#Arrestkpoli विरुद्ध लागेका महेश बस्नेतलाई सुदन गुरुङको काउन्टर - 'ए अङ्कल कहिले सुध्रिने ?'
असोज २१, २०८२ १२:२३
काठमाडौँ । जेन-जी अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकबाटै एमाले नेता महेश बस्नेतलाई काउन्टर दिएका छन् । मङ्गलबार बिहान महेश बस्नेतले गरेको फेसबुक पोस्टमा कमेन्ट गर्दै गुरुङले आफ्नो असन्तुष्टि पोखेका हुन् ।
बस्नेतले जेन-जी आन्दोलनका क्रममा राजनीतिक दलका नेताहरूको घरमाथि भएको आक्रमण, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा चलिरहेको ट्रेन्ड र प्रहरीमा जाहेरी दिन गएको विषयलाई लिएर फेसबुक पोस्ट गरेका थिए ।
"आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक विचार राख्ने व्यक्तिहरूलाई गिरफ्तार गर्ने भनेर सोसल मिडियामा ट्रेन्ड चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरू र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गरेमा ठुलो मूल्य चुकाउनुपर्नेछ," उनले चेतावनी दिँदै लेखेका छन्, "यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चाहन्छु ।"
बस्नेतको यही पोस्टको कमेन्ट बक्समा गुरुङले प्रतिक्रिया दिएका हुन् । "ए अङ्कल कहिले सुध्रिने ?," उनले भनेका छन् । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूमाथि गत २३ भदौमा राज्य पक्षबाट भएको नरसंहारलाई लिएर सामाजिक सञ्जालमा केही दिनदेखि #arrestkpoli #arrestrameshlekhak #ArrestMurderers जस्ता ह्याशट्यागमा ट्रेन्ड चलिरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १२:२७
