close

गायिका एलिना र रचनालाई स्क्यामरको मेसेजः दिदी आन्दोलनपछि गरिबी लाग्यो, ५० हजार हाल्दिनु ल !

टेकपाना टेकपाना

असोज ५, २०८२ १२:३५

गायिका एलिना र रचनालाई स्क्यामरको मेसेजः दिदी आन्दोलनपछि गरिबी लाग्यो, ५० हजार हाल्दिनु ल !

काठमाडौँ । गायिकाद्वय एलिना चौहान र रचना रिमालको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर रकम असुल्ने प्रयास भइरहेको पाइएको छ । स्क्यामरले ‘जेन-जी आन्दोलन’ पछि आफ्नो आर्थिक अवस्था कमजोर भएको र भोकमरी लागेको जस्ता कारण देखाउँदै गायिकाद्वय रिमाल र चौहानसँग समेत रकम मागेको पाइएको हो । 

रचना रिमालको नाममा खोलिएको नक्कली अकाउन्टबाट उनैलाई पठाइएको मेसेजमा लेखिएको छ, “हेलो दिदी नमस्कार, यो हजुरको आईडी अन्यथा कुनै पनि स्वार्थले खोलिएको हैन । जेन-जी आन्दोलनपछि आर्थिक स्थिति कमजोर  भएकाले भोकमरी जस्ता, गाँस, बास, कपासको कमि भएकाले पचास हजार रुपैयाँ सहयोग गरिदिनु हुन्थ्यो कि भन्ने आशा राख्दै खोलिएको हो । काम सकिएपछि डिलिट गर्दिन्छु ।” 

यस मेसेजसँगै रकम पठाउनका लागि ईसेवाको क्यूआर कोड (QR code) पनि पठाइएको थियो ।

यस्तै प्रकृतिको मेसेज एलिना चौहानको नाममा बनाइएको फेक अकाउन्टबाट पनि पठाइएको पाइएको छ, त्यसमा पनि ५० हजार रुपैयाँ सहयोगको माग गरिएको छ ।

यो घटना सार्वजनिक भएपछि दुवै गायिकाले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई यस्ता ठगीबाट सचेत रहन आग्रह गरेका छन् । गायिका रचना रिमालले आफ्नो फेसबुकमा लेखेकी छिन्, “मेरो तस्बिर प्रयोग गरी, फेसबुक अकाउन्ट खोलेर यसरी ठगी गर्न खोजिएको थाहा पाएकी छु । कृपया यस्तो स्क्याममा नपर्नुहोला । सजग रहनुहोला, मैले पैसा मागेको छैन । कसैले ठगी धन्दाको लागि मेरो नाम र फोटो प्रयोग गरिरहेको छ । जसले यस्तो हर्कत गर्दै हुनुहुन्छ तुरुन्त बन्द गर्नुहोला ।”

त्यस्तै, गायिका एलिना चौहानले पनि आफ्ना शुभचिन्तकलाई सजग गराउँदै लेखेकी छिन्, “मेरो फेसबुक आईडी दुरुपयोग गरेर केही व्यक्तिले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ - सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आईडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस् ।”

जेनजी प्रदर्शनपछि अझै पनि प्रहरी प्रभावकारी रूपमा काममा फर्किसकेको अवस्था छैन । अनलाइन ठगीको अनुसन्धान गर्ने मुख्य निकायमध्येको एक ‘काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय’ खरानी भएको छ । यस्तो विषम परिस्थितिमा अनुसन्धान गरी ठगलाई कारबाहीको दायरामा ल्याउन समेत सहज छैन । यही परिस्थितिको फाइदा उठाउँदै अनलाइन ठगहरू सक्रिय भएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज ५, २०८२ १२:४०