close

सुधन गुरुङ एमालेमा प्रवेश गर्न खोजेको झुटो हो, महेश बस्नेतले भ्रम फैलाए: हामी नेपाल

टेकपाना टेकपाना

असोज ४, २०८२ १२:४६

सुधन गुरुङ एमालेमा प्रवेश गर्न खोजेको झुटो हो, महेश बस्नेतले भ्रम फैलाए: हामी नेपाल

काठमाडौँ । ‘हामी नेपाल’ संस्थाले एमाले नेता महेश बस्नेतले सुधन गुरुङ आफ्नो पार्टीमा प्रवेश गर्न खोजेको वा उनीसँग आबद्ध हुन वार्ता गरिरहेको भनी एक भिडिओमा गरेको दाबी पूर्ण रूपमा झुटो भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै संस्थाले बस्नेतले आफ्ना संयोजक गुरुङबारे भ्रम फैलाएको आरोप लगाएको हो ।

विज्ञप्तिमा सुधन गुरुङले महेश बस्नेतसँग कहिल्यै कुरा नगरेको र यस्ता कुनै पनि वार्तालाप नभएको तथा कहिल्यै नहुने लेखिएको छ । “यस्ता कुराकानी कहिल्यै भएका छैनन् र कहिल्यै हुनेछैनन्,” हामी नेपालले भनेको छ ।

हालै केही सञ्चारमाध्यमसँग बोल्दै एमाले नेता बस्नेतले जेनजीहरूका तर्फबाट अगुवाई गरिरहेका ‘हामी नेपाल’ का सुधन गुरुङ आफ्नो पार्टी प्रवेश गर्न खोजेको र यसका लागि कुराकानी भइरहेको दाबी गरेका थिए ।

तर बस्नेतलाई आफूहरूले नचिन्ने र सम्मान नगर्ने उक्त संस्थाले जनाएको छ । साथै बस्नेतलाई झुटो कुरा फैलाउन बन्द गर्न चेतावनी दिँदै राष्ट्र परिवर्तनका लागि एकजुट भइरहेका बेला उनका कार्यहरूले जनता र शहीदहरूको बलिदानलाई धोका दिने प्रयास गरेको आरोप लगाएको छ । 

संस्थाले सर्वसाधारणलाई यस्ता मनगढन्ते दाबीबाट भ्रमित नहुन, सचेत रहन र एकजुट हुन आह्वान गरेको छ । यो आन्दोलन भ्रष्ट राजनीतिको नभई जनताको भएको पनि जोड दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १२:५६