यूएईमा नेपालीहरू साइबर अपराध लगायतमा फस्न थालेपछि अनुशासनमा बस्न दूतावासको आग्रह
असोज ८, २०८२ ७:३०
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) को आबुधाबी स्थित नेपाली राजदूतावासले त्यहाँ बस्ने नेपालीहरूको नाममा एक जरुरी सूचना प्रकाशित गरेको छ । विभिन्न पेसा र व्यवसायको सिलसिलामा यूएईमा रहेका नेपालीहरूलाई त्यहाँको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न भन्दै दूतावासले आग्रह गरेको हो ।
दूतावासका अनुसार विगत केही समयदेखि यूएईमा रहेका कतिपय नेपालीहरू मादक पदार्थ सेवन र झैझगडा, बैङ्किङ कसुर, आपसी नगदी लेनदेन, लागूऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन नियमको र ट्राफिक नियमको उल्लङ्घन, फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिमा पर्ने गरेका छन् । यस्ता गतिविधिले प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो सङ्ख्या बढ्दै गएपछि दूतावासले चिन्ता व्यक्त गरेको हो ।
"यी विषयहरू यूएईको कानुन तथा नियम अनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरूमा सचेत हुन तथा विशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ," सूचनामा भनिएको छ । राजदूतावासले यूएईमा रहँदा त्यहाँको ऐन, नियम, कानुन र मूल्यमान्यताको पूर्ण पालना गर्न, कानुनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्न आग्रह गरेको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरी झैझगडा नगर्न, कुनै पनि व्यक्तिले दिएको सरसामग्री चेकजाँच नगरी नबुझ्न, ट्राफिक नियमको पालना गर्न र इमिरेट्स आईडी सधैँ साथमा लिएर हिँड्न भनिएको छ । यसैगरी सधैँ शिष्ट, मर्यादित र अनुशासित व्यवहार पालना गर्न, कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्न, कसैको लोभ लालच र मुलाहिजामा नफस्न, आफ्नो राहदानी, इमिरेट्स आईडी र फोनको सिमकार्ड कसैलाई पनि नदिन र इमिरेट्स आईडी बुझाई कुनै किसिमको बैङ्किङ ऋण नलिन पनि सचेत गराइएको छ ।
त्यस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभाबी पोस्ट नगर्न, त्यहाँका निकायहरूमा अनावश्यक रूपमा इमेल नगर्न, आफ्नो देशको चाडबाड, धर्म संस्कृति सामूहिक रूपमा आयोजना गर्दा तोकिएको स्थानमा यूएईको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिएर स्थानीय कानुनको मापदण्डभित्र रही अनुशासित तवरमा गर्न पनि भनिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ ७:३०
