नाम फेर्दै चर्चित व्यक्तिहरूको आवरणमा भ्रामक फेसबुक पेज सक्रिय, झुक्किए हजारौं प्रयोगकर्ता
असोज ४, २०८२ १६:२४
काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालको नाममा नक्कली पेज सञ्चालनमा आएको पाइएको छ । ‘रामेश्वर खनाल फ्यान्स’ नाम राखेर एक पेजले अर्थमन्त्रीको नाम लिई विभिन्न सामग्री राखेको पाइएको हो ।
शनिबार उक्त पेजबाट ‘अर्थतन्त्र सुधारका लागि उपयुक्त सल्लाह दिनुहोला’ भन्दै पोस्ट राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १३ हजारभन्दा बढी रियाक्सन, ३६ सयभन्दा बढी कमेन्ट र ८१ पटक शेयर भएको छ ।
कमेन्ट र शेयर गर्ने अधिकांशले यो पेज वास्तवमै अर्थमन्त्री खनालले सञ्चालन गरिरहेको ठानेर आफूलाई लागेका सुझाव दिइरहेका छन् ।
सन् २०१४ देखि नै सञ्चालनमा रहेको यस पेजले जुन व्यक्ति वा पार्टी चर्चामा आउँछ, उसैको नाम राख्ने गरेको देखिन्छ । यस पेजको नाम हालसम्म पाँच पटक परिवर्तन भएको ‘पेज ट्रान्सपरेन्सी हिस्ट्री’मा देखिन्छ ।
सन् २०२३ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टी विदेशी युवा समर्थक’ राखिएको थियो भने पछि ‘राष्ट्रिय स्वतन्त्र पार्टी बौद्धिक समर्थक’ बनाइयो । त्यही वर्ष नाम फेरेर ‘रवि, बालेन, हर्क एकता अभियान’ राखियो । सन् २०२४ मा नाम फेरेर ‘सुमना श्रेष्ठ फ्यान्स’ राखियो भने सोही वर्ष ‘आशिका तामाङ फ्यान्स’ पनि बनाइयो ।
हालैको ‘जेनजी विद्रोह’पछि अन्तरिम सरकार गठन भएसँगै अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएपछि यस पेजले आफ्नो नाम फेरेर ‘रामेश्वर खनाल फ्यान्स’ राखेको छ ।
हुन त कसैको समर्थन गर्दै फ्यान्स अकाउन्ट खोल्नु नराम्रो होइन, तर पोस्ट राख्दा स्पष्ट रूपमा खुलाउनुपर्ने मान्यता छ । तर, यस पेजले नाममा ‘फ्यान्स’ राख्नेबाहेक कतै पनि यो फ्यान्स अकाउन्ट हो भन्ने खुलाएको छैन ।
अमेरिकाबाट एउटा अकाउन्टले सञ्चालन गरिरहेको यस पेजमा यसअघि आशिका तामाङको नाम राखेर विभिन्न पोस्ट राखिँदै आएको थियो । उदाहरणका लागि २३ अगस्टमा यस पेजमा ‘मलाई छोरी सम्झेर माया गर्ने सबै बुवाहरूमा नमन’ भन्दै पोस्ट राखिएको थियो ।
यसरी नाम फ्यान्स अकाउन्ट राखे पनि यस पेजबाट बारम्बार भड्काउपूर्ण अभिव्यक्तिहरू आइरहेको देखिन्छ ।
आशिका तामाङले कतै पनि आफू निर्वाचनमा उठ्ने विषयमा स्पष्ट रूपमा खुलाएकी थिइनन् । तर, यस अकाउन्टले भने आशिका तामाङको नाम राख्दै बारम्बार निर्वाचनमा उठ्ने योजना बनाएको जस्ता पोस्ट राख्दै आएको भेटिन्छ । यही पेजबाट चर्चामा रहेका व्यक्ति र राजनीतिक दलको आवरणमा भ्रामक सूचना फैलाउनुका साथै जनमानसलाई भड्काउने काम भइरहेको देखिन्छ ।
पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १६:३१
