काठमाडौँ । देशका विभिन्न ठाउँमा भएको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरेको छ । एक सूचना जारी गर्दै गृह मन्त्रालयले विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक नेपाल राज्यभरका सबै सरकारी तथा सार्वजनिक निकायहरू बिदा रहने जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, “असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध भएको छ ।”
लगातारको वर्षाका कारण बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायातमा अवरोध र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मन्त्रालयले यो निर्णय लिएको हो । गृह मन्त्रालयले यस अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकहरूलाई अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १५:५४
