दशैँमा नयाँ मोबाइल किन्नुभयो ? सही प्रयोगका लागि जान्नै पर्ने यी कुराहरू
असोज १५, २०८२ १८:११
एआई सिर्जित तस्बिर
काठमाडौँ । चाडपर्वको समयमा धेरैले नयाँ लुगा मात्र नभई नयाँ मोबाइलसमेत किन्न रुचाउँछन् । नयाँ फोन हातमा पाउँदा स्वाभाविक रूपमा त्यसप्रति विशेष ख्याल गर्ने बानी हुन्छ । फोहोर हातले छुन हिच्किचाउने, पटक-पटक स्क्रिन सफा गर्ने, स्क्रिनमा दाग वा स्क्र्याच नपरोस् भनेर तुरुन्तै स्क्रिन गार्ड र कभर किन्ने काम प्रायः सबैले गर्छन् । यसबाट प्रस्ट हुन्छ, हामी नयाँ फोनलाई निकै स्याहारसुसार गर्छौं ।
नयाँ फोनको उत्कृष्ट अनुभव लिन र यसलाई लामो समयसम्म टिकाउन केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ । आज हामी नयाँ फोन किनिसकेपछि ख्याल राख्नुपर्ने केही उपयोगी सुझावहरू प्रस्तुत गर्दैछौँ:
सुरुमा के गर्ने ?
फोन अन गर्ने बित्तिकै उपलब्ध सफ्टवेयर अपडेटहरू जाँच गर्नुहोस् र इन्स्टल गर्नुहोस् । किनकि यसले पछिल्ला सेक्युरिटी प्याचहरू र सुधारहरू उपलब्ध गराउँछ । आफ्नो गुगल (एन्ड्रोइड) वा एप्पल आईडी (आईओएस) एकाउन्ट सेटअप गर्नुहोस् । यसले तपाईंको डेटा सिंक गर्न, एप डाउनलोड गर्न र फोन हराएमा पत्ता लगाउन मद्दत गर्छ । आफ्नो फोनलाई अनधिकृत पहुँचबाट बचाउन पासवर्ड, पिन, प्याटर्न, फिंगरप्रिन्ट वा फेस रिकग्निसन सेट गर्नुहोस् ।
'फाइन्ड माइ डिभाइस' सुविधा सक्रिय गर्नुहोस् । ताकि फोन हराएमा वा चोरी भएमा तपाईंले यसलाई ट्र्याक गर्न सक्नुहुन्छ, लक गर्न सक्नुहुन्छ वा डेटा मेटाउन सक्नुहुन्छ । यसका साथै, क्लाउड ब्याकअप सेवाहरू जस्तै गुगल ड्राइभ वा आईक्लाउड सक्रिय गर्नुहोस् । यसो गर्दा तपाईंको फोटो, भिडिओ, कन्ट्याक्ट र अन्य महत्त्वपूर्ण डेटा स्वतः ब्याकअप भइरहोस् ।
चार्जिङ र ब्याट्रीको हेरचाह
आजकलका लिथियम-आयन ब्याट्रीहरूलाई पहिलो पटक १२ घण्टा चार्ज गर्नुपर्ने आवश्यकता हुँदैन । फोनलाई लगभग ५०% सम्म चार्ज गरी सामान्य रूपमा प्रयोग गर्न सकिन्छ । रातभर चार्जमा राख्ने बानी भने राम्रो होइन । फुल चार्ज भएपछि चार्जर हटाउनु राम्रो हुन्छ । तैपनि आधुनिक फोनहरूमा ओभरचार्जिङबाट बच्नका लागि बिल्ट-इन प्रोटेक्सन हुन्छ ।
सधैं फोनसँग आएको वा कम्पनीले सिफारिस गरेको चार्जर र केबलमात्रै प्रयोग गर्नुहोस् । सस्तो वा नक्कली चार्जरले ब्याट्रीलाई क्षति पुर्याउन सक्छ । साथै, अत्यधिक तातो ठाउँमा (जस्तै: सिधा घाममा) फोन चार्ज नगर्नुहोस् । त्यस्तो ठाउँमा सकेसम्म फोन नै प्रयोग नगर्नुहोस् । यसो गर्दा ब्याट्री लाइफ घट्ने अवस्था रहँदैन ।
फोनको सुरक्षा र सरसफाइ
फोनको स्क्रिन सुरक्षाका लागि तत्काल स्क्रिन प्रोटेक्टर (टेम्पर्ड ग्लास) र प्रोटेक्टिभ कभर (केस) प्रयोग गर्नुहोस् । धेरैजसो फोन वाटरप्रुफ नहुने भएकाले यसलाई पानी वा अन्य तरल पदार्थबाट टाढा राख्नुहोस् । धुलो र माटोबाट पनि जोगाउनुहोस् । फोनको स्क्रिन, क्यामेरा लेन्स र पोर्टहरूलाई नरम, सफा कपडाले नियमित रूपमा पुछ्नुहोस् । स्पिकर तथा चार्जिङ पोर्टमा धुलो जम्न नदिनुहोस् ।
सफ्टवेयर र एप्सको व्यवस्थापन
आफूलाई चाहिने एप्स मात्र इन्स्टल गर्नुहोस् । धेरै जसो नयाँ फोनमा कयौं विजेट्स हुने गर्दछन् । फोनमा प्रिइन्स्टल रुपमा रहने विजेट्सका अलावा कम्पनीको तर्फबाट कयौं एप समेत हुने गर्दछन् । अनावश्यक लाग्ने एप छन् भने ती फोनबाट हटाइदिनुहोस् । ती एपले बिनाकाम ब्याट्री खपत गरिरहेका हुन सक्छन् ।
नियमित रूपमा एप अपडेट गर्नुहोस् । यसो गर्नाले फोनको सफ्टवेयरमा देखापरेका सुरक्षा कमजोरीहरू हट्छन् वा नयाँ सुविधाहरू थपिन्छन् । कुनै पनि एप इन्स्टल गर्दा वा प्रयोग गर्दा त्यसले मागेका पर्मिसनहरू (जस्तै: क्यामेरा, माइक्रोफोन, लोकेशन) ध्यानपूर्वक जाँच गर्नुहोस् । फोनको स्टोरेजलाई खाली राख्न नियमित रूपमा अनावश्यक फोटो, भिडिओ र फाइलहरू डिलिट गर्नुहोस् वा क्लाउडमा सार्नुहोस् ।
डेटा व्यवस्थापन र गोपनीयता
महत्त्वपूर्ण फोटो, भिडिओ र कन्ट्याक्ट्सको नियमित ब्याकअप बनाउने बानी बसाल्नु राम्रो हो । पब्लिक वाई-फाई नेटवर्क प्रयोग गर्दा संवेदनशील जानकारी (जस्तै: बैंकको विवरण) आदानप्रदान नगर्नुहोस् । यी नेटवर्कहरू कम सुरक्षित हुन सक्छन् । प्रयोग नभएको बेला ब्लुटुथ बन्द गर्नुहोस् । यस्तो कुरामा हेलचेक्र्याई गर्दा ब्याट्री बढी खपत हुन्छ । सुरक्षा जोखिम पनि निम्तिन सक्छ ।
पछिल्लो अध्यावधिक: असोज १५, २०८२ १८:१२
