नसुधि्रिने भए । थुक्क।' क्याप्सन लेख्दै सोही भिडिओ पोस्ट गरेका छन् । १७ सेप्टेम्बर २०२५ को दिउँसो ३:०४ बजे उक्त पोस्ट हालिएको छ । यो सामग्री तयार पार्दासम्म त्यो पोस्टमा २१ हजार भ्युज आइसकेको थियो ।   

हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:

 

 

यही क्रममा केही फेसबुक प्रयोगकर्ताहरूले उक्त घर बालेन साहको नभई सर्लाहीको ब्रम्हपुरीका राम चरित्र शाह, राम वरण शाहको रहेको भन्दै भिडिओ शेयर गरेका छन् । भिडिओ हेर्दा उक्त घरको अघिल्लो भागमा ‘श्री राम चरित्र साह’ र ‘श्री राम वरण साह’ लेखिएको देखिन्छ । हेर्नुहोस् तल तस्वीरमा :

 

 

 

त्यसै क्रममा हामीले टिकटकमा एक साता अघि ‘riteshshah90’ नामक आईडीबाट ‘#GenZ_पुस्ता_को_बिद्रोह ब्रम्हपुरी गाउँपालिकाका अध्यक्षलाई राजीनामा माग्दै जाँदा ,गाउँ नै छोडेर गा .पा अध्यक्ष परिवार सहित भाग्दा Gen-Z पुस्ताले अध्यक्षको घर तोड फोड गरेका छन्।अब गाउँ बिगार्ने होइन, भ्रष्टाचार गर्नेहरूलाई बिगार्ने समय आएको छ। #genz_पुस्ता #हाम्रो_युवा #ब्रह्मपुरी’ क्याप्सनसहित भिडिओ पोस्ट गरेको फेला पार्‍यौँ । 

हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:

त्यसपछि हामीले घटनाबारे थप पुष्टि गर्न बालेनको पुर्ख्यौली घर रहेको स्थानीय तहका अधिकारीसँग सम्पर्क गर्‍यौँ । बालेनको पुर्ख्यौली घरमै महोत्तरीको एकडारा गाउँ कार्यपालिकाको कार्यालय छ । उक्त कार्यालयका गुनासो सुनुवाइ अधिकारी शिवेन्द्र ठाकुरले काठमाडौँका मेयर बालेनको घर तोडफोड गरिएको भन्ने सामाजिक सञ्जालमा भइरहेको दाबी झुटो भएको पुष्टि गरे । 

“हो, हो मैले पनि देखिरहेको छु । त्यो एकदम फेक हो । काठमाडौँ महानगरपालिका मेयर साबको घरमै हाम्रो गाउँपालिकाको कार्यालय छ । म आफैँ अहिले यहीँबाट बोलिरहेको छु । केही भएको छैन । मेयर शाहको घर तोडफोड भयो भन्नु फेक हो,” ठाकुरले टेकपानासँग भने । 

जेन-जी आन्दोलनका क्रममा २४ भदौमा घर तोडफोड भएको भनिएका ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीसँग सम्पर्कको प्रयास पनि गर्‍यौँ । तर, उनको फोन नम्बर अस्थायी रूपमा 'आउट अफ सर्भिस' रहेको पाइयो । 

त्यसपछि सोही गाउँपालिकाको प्रशासन शाखामा कार्यरत रामाकान्त साहले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ गाउँपालिका अध्यक्ष राम पदारथ साह तेलीको रहेको पुष्टि गरे ।  “हो उक्त घर अध्यक्षज्यूकै हो । उहाँको घरमा तोडफोड भएको छ । भिडिओमा पनि सुन्न सक्नुहुन्छ अध्यक्षज्यूको नामै लिएर तोडफोड भइरहेको देखिन्छ । भिडिओमा देखिएका नामहरू श्री राम चरित्र साह र श्री राम वरण साह गाउँपालिका अध्यक्षको हजुरबुवा र बुबाको नाम हो,” साहले टेकपानासँग भने ।

 

दाबी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित घर तोडफोड भयो ।

 

दाबीकर्ता

महेश बस्नेत, मिलिजुली खबर, सुजीत कुमार रजकलगायतका फेसबुक अकाउन्ट तथा पेजहरू ।

 

तथ्य

२३-२४ भदौमा देशभर चर्किएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को महोत्तरीस्थित घर तोडफोड भएको दाबी गरिएको छ । यथार्थमा भने उक्त घर मेयर बालेनको नभई तोडफोड भएको घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको हो । उक्त घर जेन-जी आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए ।  

 

निष्कर्ष

विभिन्न फेसबुक पेजहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेनको महोत्तरीको घर तोडफोड भएको भन्दै फैलाएको भिडिओ भ्रामक रहेको टेकपाना फ्याक्टचेकबाट पुष्टि भएको छ । तोडफोड भएको उक्त घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको पुष्टि भएको हो । जसलाई बालेन शाहको घर भन्दै भ्रामक सूचना फैलाइएको पाइएको छ ।  

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०८२ १२:४५