close

क्यानडामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्धको तयारी, एआई च्याटबट पनि नियमन गर्ने

टेकपाना टेकपाना

जेठ २८, २०८३ ७:११

क्यानडामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्धको तयारी, एआई च्याटबट पनि नियमन गर्ने

काठमाडौँ । क्यानडा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यसका लागि क्यानडा सरकारले बुधबार नयाँ डिजिटल सुरक्षा विधेयक पनि प्रस्तुत गरेको छ । पछिल्लो समय विभिन्न देशहरुले बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । केही महिना अघि अस्ट्रेलिया बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वको पहिलो मुलुक बनेको थियो ।

मलेसियाले हालै मात्र १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गरेको छ । बेलायतले पनि सोही प्रकारको नीति ल्याउने तयारी गरिरहेका बेला क्यानडाले पनि बालबालिकाको डिजिटल सुरक्षा सुदृढ गर्ने उद्देश्यसहित १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने विधेयक अघि सारेको हो ।

यद्यपि, क्यानडा सरकारले भने निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने यसबाट छुट दिइने व्यवस्था पनि गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ । उक्त विधेयकले आर्टिफिसियल (एआई) च्याटबटहरूलाई पनि थप सुरक्षित बनाउने लक्ष्य राखेको छ । यसका लागि सुरक्षा मापदण्ड निर्धारण गर्ने डिजिटल नियामक निकाय स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ ।

कानुनको पालना नगर्ने कम्पनीहरूलाई विश्वव्यापी आम्दानीको ३ प्रतिशत वा अधिकतम झन्डै ७२ लाख अमेरिकी डलर मध्ये जुन बढी हुन्छ त्यति जरिवाना गरिने व्यवस्था प्रस्ताव रहेको छ । सामाजिक सञ्जाल प्लेटफर्म र एआई च्याटबटले बालबालिकामा मानसिक समस्या निम्त्याउने क्यानडाका पहिचान तथा संस्कृति मन्त्री मार्क मिलरलाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ ।

मिलरले भने, सामाजिक सञ्जाल प्लेटफर्म र एआई च्याटबटहरू प्रयोगकर्ताको ध्यान तान्नकै लागि डिजाइन गरिएका हुन्छन् । यिनले बालबालिकाको स्वस्थ विकासलाई सहयोग गर्दैनन्, बरु धेरै युवा क्यानडेलीहरूका लागि चिन्ता, एक्लोपन, अवसाद तथा अन्य विभिन्न मानसिक स्वास्थ्य समस्याको स्रोत बनेका छन् ।”

प्रस्तावित कानुनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने र उनीहरूलाई प्रत्यक्ष भेटघाटमार्फत सम्बन्ध विस्तार, मित्रता विकास, विद्यालयमा ध्यान केन्द्रित गर्न तथा वास्तविक जीवनका सीप सिक्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । यो विधेयक पारित हुन करिब एक वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न थप १८ महिना लाग्न सक्ने बताइएको छ ।

गत डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । अस्ट्रेलियामा उक्त कानुन लागु भएको एक महिनामै सामाजिक सञ्जाल कम्पनीहरूले सामूहिक रूपमा करिब ५० लाख किशोर–किशोरीका खाता निष्क्रिय बनाएका थिए । मलेसियाले १ जुनदेखि बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाइसकेको छ ।

यता, फ्रान्स, डेनमार्क र पोल्याण्डले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नियम कडा बनाउनेबारे विचार गरिरहेको रोयटर्सले जनाएको छ । ग्रीसले पनि गत अप्रिलमा सन् २०२७ को जनवरीदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच निषेध गर्ने घोषणा गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ ७:१९