close

फ्याक्टचेक: नझुक्किनुहोस् ! सरकारले दशैंका लागि एलपी ग्यासको मूल्य घटाएको छैन

हिक्मत आचार्य हिक्मत आचार्य

असोज ७, २०८२ २३:२८

फ्याक्टचेक: नझुक्किनुहोस् ! सरकारले दशैंका लागि एलपी ग्यासको मूल्य घटाएको छैन

काठमाडौँ । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर राखेर सरकारले एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको दाबी सहितका पोस्ट फैलिएका छन् । ती पोस्टमा दशैंको अवसरमा प्रधानमन्त्री कार्कीले एकैपटक २५० रुपैयाँ घटाई नयाँ मूल्य १,६६० रुपैयाँ कायम गरेको उल्लेख छ ।

टेकपानाले गरेको तथ्यजाँचमा यो दाबी मिथ्या पाइएको छ । २७ भदौमा नयाँ सरकार गठन भएयता एलपी ग्यासको मूल्य घटाउने कुनै निर्णय भएको छैन ।

दाबी

२० सेप्टेम्बर २०२५ बिहान १०ः२३ बजे ‘Sachet Khabar सचेत खबर’ नामको फेसबुक पेजले एक पोस्ट राख्यो । उक्त पोस्टको फोटोमा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखिएको छ । फोटोमा तलपट्टि ‘Breaking’ लेखिएको देखिन्छ । माथिपट्टि ‘दशैंमा ग्याँसको मूल्य रु 250 घटाउने’ लेखिएको छ । पृष्ठभूमिमा एलपी ग्यास भण्डारण हुने रातो सिलिन्डरको फोटो राखि‍एको छ । त्यसको क्याप्सनमा लेखिएको छ, “कार्की सरकारले खाना पकाउने एलपिजी ग्याँसको मूल्य ह्वात्तै घटाइदिएर 1660 रुपैयाँ बनाइदिएकी छिन।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३३ हजार बढी रियाक्सन, दुई हजार बढी कमेन्ट र एक हजारभन्दा बढी शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

सचेत खबरले राखेको पोस्ट व्यापक रूपमा फैलिएको पाएपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त क्याप्सन कपी गरेर फेसबुकमा सर्च गर्‍यो । त्यस क्रममा ‘अनलाइन नेपाल धनगढी’ नामको पेजले सोमबार राति १०ः२७ बजे सोही पोस्ट राखेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

सचेत खबरले नै २० सेप्टेम्बरमा भिडिओ समेत बनाएर राखेको पाइयो । उक्त भिडिओमा भने पहिले भाइरल भइरहेको क्याप्सन पढेर अडियो राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४७०० बढी रियाक्सन, १७३ कमेन्ट र दुई लाख ८५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

टिकटकमा ‘लक्ष्मी’ नामकी प्रयोगकर्ताले पनि सोही भिडिओ राखेकी छिन् । उनले भिडिओमा‘नेपाल मा हुन गइरहेको केही बदला हरु …” लेखेकी छिन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

फ्याक्टचेकका क्रममा नेपाल आयल निगमको वेबसाइटमा हेर्दा लामो समयदेखि काठमाडौँ, पोखरा दिपायलमा चैत-वैशाखदेखि नै एलपी ग्यासको मूल्य १९१० रुपैयाँ रहेको पाइयो । सुर्खेत, दाङमा पनि लामो समयदेखि यही मूल्य कायम छ । त्यस्तै चराली, विराटनगर, महेन्द्रनगर, वीरगञ्ज, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा पनि यही मूल्य लागु छ । 

हामीले एलपी ग्यासको मूल्यबारेका समाचार खोज्यौं । तर, कतै पनि प्रधानमन्त्रीले मूल्य बढाएको वा घटाएको समाचार फेला परेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निर्णयको सूची हेर्दा कतै पनि एलपी ग्यासको मूल्य घटाएको भन्ने भेटिएन । 

यी विभिन्न तथ्यका आधारमा प्रधानमन्त्री सुशीला कार्कीले दशैंको अवसरमा एलपी ग्यासको मूल्य घटाएको सूचना गलत रहेको निचोडमा पुगियो ।

दाबी

सरकारले दशैंको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा खाना पकाउने एलपी ग्यासको मूल्य रु. २५० ले घटाएर नयाँ मूल्य रु. १,६६० कायम गरेको छ ।

दाबीकर्ता

‘Sachet Khabar सचेत खबर’ नामक फेसबुक पेज, ‘अनलाइन नेपाल धनगढी’ नामक फेसबुक पेज, ‘लक्ष्मी’ नामक टिकटक प्रयोगकर्ता लगायत अन्य ।

तथ्य

नेपाल आयल निगमको वेबसाइट अनुसार एलपी ग्यासको मूल्य लामो समयदेखि काठमाडौँ उपत्यकामा रु. १९१० मा स्थिर छ, मूल्य घटेको छैन । सरकारले ग्यासको मूल्य घटाउने कुनै निर्णय गरेको छैन ।

निष्कर्ष

प्रधानमन्त्री सुशीला कार्कीले दशैंको अवसरमा एलपी ग्यासको मूल्य घटाएको भन्ने दाबी मिथ्या हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ ८:३८