काठमाडौँ । दशैँ बिदामा हुनुहुन्छ वा समय व्यतीत गर्न स्मार्टफोनमा इयरबड्स जोडेर हरेक दिन मनोरञ्जन लिनुहुन्छ भने यो टिप्स तपाईंहरूका लागि उपयुक्त हुन सक्छ ।
इयरबड्स हरेक दिन प्रयोग हुन्छ । हिँड्दा होस्, कार्यालयमा होस् वा फोनकल गर्दा । जसका कारण इयरबड्समा पसिना, कानेगुजी, धुलो र शरीरबाट उत्पन्न हुने चिल्लो पदार्थले फोहोर बनाउने गर्छ । यी फोहोरले इयरबड्सको साउन्ड क्वालिटीदेखि ब्याट्री पर्फमेन्स घट्न सक्छ । यो फोहोर सफा गर्न तपाईँ महँगो क्लिनिङ किट किन्नुपर्देन । घरायसी सामग्री जोहो गरेर इयरबड्स सफा गर्न सक्नुहुन्छ ।
१. सिलिकन वा फोम टिप (foam tips) लाई सफा गर्नुहोस्
यदि तपाईंको इयरबड्सबाट टुप्पोमा टिप छन् भने त्यसलाई घुमाएर निकाल्नुहोस् । सानो भाँडामा मनतातो पानी र भाडा धुने साबुन/सर्फ छ भने मिसाउनुहोस् । त्यसपछि ती टिपलाई १५ देखि २० मिनेट त्यसमा डुबाइदिनुहोस् ।
टिपहरूबाट भएको फोहोर हटाउन औंला वा कटनको कपडा प्रयोग गर्नुहोस् । राम्ररी सफा गरेपछि नरम कपडाले पुछेर केही समय घाम वा हावा लाग्ने ठाउँमा सुकाउन छोड्दिनुस् । फोम टिपहरूले पानी चाँडै सोस्ने भएकाले त्यसमा विशेष ध्यान दिन जरुरी छ । धेरै लामो समयसम्म भिज्न भने नदिनुस् ।
२. मेश स्क्रिनबाट ब्रसले कानेगुजी हटाउनुहोस्
इयरबड्सको आवाज आउने ठाउँमा रहेको जालीमा कानेगुजी फसेको हुन सक्छ । जसका कारण जति ध्वनि इयरबड्सले फाल्नुपर्ने हो, त्यसलाई छेक्न सक्छ । त्यसैले टिप हटाएपछि ब्रसले हलुकासँग कानेगुजी ‘मेश स्क्रिन’बाट हटाउनुपर्छ ।
इयरबड्सलाई मेश तलतिर राखेर समात्नुहोस् र फोहोर निकाल्न सुक्खा, नरम टुथब्रसले हल्कासँग सफा गर्नुहोस् । कठिन ठाउँहरूका लागि कटन स्वाबलाई थोरै स्पिरिटमा डुबाएर पुछ्न सकिन्छ । धेरै बल भने नलगाउनुहोस् । यसले कानेगुजीलाई भित्र धकेल्दिन सक्छ ।
३. इयरबड्स हाउजिङ पुछ्नुहोस्
इयरबड्सको बाहिरी शेलले छालाबाट तेल, पसिना र खल्तीबाट फोहोर सोस्छ । माइक्रोफाइबर कपडा प्रयोग गरेर त्यसलाई सफा गर्न सकिन्छ । स्पिरिट वा अन्य सफा गर्ने लिक्विडले हाउजिङ पुछ्न सकिन्छ । हाउजिङको भित्री भागमा कुनै पनि तरल पदार्थ छिर्न भने नदिनुस् ।
४. चार्जिङ केस सफा राख्नुहोस्
चार्जिङ केस सरसफाइको मामलामा बेबस्थामा पर्छ । केसको भित्री र बाहिरी भाग सुक्खा कपडाले पुछ्न सुरु गर्नुहोस् । कुना वा चार्जिङ पिनका लागि कटन स्वाब प्रयोग गर्नुहोस् । यदि धेरै फोहोर छ भने स्वाबलाई ‘रबिङ अल्कोहल’मा थोरै चोपेर सावधानीपूर्वक सफा गर्नुहोस् । केसलाई गुम्स्याएर नराख्नुहोस् । खुला हावामा राख्नु उचित मानिन्छ ।
५. फ्याब्रिक पाउच वा कभर धुनुहोस्
यदि तपाईँसँग इयरबड्सको स्टोरेज पाउच छ भने यसलाई पनि सफा गर्न नबिर्सिनुहोस् । मनतातो पानीमा साबुन मिसाएर पाउचलाई केही मिनेट भिजाउनुहोस् । राम्ररी भिजेपछि घाम र हावा लाग्ने ठाउँमा सुकाउनुहोस् ।
इयरबड्स सानै उपकरण भएपनि यसले दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसलाई सफा राख्नाले मात्रै पनि इयरबड्सको साउन्ड क्वालिटीमा ठूलो फेरबदल त नल्याउला । तर, तपाईंको कानलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
यी पाँच ओटा तरिका प्रयोग गर्दै अतिरिक्त पैसा खर्च नगरी इयरबड्सलाई सफा गर्न सकिन्छ । सकेसम्म हप्तामा एकचोटि इयरबड्स सफा गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज १५, २०८२ १३:५८
