close

भाडाका गाडीलाई तोकिएका स्थानमा मात्रै यात्रु चढाउन र ओराल्न निर्देशन, नटेरे कारबाहीको चेतावनी

टेकपाना टेकपाना

असोज ५, २०८२ १८:२८

भाडाका गाडीलाई तोकिएका स्थानमा मात्रै यात्रु चढाउन र ओराल्न निर्देशन, नटेरे कारबाहीको चेतावनी

काठमाडौँ । यातायात व्यवस्था विभागले तोकिएका स्थानमा मात्रै यात्रु चढाउन र ओराल्न भाडाका सवारीसाधनलाई आग्रह गरेको छ । बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधारको अभावका कारण काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै विभागले तोकिएको स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने काम गर्न निर्देशन दिएको हो । 

जथाभाबी सवारीसाधन रोकेर यात्रु चढाउने र ओराल्ने गरेको पाइए कारबाही गर्ने चेतावनी विभागले दिएको छ । जेन-जी पुस्ताले २३-२४ भदौमा गरेको आन्दोलनका कारण ट्राफिक प्रहरी कार्यालय, उनीहरू बस्ने ब्यारेक लगायतका पूर्वाधारहरूमा ठुलो क्षति पुगेपछि अझैसम्म ट्राफिक प्रहरी पूर्णरूपमा ड्युटीमा फर्किन सक्ने अवस्था छैन । जसका कारण सवारीसाधनको व्यवस्थापनमा चुनौती थपिएको हो ।

नजिकिँदो चाडपर्वका कारण पनि काठमाडौँमा सडकहरूमा चहलपहल बढ्दा लामो जाम लाग्ने गरेको छ । त्यसैगरी विभागले मनसुन सक्रिय रहेकाले यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्रै निस्कन अनुरोध गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाले अझै केही समय मनसुन सक्रिय रहने अनुमान गरेको र बाढी पहिरोका कारण राजमार्गका सडकखण्डहरू अवरुद्ध भइरहेको अवस्थामा सडकको अवस्था ख्याल गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ५, २०८२ १८:२८