नख्खु कारागार घटना: ३ सेकेन्डको भिडिओ भाइरल गराएर मलाई बदनाम गर्न खोजियो- मनिष झा
असोज ७, २०८२ १६:५२
काठमाडौँ । २४ भदौमा नख्खु कारागारमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले खण्डन गर्दै सरकारसँग यसको निष्पक्ष छानबिनको माग गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठककै दौरान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई बदनाम गर्न योजनाबद्ध तरिकाले भिडिओ भाइरल गराइएको दाबी गरे ।
टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ क्लिपमा आफूले आगजनी रोक्न आह्वान गरेको, तर तीन सेकेन्डको क्लिपको आधारमा आगजनीमा संलग्न भएको भन्दै भ्रम फैलाइएको उनले दाबी गरे ।
“मेरो अपराध चाहिँ मैले रोक्न जानु गलत हो ?” उनले प्रश्न गरे । यस घटनापछि समाजको मानसिकताबारे चिन्ता व्यक्त गर्दै उनले मानिसहरूलाई सहयोग गर्न जाँदा पनि दोषी ठानिने डर बढेको तर्क गरे ।
उनले छिमेकीको घरमा आगो लाग्दा बचाउन जाँदा या दुर्घटनामा परेकालाई सहयोग गर्दा पनि आफूलाई नै दोषी भन्दै भिडिओ बनाइन सक्ने खतरा रहेको धारणा राखे ।
उनले यस विषयमा साइबर ब्युरोमा निवेदन दिएर छानबिनका लागि आग्रह गरिसकेको बताए । उनले भने, “प्रहरीमा एसएसपीको नेतृत्वमा यो सबै प्रमाणहरू संकलन गर्ने टिम गठन भएको रहेछ । मैले आफैँ फोन गरेर भनेको छु, यसको तपाईंले छानबिन गरिदिनुहोस् ।”
झाले यो भिडिओमार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको र यसले मानसिक तनाव दिएको सुनाए । “यस्तो मान्छे चाहिँ राजनीतिमा नआओस्, जाओस् र त्यही ३५ वर्षदेखि लुटिराखेकोहरू नै फेरि आऊन् भन्ने यो समाजले चाहन्छ भने भन्दियोस् न,” उनले गुनासो पोखे ।
भाइरल भइरहेको भिडिओमा झा कालो टीसर्ट र सेतो गम्छामा उपस्थित देखिन्छन् । हतारिएको मुद्रामा भाग्दै गरेका उनी बीचैमा कसैसँग बोलिरहेको देखिन्छन् । त्यसपछि पछाडि फर्किँदै ‘छोडिदेऊ, छोडिदेऊ’ भनेको सुनिन्छ । त्यही समयमा गेट वरिपरि आगजनी भइसकेको र प्रदर्शनकारीहरूले तोडफोड सुरु गरिसकेको दृश्य देखिन्छ ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १७:१०
