च्याटजीपीटी निर्माता ओपनएआईमा १०० अर्ब डलर लगानी गर्दै एनभिडिया, लक्ष्य एआई सुपरइन्टेलिजेन्स
असोज ७, २०८२ ८:२७
काठमाडौँ । चिप डिजाइनर कम्पनी एनभिडियाले ओपनएआईमा १०० अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टर र एआई सुपरइन्टेलिजेन्सको विकासमा केन्द्रित हुने गरी सोमबार दुई कम्पनीबिचको साझेदारी घोषणा गरिएको हो ।
सम्झौताअनुसार, ओपनएआईले एआई मोडेलहरूलाई तालिम दिन प्रयोग हुने पूर्वाधारका लागि कम्तीमा १० गिगावाट बराबरको एनभिडिया सिस्टम प्रयोग गर्नेछ । १० गिगावाट भनेको लगभग २२ वटा तामाकोशी जलविद्युत् परियोजनाले उत्पादन गर्ने ऊर्जा क्षमता हो ।
जब एनभिडियाका सिस्टमहरू डिप्लोय गरिनेछन्, चिप डिजाइनर कम्पनीले ओपनएआईमा १०० अर्ब डलर लगानी गर्नेछ । यसमध्ये पहिलो गिगावाटको प्रविधि सन् २०२६ को अन्तिमसम्म अनलाइन हुने समय तालिका छ ।
एनभिडियाका सीईओ जेन्सेन हुवाङले गत महिना लगानीकर्ताहरूलाई बताएअनुसार एक गिगावाट डेटा सेन्टर क्षमता निर्माण गर्न ५० देखि ६० अर्ब डलर खर्च हुन्छ । जसमा एनभिडियाकाको चिप्स र सिस्टमको लागत लगभग ३५ अर्ब डलर हुन्छ ।
यो घोषणासँगै सोमबार दिउँसोसम्म एनभिडियाको शेयर ३.६% ले बढेर ४१.८९ डलर पुगेको छ । जुन यस वर्षको उच्चतम बिन्दुको नजिक हो ।
एआई मोडेलहरूलाई तालिम दिन र चलाउन उच्च ऊर्जा क्षमताका पूर्वाधार आवश्यक पर्दछन् । ओपनएआईका साप्ताहिक ७० करोड सक्रिय प्रयोगकर्तालाई प्रतिस्पर्धी सेवा दिन र एलन मस्कको एक्सएआई जस्ता कम्पनीसँग बढ्दो प्रतिस्पर्धाका कारण माग पूरा गर्न ओपनएआईले डेटा सेन्टरमा ठुलो लगानी गर्नुपरेको हो ।
ओपनएआईका सीईओ साम अल्टम्यानले सोमबारको घोषणामा भनेका छन्, "कम्प्युटर पूर्वाधार भविष्यको अर्थतन्त्रको आधार हुनेछ ।" ओपनएआईको लक्ष्य भनेको एक दिन मानवभन्दा बाहिरको बौद्धिकता भएको एआई सुपरइन्टेलिजेन्स डिप्लोय गर्नु हो ।
एनभिडिया माइक्रोसफ्टसँगै ओपनएआईमा लगानी गर्ने केही कम्पनीहरू मध्ये एक हो, जसले सेवा र उत्पादनहरू पनि प्रदान गर्दछ । माइक्रोसफ्टले ओपनएआईमा करिब १३ अर्ब डलर लगानी गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ ८:२८
