एन्ड्रोइड फोन स्लो भएकै कारण नयाँ किन्ने सोचमा त हुनुहुन्न? एकपल्ट अपनाएर हेर्नुहोस् यो ट्रिक
असोज ६, २०८२ १२:४५
काठमाडौँ । यदि तपाईँको पुरानो एन्ड्रोइड फोन सुस्त भएको छ र हरेक पटक ट्याप गर्दा प्रतिक्रिया दिन समय लगाउँछ ? यति मात्रै समस्याका कारण नयाँ फोन किन्ने विचार गर्दै पो हुनुहुन्छ कि ?
त्यसो हो भने नहतारिनु होस् । फोनको सेटिङभित्र लुकेको एउटा सानो परिवर्तनले तपाईँको फोनलाई पहिलेभन्दा धेरै छिटो र सहज महसुस गराउन सक्छ ।
एक प्रयोगकर्ताका अनुसार उनको फोन यति सुस्त भइसकेको थियो कि हरेक ट्यापमा ढिलाइ महसुस हुन्थ्यो । किबोर्डले ढिलो काम गर्ने, नोटिफिकेसन खोल्दा अड्किने र कुनै एप खोल्दा पर्खनुपर्ने जस्ता समस्याहरू सामान्य भइसकेका थिए ।
यस्ता सानोतिना ढिलाइहरू दिनमा दर्जनौँ पटक दोहोरिँदा फोन चलाउनै झन्झट लाग्ने र निराशाजनक हुने गर्दथ्यो । कहिलेकाहीँ क्यामेरा खोल्न ढिलो हुँदा राम्रो फोटो खिच्ने मौका पनि गुम्थ्यो । यी समस्याहरूले गर्दा ती प्रयोगकर्ताले एकदमै जरुरी परेको बेला बाहेक फोन चलाउनै छोडेका थिए ।
फोनलाई छिटो बनाउन उनले केही सामान्य उपायहरू अपनाएका थिए । उनले महिनौँदेखि नचलाएका एपहरू हटाए, पुराना डाउनलोडहरू डिलिट गरे र फोटो तथा भिडिओहरूलाई क्लाउड स्टोरेजमा सारेर ठाउँ खाली गरे ।
त्यसैगरी धेरै मेमोरी प्रयोग गर्ने एपहरूको क्याश (cached data) हटाउने र फोनलाई नियमित रूपमा रिस्टार्ट गर्ने जस्ता उपायहरू पनि अपनाए । तर, यी उपायले कहिल्यै लामो समयसम्म साथ दिएनन् र फोन फेरि सुस्त भइ हाल्थ्यो ।
लुकेको सेटिङ, जसले फोनलाई नयाँ जीवन दियो
लामो समयसम्मको सुस्तताबाट दिक्क भएपछि ती प्रयोगकर्ताले सेटिङमा गहिरोसँग खोजी गरे र एउटा स्थायी समाधान फेला पारे । डेभलपर अप्सन (Developer Options) भित्र लुकेको एउटा कन्ट्रोल थियो, जसले एन्ड्रोइडको एनिमेसनको गति व्यवस्थापन गर्दथ्यो ।
एनिमेसन भनेका साना भिजुअल इफेक्टहरू हुन्, जुन एप खोल्दा, स्क्रिन बदल्दा, वा मेनुमा जाँदा देखिने गर्दछन् । यिनले फोनलाई हेर्दा आकर्षक र सहज देखाए पनि हरेक काम हुनुभन्दा पहिले थोरै ढिलाइ पनि गराउँछन् ।
एनिमेसनको गति घटाउँदा फोनको हार्डवेयर छिटो हुँदैन, तर यसले त्यो अतिरिक्त प्रतीक्षाको समयलाई भने हटाउँछ । जसले गर्दा फोन धेरै फास्ट र रेस्पोन्सिभ महसुस हुन्छ ।
यो सेटिङ कसरी मिलाउने ?
यसका लागि सबैभन्दा पहिला फोनको Settings मा जानुहोस् र तल स्क्रोल गरेर About phone मा ट्याप गर्नुहोस् । त्यसपछि Software information मा ट्याप गर्नुहोस् र Build number खोज्नुहोस् । केही फोनहरूमा Build number सिधै About phone भित्र पनि हुन सक्छ ।
Build number मा सात पटक लगातार ट्याप गर्नुहोस् । यस क्रममा तपाईँले फोनको पिन वा पासवर्ड हाल्नुपर्ने हुन सक्छ । त्यसपछि तपाईँको फोनले Developer Options इनेबल भएको पुष्टि गर्छ ।
अब मुख्य Settings पेजमा फर्कनुहोस् र Developer options खोल्नुहोस् । स्क्रोल गर्दै जानुहोस् र Window animation scale, Transition animation scale र Animator duration scale खोज्नुहोस् ।
यी तीन वटै सेटिङलाई 1x बाट बदलेर 0.5x मा राख्नुहोस् । एनिमेसनलाई पूर्ण रूपमा बन्द (Off) गर्नुभन्दा 0.5x मा राख्दा फोन छिटो पनि महसुस हुने र केही मात्रामा एनिमेसनको गतिशीलता पनि कायम रहने अनुभव पाउन सक्नु हुनेछ ।
सेटिङ परिवर्तनपछिको आशा
एनिमेसन स्केल घटाउँदा तपाईँको फोनको हार्डवेयर अपग्रेड त हुँदैन । तर यसले एन्ड्रोइड एक स्क्रिनबाट अर्कोमा कति छिटो जान्छ भन्ने कुरामा परिवर्तन ल्याउँछ ।
फोनले अब कुनै पनि परिणाम देखाउनुअघि पुरा एनिमेसन समाप्त हुने समय कुर्दैन, जसले गर्दा ट्याप र स्वाइपहरूले छिटो प्रतिक्रिया दिन्छन् । तपाईँले एपहरू बीचमा स्विच गर्दा, नोटिफिकेसन सेड तल तान्दा वा सेटिङ मेनु खोल्दा सबैभन्दा ठुलो फरक देख्नु हुनेछ ।
यद्यपि धेरै लोड लिन समय लाग्ने हेभी एपहरूमा अझै पनि केही ढिलाइ महसुस हुन सक्छ । तर धेरैजसो दैनिक कार्यहरू उल्लेखनीय रूपमा छिटो भएको महसुस हुनेछन् ।
यो सामान्य परिवर्तनले बजेट फोनलाई फ्ल्यागशिप फोनमा परिणत त गर्दैन, तर यसले दैनिक प्रयोगलाई छिटो र सहज बनाएर नयाँ फोन किन्ने सोचलाई केही पछि सार्न मद्दत भने गर्न सक्छ । यदि तपाईँको फोन पनि सुस्त भएको छ भने नयाँ किन्नुअघि यो उपाय अपनाएर हेर्ने कि ?
पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १२:४५
