close

गाउँघर फर्किँदै हुनुहुन्छ ? दशैं यात्रा स्मार्ट बनाउन यसरी प्रयोग गर्नुहोस् प्रविधि

टेकपाना टेकपाना

असोज ११, २०८२ १८:५०

गाउँघर फर्किँदै हुनुहुन्छ ? दशैं यात्रा स्मार्ट बनाउन यसरी प्रयोग गर्नुहोस् प्रविधि

काठमाडौं । दशैंको रमझम सुरु भएसँगै लाखौं नेपालीहरू आफ्नो गाउँघर फर्कने क्रम तीव्र बनेको छ । लामो दूरीको यात्रा प्रायः थकानपूर्ण र झन्झटिलो हुने गर्दछ । तर प्रविधिको सही सदुपयोगले तपाईंको दशैंको यात्रालाई सहज, सुरक्षित र अविस्मरणीय बनाउन सक्छ ।

प्रविधिमा आएको आमूल परिवर्तनका कारण अब हरेक यात्रुले आफ्नो यात्रालाई ‘स्मार्ट’ बनाउन सक्नेछन् । यसै सन्दर्भमा, दशैं-तिहारको यात्रालाई कसरी प्रविधिमैत्री बनाउने भन्ने बारे विस्तृत जानकारी यहाँ प्रस्तुत गरिएको छ:

यात्राअघि

तपाईंले आफ्नो यात्राको बारेमा पहिले केही तयारी गर्न सक्नुहुन्छ । गन्तव्य पुग्न कति लाग्छ ? बाटो कस्तो छ ? यो कुरा तपाईंले गुगल म्याप्स, एप्पल म्याप्स जस्ता प्लेटफर्मबाट थाहा पाउन सक्नुहुन्छ । 

यात्रा गर्नुअघि तपाईंले म्याप्स सम्बन्धी निम्न काम गर्न सक्नुहुन्छ: 

-अनलाइन टिकेटिङ

यदि तपाईं यात्रु हुनुहुन्छ भने आजभोलि विमानको होस् या बसको, अनलाइनमार्फत नै टिकट खरिद गर्न सक्नुहुन्छ । यसो हुँदा टिकट काट्न भौतिक रुपमा काउन्टरमा पुगिरहनु पर्दैन । यसले तपाईंको समय बचत गर्नेमा दुविधा छैन, सँगै तपाईंलाई सहजता पनि प्रदान गर्छ । विमानको लागि इसेवा, खल्तीजस्ता प्लेटफर्मबाट टिकट काट्न सक्नुहुन्छ भने बस सेवा, ओके जर्नी, बकबस, ट्रिप टर्बो  आदि प्लेटफर्म बसका लागि रहेका छन् ।

सवारीधनी

यदि तपाईं आफ्नै बिजुली कार चढेर यात्रामा निस्कने योजना बनाउँदै हुनुहुन्छ भने चार्जिङ स्टेसन कहाँकहाँ छ भनेर आफ्नै डिभाइसबाट थाहा पाउन सक्नुहुन्छ । यसका लागि नेपाल विद्युत प्राधिकरणको एप हेर्नु होस् । अथवा सम्बन्धित ब्रान्डको मोबाइल एप हेर्न सक्नुहुन्छ । 

-अफलाइन म्याप 

तपाईं जाने कतिपय ठाउँमा इन्टरनेट नचल्न सक्छ । त्यस्तोमा अफलाइन म्याप उपयोगी हुन्छ । किनकि नाम जस्तै यसले इन्टरनेट नहुँदा पनि काम गर्छ । 

यात्रामा निस्किनु अघि अफलाइन चलाउन मिल्नेगरी यसरी डाउनलोड गर्नुहोस् गुगल म्याप 

घुम्न जाँदै हुनुहुन्छ ? गुगल म्याप्सका यी महत्त्वपूर्ण फिचर थाहा पाउनुहोस्, काम लाग्न सक्छ 

यात्राको आधुनिक सारथी म्याप हो भन्दा फरक पर्दैन । किनकि चालकलाई नसोधेरै तपाईंले कहाँ पुगियो, गन्तव्य आउन कति बाँकी छ, जस्ता कुराहरू थाहा पाउन सक्नुहुन्छ । 

-लाइभ लोकेसन शेयरिङ 

यात्रा थाल्नुअघि तपाईंले लाइभ लोकेसन शेयरिङको काम गर्न सक्नुहुन्छ । यसो गर्दा घरमा तपाईंले आफू कहाँ पुगेँ भनेर भनिरहन पर्दैन । घरकाले सजिलै तपाईंको लाइभ लोकेसन हेर्न सक्छन् । 

ह्वाट्सएपमा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ वा करेन्ट लोकेसन 

-मौसम र बाटोबारे बुझ्ने

यात्रा थाल्नुअघि मौसम र बाटोबारे बुझ्न अत्यन्त जरुरी छ । ​मुग्लिन-नारायणगढको रुटमा पहिरो गएको खबर त पक्कै पाउनुभयो होला । यसकारण आफ्नो रुटमा के कस्तो अवस्था छ, थाहा पाएर मात्रै यात्रा गर्नुहोस् ।

अर्कोतर्फ अहिलेका आधुनिक स्मार्टफोन, स्मार्टवाचमा नियमित रूपमा मौसमबारे अपडेट पाइन्छ । सामान्य गुगल सर्च गरेर पनि मौसमबारे जानकारी लिन सकिन्छ । 

यसबाहेक जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखामा सम्पर्क गरेर अथवा वेबसाइटमा गएर मौसमबारे जानकारी लिन सक्नुहुन्छ । साथै नेपाल प्रहरीलाई सम्पर्क गरेर अथवा वेबसाइटमा हेरेर तपाईंले बाटोको अवस्थाबारे बुझ्न सक्नुहुन्छ । 

लामो यात्रामा निस्किँदै हुनुहुन्छ ? अनलाइनबाटै यसरी थाहा पाउनुहोस् राजमार्गको अवस्था 

लामो यात्रामा निस्कनुअघि बाटोको अवस्था थाहा पाउन यी नम्बरमा कल गर्नुहोस् 

सडकमा ट्राफिक जाम छ/छैन ? यात्रामा निस्किनु अघि यसरी हेर्नुहोस् आफ्नै मोबाइलमा 

-पावरबैंक र डेटा

लामो यात्रामा कतिबेला के हुन्छ ठेगान हुँदैन । यसकारण यात्रा थाल्नुअघि तपाईंले आफ्नो डिजिटल डिभाइस फुल चार्ज गर्नु राम्रो हुन्छ । चाहे त्यो फोन होस् या स्मार्टवाच । अथवा क्यामेरा नै किन नहोस् ।

किनकि बाटोमा चार्ज गर्ने ठाउँ नहुन सक्छ । अझ तपाईंले ब्याकअपका लागि पावरबैंक साथमा लिँदा फाइदा नै हुन्छ । त्यस्तै आपत्कालीन अवस्थाका लागि आफ्नो सिममा केही ब्यालेन्स राख्ने र डेटा पनि लिन सक्नुहुन्छ । 

पावर बैंक किन्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती 

यात्राको क्रममा 

छोटो यात्रामा त समस्या त्यति हुन्न । सहसाथीहरूसँग कुरै गरेर दुरी पार गरिएला । तर लामो यात्रामा सधैंभर कुरा गरेर साध्य हुँदैन । त्यस्तोमा तपाईंको साथी स्मार्टफोन बन्न सक्छ । किनकि यात्रालाई रमाइलो बनाउन तपाईंले फोनमा गीत/पडकास्ट/अडिओ बुक सुन्ने, फिल्म हेर्ने जस्ता गतिविधि गर्न सक्नुहुन्छ । यसका लागि स्पोटिफाई, एप्पल म्युजिक, युट्युब म्युजिक, युट्युब जस्ता प्लेटफर्म उपयोगी हुन्छन् । 

युट्युवबाट यसरी निःशुल्क डाउनलोड गर्नुहोस् अडियो र भिडिओ 

यात्रामा स्मार्टफोनकै अडिओमा भर पर्नु त्यति राम्रो अनुभव नहुन सक्छ । बरु तपाईंले वायरलेस हेडफोन, इयरबड्स, ब्लुटुथ स्पिकर (अवस्था अनुकूल भए) आदि प्रयोग गर्न सक्नुहुन्छ । यसबाहेक सहयात्रुहरू बिचमा नै तपाईंहरू सहज हुने (जस्तो: लुडो, चेस) अनलाइन खेल खेल्न सक्नुहुन्छ । 

छोटो दुरीको यात्रा

नजिकको यात्रामा आफ्नै सवारी साधन छैन भने अहिले चिन्ता लिनुपर्न अवस्था छैन । यस्तोमा राइड शेयरिङ प्लेटफर्म विकल्प छन् । सिटी टु सिटी अर्थात् एउटा सहरदेखि अर्कोमा जाने सुविधा नेपालमा सक्रिय रहेका राइड शेयरिङ प्लेटफर्ममा छन् । 

तपाईंलाई लाग्ला, त्यति लामो दुरीको शुल्क त अचाक्ली हुन्छ । त्यस्तो सोच्नु पनि जायज नै छ । तर अतालिहाल्नु पर्ने अवस्था छैन । किनकि ती राइड शेयरिङ प्लेटफर्महरूले छुट दिइरहेका हुन्छन् । कुनै भवितव्य आए राइड शेयरिङमा बीमाको पनि व्यवस्था गरिएको छ । यसो हुँदा यात्राबारे चिन्ता लिनुपर्ने अवस्था छैन । 

यदि राइड शेयरिङमा तपाईंलाई चिन्ता छ भने त्यसको पनि विकल्प छ । किनकि केही अनलाइन कार रेन्टल सर्भिसेस नेपालमा उपलब्ध छन् । तिनबाट तपाईंले कार/जिप/भ्यान बुक गर्न सक्नुहुन्छ । सजिलो रेन्टल, ट्राभल केन्द्र, ईड्राइभ नेपाल, इजी ट्रान्सपोर्ट नेपाल, ड्राइभ सेवा जस्ता केही प्लेटफर्म उदाहरण हुन् । यी कम्पनीको वेबसाइटबाट तपाईंले बुक गर्ने काम गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८२ १९:७