close

अफगानिस्तानमा ४८ घण्टासम्म इन्टरनेट ब्ल्याकआउट, अहिले कस्तो छ अवस्था ?

टेकपाना टेकपाना

असोज १५, २०८२ २२:१६

अफगानिस्तानमा ४८ घण्टासम्म इन्टरनेट ब्ल्याकआउट, अहिले कस्तो छ अवस्था ?

काठमाडौँ । तालिवान सरकारले देशभर लगाएको सञ्चार सेवा बन्द (ब्ल्याकआउट) को व्यापक निन्दा भएपछि अफगानिस्तानमा इन्टरनेट र दूरसञ्चार सेवा पुनः सुरु भएका छन् । तालिवान प्रधानमन्त्रीको विशेष आदेशमा इन्टरनेट सेवा फर्काइएको एक सरकारी निकट स्रोतले बीबीसी अफगानलाई पुष्टि गरेको छ ।

इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सले प्रत्यक्ष नेटवर्क तथ्याङ्कले आंशिक रूपमा कनेक्टिभिटी बहाल भएको देखाएको जनाएको छ भने स्थानीय पत्रकारहरूले प्रान्तभरि सञ्चार सेवाहरू पुनः सुरु भएको बताएका छन् ।

करिब ४८ घण्टा लामो यो ब्ल्याकआउटका कारण व्यवसाय र उडानहरू अवरुद्ध भएका थिए । यसले आपतकालीन सेवाहरूमा पहुँच सीमित गर्नुका साथै महिला र केटीहरूलाई थप एक्ल्याउने चिन्ता बढाएको थियो । सन् २०२१ मा तालिवान सत्तामा फर्केपछि उनीहरूको अधिकारमाथि गम्भीर रूपमा ह्रास आएको छ ।

राजधानी काबुलका विभिन्न क्षेत्रको भ्रमण गरेका एक व्यक्तिले बीबीसी अफगानलाई भने, “सबैजना खुसी छन्, आफ्नो सेलफोन समातेर आफन्तहरूसँग कुरा गरिरहेका छन् । महिलादेखि पुरुष र तालिवानका सदस्यसमेत सेवा पुनः सुरु भएपछि सबै फोनमा कुरा गरिरहेका थिए । अहिले सहरमा पहिलेभन्दा बढी भीडभाड छ ।”

कतारमा रहेका तालिवानका एक वरिष्ठ प्रवक्ता सुहैल शाहीनले बुधबार दिउँसोसम्म "सबै सञ्चारहरू" बहाल भएको बताएका छन् । यद्यपि, सरकारले सेवा बन्द गर्नुको कुनै आधिकारिक कारण भने दिएको छैन ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज १५, २०८२ २२:१६