विष्णु रिमाल भन्छन्- प्रधानमन्त्रीका आधिकारिक अकाउन्ट मसँग छैनन्, मुख्यसचिवलाई सोध्नुस्
असोज २०, २०८२ १६:४२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीका सामाजिक सञ्जालका आधिकारिक अकाउन्ट आफूसँग नभएको दाबी गरेका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका नयाँ आधिकारिक अकाउन्ट सार्वजनिक भएसँगै कतिपयले तत्कालीन सल्लाहकार रिमालले पुराना अकाउन्टको युजरनेम र पासवर्ड नदिएको कारण नयाँ अकाउन्ट खोल्नुपरेको भन्दै आलोचना गरेपछि उनले प्रधानमन्त्रीका आधिकारिक अकाउन्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीसँगै रहने बताएका हुन् ।
“प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट प्रधानमन्त्री कार्यालयको सचिवालयसँग हुन्छन, जुन सचिवालय सरकारी कर्मचारीको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि मैले ती अकाउन्ट चलाएको होइन । त्यसैले प्रधानमन्त्रीका आधिकारिक अकाउन्ट विष्णु रिमालले फिर्ता गरेन भन्नु आधारहीन कुरा हो,” रिमालले टेकपानासँग भने ।
केपी शर्मा ओली सेनाको सुरक्षामा शिवपुरी ब्यारेकमा रहँदा पनि आधिकारिक अकाउन्टबारे कुरा उठेको स्मरण गर्दै रिमालले भने, “त्यो बेला नै कुरा उठेको थियो, मैले प्रधानमन्त्रीका सबै सामाजिक सञ्जालका आधिकारिक अकाउन्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग नै रहेको जानकारी दिएको थिएँ ।’’
प्रधानमन्त्री भनेको व्यक्ति नभई एउटा संस्था पनि भएकाले आफूले ०७२ सालमै आधिकारिक अकाउन्ट खोलेको दाबी गर्दै रिमालले यी अकाउन्टबारे मुख्यसचिवलाई अझै धेरै थाहा हुने बताए ।
“यसबारे मलाई भन्दा अझ धेरै कुरा मुख्य सचिवलाई थाहा छ । यी अकाउन्ट कसले र कसरी चलाउँछन् भन्ने बारेमा उहाँलाई नै सोध्नुहोस्,” रिमालले भने ।
उनले अनुमानका आधारमा कसैलाई पनि आरोपित गर्न नहुने भन्दै आक्रोश समेत पोखेका छन् । “केपी शर्मा ओलीका व्यक्तिगत अकाउन्ट त फिर्ता गर्नु पर्दैन होला नी ? कि व्यक्तिगत अकाउन्ट पनि फिर्ता गर्नुपर्ने हो,” उनले प्रश्न गरे ।
एक्स, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका प्रधानमन्त्रीका सबै आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरूको स्वामित्व प्रधानमन्त्री कार्यालयअन्तर्गत सहसचिवको नेतृत्वमा रहेको निजी सचिवालयसँग रहने बताइए पनि हालकी प्रधानमन्त्रीले नयाँ अकाउन्ट खोलेकी छन् । प्रधानमन्त्रीको तत्कालीन सचिवालयले हालको सचिवालयलाई अकाउन्ट विवरण हस्तान्तरण नगरेको हो वा कार्की आफैँले नयाँ अकाउन्ट खोल्न निर्देशन दिएको हो भन्ने स्पष्ट भएको छैन ।
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १८:३४
